|

  • भुपाल थापा-

कपिलवस्तु : जिल्लामा वैवाहिक अंगीकृत नागरिकता वितरण सहज भएको छ। नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अंगीकृत नागरिकता लिन आफ्नो सबै विवरणसहित पत्रपत्रिकामा दावी विरोधक सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था हटाएपछि सहज भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको संयोजकत्वमा बिहीबार दिउँसो बसेको बैठकले पत्रिकामा सूचनामा प्रकाशित गर्नुपर्ने बाध्यात्मक ब्यबस्थालाई हटाएको हो। पत्रकारहरुले बारम्बार चासो देखाउने तथा राजनैतिक दलहरुको समेत सो कदमप्रति असहमति रहकोले बैठक बसी सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था हटाएको प्रशासन कार्यालयले जनाएको छ।

यसअघि वैवाहिक अंगीकृत नागरिकता लिन विवाह दर्ता, पतिको नागरिकता, भारतीय नागरिकता परित्याग गरेको निस्सा, हुलाकको रजिष्टरी गरेको रसिद र सपथ पत्र सहितको पूर्ण विवरण समेटेर राष्ट्रिय तथा स्थानीय पत्रिकामा दावी विरोधको सूचना प्रकाशित गर्नुपर्ने बाध्यकारी ब्यवस्था रहेको छ। यसरी सूचना प्रकाशित गरेर आवेदन दिएपछि सबै प्रमाण पूरा भएको पाइएपछि एक साता भित्र कुनै दावी बिरोध नपरेमा नागरिकता दिन सकिने प्रावधान थियो।

“वैवाहिक अंगीकृत नागरिकता प्रमाणपत्र जारी गर्नुपूर्व राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सात दिने दावी बिरोधको सूचना प्रकाशित गर्नुपर्ने ब्यवस्था गरिएकोमा सेवाग्राहीहरुको अनुरोध र ब्यबहारिक कठिनाइ समेतलाई ध्यानमा राखेर हाललाई सूचना प्रकाशित गर्नुपर्ने ब्यवस्था हटाइएको ब्यहोरा जानकारी गराइन्छ” सूचनापत्रमा उल्लेख गरिएको छ।

जिल्लाको सामाजिक तथा आर्थिक क्षेत्रलाई विश्लेषण गरेर यो कदम चालिएको प्रशासन कार्यालयका सूचना अधिकारी राकेश पाण्डेले बताए। नेपालको सविधानको धारा ११ उपधारा ६ र नागरिकता ऐन २०६३ अनुसार वैवाहिक अंगीकृत नागरिकता लिनेहरुमा कपिलवस्तुमा भारतीय मूलका महिलाहरुको संख्या बढी रहेको छ उनले जानकारी दिए।

यसवर्षको बैशाख २ गतेदेखि माघ २५ गतेसम्ममा जिल्ला प्रशासन कार्यालयले ६ सय ९० जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको छ । नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले जानकारी दिए।

नेपालीसँग विवाह गर्ने भारतीय चेलीले नागरिकता पाउँदैनन् भन्ने हल्ला चलाइए पनि उनीहरुलाई नागरिकता लिन झनै सजिलो हुने गरेको कर्मचारी बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट हरेक दिन वैवाहिक अंगीकृतको नागरिकता वितरण हुने गरेको छ।

नेपाली नागरिकसँग विवाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता र विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ। हुलाकमा रजिस्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपिलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ। नेपाली नागरिकता प्राप्त गर्नेलाई कर्मचारीले शपथ ग्रहण गराउने गरेको प्रशासकीय अधिकृत प्रेम खवासले जानकारी दिए। कार्यालयका अनुसार अंगीकृत नागरिकताका लागि सातामा पाँचदेखि २५ जनासम्मको निवेदन प्राप्त हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.