नेगेटिभ आए पनि क्‍वारेन्टाइनमा राखिने

|

सिन्धुली : भक्तपुरकी कोरोना संक्रमित महिलालाई भेटेका भिमानका ८ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगिटिभ आएको छ। धनुषामा कोरोना संक्रमित भेटिएको घरमा बसेर खाना खाएर आएका भिमान बजारकै अरु २ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगिटिभ आएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीले भक्तपुरकी कोरोना संक्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा आएका भिमानस्थित महिलाको माइतीघरका ८ र धनुषामा कोरोना संक्रमितको घरमा गएर आएका दुई जनाको संकलित स्वाब परीक्षणका लागि हेटौंडा पठाएको थियाे। हेटौंडास्थित किट जन्य तथा रोग अनुसन्धान केन्द्रमा परीक्षणका लागि पठाइएको थियो।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार रिपोर्ट नेगेटिभ आए पनि उनीहरुलाई क्‍वारेन्टाइनमै नै राखिने छ। प्रशासनले कन्ट्याक्ट ट्रेसिङका आधारमा भक्तपुरकी कोरोना संक्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा आएका भिमान बजारका १७ परिवारलाई बिहीबारदेखि बाहिर निस्कन बन्देज लगाएको छ।

ती महिला सोमबार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा खाना खाएर भक्तपुर गएकी थिइन्। बुधबार माइतीका सहित पाँच घर सिल गरी १९ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। 

माइतीसँग सम्पर्कमा रहेका १७ परिवारलाई समेत घरबाहिर निस्कन बन्देज लगाइएको प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए। माइतीका मानिसको ती १७ घरमा पनि आउजाउ पाइएकाले बाहिर निस्कन रोक लगाइएको छ। संक्रमित महिला मोटरसाइकलमा सुनसरीबाट महोत्तरी हुँदै माइतीघर पुगेकी थिइन्। 

माइतीका तीन घरका आफन्तको एउटै कम्पाउन्ड भएकाले १६ जनालाई होम क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरूको सम्पर्कमा आएका अन्य तीन जनालाई सरकारी क्‍वारेन्टाइनमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.