कचनकवलमा सुरक्षाकर्मीमाथि तेस्रो पटक आक्रमण प्रयास

|

भद्रपुर : झापाकाे नेपाल भारत सीममा तैनाथ सुरक्षाकर्मीमाथि पटक पटक भारतीयले आक्रमण प्रयास गरिरहेका छन्। 

भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि नेपालतर्फका भण्टाबस्तीका गाउँले पनि घरेलु हतियारसहित सशस्त्र प्रहरीसँगै प्रतिकारमा उत्रिएका स्थानीय झ्टटु राजवंशीले बताए। ‘गाउँले प्रतिकारमा उत्रिएपछि भारतीयहरू भागेको हो,’ उनले भने, ‘गाउँवासी समयमा नपुगेको भए ठुलो दुर्घटना हुन्थ्यो।’ स्थानीय देवा गणेशका अनुसार करिब ५ सय विघा नेपाली भूमिमा भारतीयहरूले नै खेतीपाती गर्दै आइरहेका छन्। उनीहरूले त्यो जमिनमा मकै लगाएका छन्। मकै लिन नसक्दा सीमा सुरक्षाकर्मीसँग विवाद गर्न थालेका छन्। ‘भारतीयहरू खेतीपातीसँगै गाईबस्तु पनि नेपाल भूमिमा चराउन आउँथ्यो,’ उनले भने, ‘अहिले सबै गतिविधि प्रहरीले रोकेकाले उनीहरू विवाद गर्न खोज्छन्।’ 

नेपाली भूमिमा जोत भोग गर्दै आइरहेका भारतीय नागरिकले अन्नबाली भित्राउने तथा आफन्त भेट जान पाउनुपर्ने निहुँमा सीमा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गर्न थालेका हुन्।

घाँसे मैदान र खेतबारीले सीमा छुट्टाएको दक्षिणी झापाको कचनकवनमा तीन पटक भारतीय नागरिकले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका छन्। शनिवार बेलुका साढे ७ बजेको समयमा कचनकवल गाउँपालिका १ घेरावारीस्थित १२५/१० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकको जत्थाले आक्रमणको प्रयास गरेका हुन्। सशस्त्रले हवाई फायरसँगै नेपाली नागरिक पनि प्रतिकारमा उत्रिएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए।

सुरिभिट्टा भारत पर्छ भने झण्टुबस्ती नेपालमा पर्छ । यसअघि कचनकवलको घेरावारिको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरी माथि भारतीय नागरिकले आक्रमण प्रयास गरिसकेका छन्। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट घेरावारिदेखि डेढ किलोमिटर दक्षिणमा पर्ने १२५/१० नम्बरको पिलर नजिकै बनाइएको अस्थायी पोस्टमा चार जना सशस्त्र प्रहरी खटाइएको छ।

पारिपट्टि भारतीय एसएसबी पनि तैनाथ छ। बेलुका भारतीय एसएसबी खाना खान गएपछि सुरिभिट्टाका डेढदेखि दुई सय जना भारतीय नागरिक घरेलु हातहतियार बोकेर सशस्त्रको पोस्टमाथि आक्रमण गर्न आएका थिए। भारतीय नागरिकले सशस्त्र प्रहरी बस्ने एउटा कुर्सी तोडफोड गर्नुका साथै अस्थायी पोस्टको बाँस पनि निकालेर फालिदिएका थिए । उनीहरूले सशस्त्र प्रहरीले गस्ती गर्ने एउटा साइकल पनि लुटेर लगेका विओपी घेरावारिका इन्स्पेक्टर पशुराम थापाले जानकारी दिए।

एसएसबीले लाठी हानेकै दिन सशस्त्र प्रहरीमाथि आक्रमण

भारतीय नागरिकले नेपाली भूमिमा मकै खेती लगाएका छन्। मकै पाकिसकेको छ। मकै लान पाउँ भन्दै भारतीय नागरिक नेपालका सुरक्षाकर्मीसँग आग्रह गर्दै आइरहेका छन् । तर, सरकारको निर्देशन पालना गर्दै भारतीय नागरिकलाई सीमा प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको छ।

शनिबार दिउँसो करिब २ बजे केही भारतीय नागरिकले सशस्त्र प्रहरीलाई आग्रह गर्दै सीमासम्म आइपुगेका थिए। त्यस बेला एसएसबी खाजा खान गएका थिए। भारतीय नागरिक सीमामा पुगेको देखेपछि एसएसबीले लाठी हानेर त्यहाँबाट उनीहरूलाई खेदाएका थिए । दिउँसो एसएसबीले लाठी हानेपछि भारतीय नागरिकको जत्थाले बेलुका सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेको हो। एसएसबीलाई केही गर्न नसक्ने भारतीय नागरिकले त्यसको रिस नेपाली सुरक्षाकर्मीमाथि पोखेको स्थानीयको भनाइ छ।

आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता

नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने भारतीय व्यक्तिको पहिचान गरी कारबाही गर्ने भारतीय सुरक्षा निकायले प्रतिबद्धता जनाएको छ। सीमामा हवाई फायरसँगै विवाद बल्झिएपछि आइतबार बिहान घटनास्थल अर्थात् नेपाल–भारत सिमानाको दशगजामा दुवै देशका प्रतिनिधिबीच बैठक बसेको थियो।

सोही बैठकमा भारतीय पक्षले आक्रमण गर्न व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्। सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने मौखिक प्रतिबद्धता भारतीय पक्षले गरेको कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमले जानकारी दिए। घटनाप्रति भारतीय पक्षले क्षमायाचना समेत गरेकाे उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.