|

बाँके : कुनै नयाँ व्यक्ति शिव गायत्री विद्या बिस्तार गौशाला गुरुकुल आश्रम परिसरमा प्रवेश गर्नासाथ कम्दी गाविस–९, जब्दह्वाका ८ वर्षीय दिपेश चौधरीका साथीभाइले दुबै हात जोडेर शिष्यले झैँ प्रणाम गर्छन्। उनले शिर निहुर्‍याएर आदरपूर्वक जो कोही अतिथिलाई 'प्रणाम गुरु!' भनेर सम्बोधन गर्छन्।

चौधरी शिव गायत्री विद्या विस्तार गौशाला गुरुकुल आश्रमले संचालन गरेको गूरुकुलमा कक्षा ३ मा अध्ययनरत छन्। विदा भएपछि घर नजिक भएका अन्य बालबालिका आ–आफ्नो घर गएपनि उनी गूरुकुलमै बस्छन्। 'घरभन्दा राम्रो वातावरण र शिक्षाका साथै नैतिक तथा व्यवहारिक ज्ञान पाइने भएकोले गूरुकुलमै बस्छु,' उनले भने।

गूरुकुलमा हाल ४ जना बालक बस्दै आएका गूरुकुलले विद्यार्थीलाई व्यवहारिक र सामाजिक मूल्य, मान्यताको बारेमा समेत ज्ञान दिने गरेको गूरुकुलका शिक्षक ओमकार स्वदेशीले बताए। 'हामीले सरकारले तयार पारेको शैक्षिक कोर्षका साथै नैतिक र जीवन उपयोगी शिक्षामा जोड दिने गरेका छौँ,' उनले भने।

जीवन उपयोगी शिक्षामा जोड

गूरुकुलले संस्कृत विषयलाई मूख्य विषयको रुपमा पढाउने गरेको छ। तर, पहिलो प्राथमिकता नैतिक शिक्षा भएको स्वदेशीले बताए।'सरकारले बेवास्ता गरेको विषयलाई हामीले अगाडी बढाउने प्रयास गरेका छौँ,' उनले भने।

गूरुकुलले बालबालिकालाई अभिवादन गर्न सिकाउँछ । 'बुज्रुकहरुलाई अभिवादन (नमस्कार), सेवा, सम्मान गरे विद्या आर्जन हुने, यस (मान, प्रतिष्ठा) बढ्ने र बल (शक्ति) प्रदान हुन्छ,' स्वदेशीले भने,' बालबालिकाले सानैदेखि अभिवादन गर्न सिके जीवनमा दुख पाउँदैनन्।'

उनले अतिथिको सेवा, सत्कार, आफूभन्दा ठूलाको आदर, सानालाई माया, सामाजिक कार्य, सरसफाई, जीवन उपयोगी सीप, व्यवहारिक ज्ञान दिइँदै आएको जानकारी दिए। ‘मानिस दिनप्रति दिन स्वार्थी, गैरसामाजिक, अधर्मी भइरहेकोले हामीले यी सवैको ज्ञान बालबालिकालाई दिने गरेका छौँ,’ गूरुकुलका मूख्य व्यवस्थापक शेर बहादुर ऐरीले भने । 

आफ्नो भवन नहुँदा शिक्षा प्रदानमा समस्या 

बालबालिकालाई नैतिक, व्यवहारिक र व्यवसायिक शिक्षा प्रदान गर्दै आएको गूरुकुलमा ३ जना शिक्षक मात्र छन्। जिल्ला शिक्षा कार्यालयमा दर्ता भएको यस गूरुकुलले सरकारी तहबाट एकदमै न्यून सुविधा पाएको छ। यस आर्थिक वर्षमा ८० हजार रुपैयाँ बाहेक अहिलेसम्म कुनै सुविधा नपाएको ऐरीले बताए।

उनले धार्मिक, सामाजिक अगुवा, संघसंस्था र स्थानीयले दिएको दान, दक्षिणा र भेटीले गूरुकुल संचालन भइरहेको बताए। शिक्षकहरुले समेत स्वयम् सेवकको रुपमा अध्यापन गराइरहेको उनले जानकारी दिए। 'गूरुकुलका शिक्षकले बिना पारिश्रमिक अध्यापन गराइरहनु भएको छ, स्थानीय र चन्दादाताको सहयोगमा बालबालिकालाई पुस्तक, ड्रेस, कलम, कापी प्रदान गर्छौँ,’ उनले भने।

शिव गायत्री विद्या बिस्तार गौशाला गुरुकुल आश्रम २०६५ सालदेखि संचालनमा आएको हो। तर अहिलेसम्म यस आश्रमको आफ्नो भवन छैन। आफ्नो भवन नहुँदा पशुपति सामुदायिक वनले हाल गौशाला भएको स्थानमा कक्षा संचालन गर्न नदिएको ऐरीले बताए।

गूरुकुलमा ६२ जना अध्ययनरत छन्। भवन र शिक्षक अभावका कारण थप कक्षा संचालन गर्न नसकिएको उनले बताए। उनले गूरुकुलमा थारु, मधेसी, दलित, क्षेत्री, ब्राह्मण सबै जातजातिका विद्यार्थी रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.