|

जनकपुरधाम : धनुषाको नापी कार्यालयका कर्मचारीले सेवाग्राहीमाथि कुटपिट गरेको विषयमा विवाद बढेपछि बिहीबार कार्यालय बन्द भएको छ। काममा कर्मचारीहरुले ढिलासुस्ती गरिरहेको भन्दै सेवाग्राहीले आक्रोश व्यक्त गरेपछि दुबै पक्षबीच भएको विवाद हुँदा कुटपिट भएको हो।

नक्सा लिन नापी कार्यालय पुगेका जनकपुर उप–महानगरपालिका कुवाँका ललन साहले कर्मचारीले अनाहकमा परेशान गरिरहेको भन्दै आक्रोश व्यक्त गरेपछि कर्मचारीहरुले साहलाई निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शी धनुषा बहुअर्बाका सूर्यदेव यादवले जनाए।    

नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सुरेश जोसी सहित कार्यालयका अन्य कर्मचारीहरुले ५५ बर्षीय साहलाई निर्घात कुटपिट गरी घाइते बनाएका उनले बताए। सेवाग्राहीहरु आक्रोषित भएपछि कार्यालय परिसर तनावग्रस्त बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले घाइते साहका छोरा ललन साह र नापी कार्यालयका प्रमुख सुरेश केसी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। नापी कार्यालयका कर्मचारीहरु सानोतिनो कामका लागि पनि घुस माग्ने गरेको सेवाग्राहीहरुको आरोप रहेको छ। कर्मचारीहरुको कुटाईबाट घाइते भएका साहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

धनुषाका प्रहरी प्रमुख एसपी लीलामणि आचार्यले तीन दिनदेखि काम नभएपछि सेवाग्राहीले आक्रोश व्यक्त गर्दा नापी कार्यालयका प्रमुखले कर्मचारीलाई लगाएर कुटपीट गराएको गुनासो आएको बताए। उनले यस विषयमा दुवै पक्षसँग सोधपुछ गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.