|

जाजरकोट : कोरोना भाइरसको (कोभिड-१९) जोखिमका बीचमा नलगाड जलविद्युत आयोजनाको काम सुरू भएको छ।

कोरोना भाइरसको त्रासका कारण रोकिएको काम सिमित जनशक्ति प्रयोग गरेर सुरू भएको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए। ४१७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर विस्तृत आयोजना प्रतिवेदन (डिटेल प्रोजेक्ट रिपोर्ट) र बाँधस्थलमा सडक निर्माणको काम सुरू भएको उनले बताए। सहायक मार्गमा रुपमा रहेको कालीमटी सिर्केसम्मको सडकमा तार ,जाली लगाउने काम सुरू भएको हो।

बाँधस्थलमा रहेको कडा चट्टान फोर्नका लागि बिस्फोट गर्ने काम जारी रहेको छ। त्यस्तै आयोजनास्थलमा जानका लागि मूख्य मार्गको रुपमा रहेको कालीमटी अँधेरी खोला (११ किलोमिटर) सडकखण्डको खारास्थित नलगाड नदीमा पुल निर्माण समेत काम सुरू गरिएको छ। आयोजनास्थलमा यातायातको साधन लिन र ल्याउनका लागि यो पुल निर्माण हुनु जरुरी रहेको छ। अहिले पुल निर्माणस्थलमा रहेका ठूला ढुङ्गा फोर्ने काम जारी रहेको आयोजनाले जानकारी दिएको छ।

आयोजना निर्माण गर्दा प्रभावित हुँने घरधुरीलाई दिनुपर्ने मुआब्जाको काम समेत सुरू गर्न लागिएको इन्जिनियर थापाले बताए। प्रभावित बै घरधुरीले बैंकमा खाता खोलीसकेकाले उनीहरुको खातामा भुक्तानी मात्र गर्न बाँकी रहेको छ।

जग्गाको मुआब्जा वितरणको काम दोस्रो चरणमा प्रवेश गरेसँगै स्थानीयवासीले निर्माण गरेका घरहरुको लागत सङ्लनको काम सुरू भएको छ। करिब पाँच सयको संख्यामा यहाँ घर रहेका आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए। उनका अनुसार यहाँको तीन हजार ९३३ कित्ता जग्गा अधिग्रहण गरिएको छ।

आयोजनाले चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा दिने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग समन्वय गरेर मुआब्जा वितरणको काम छिट्टै सम्पन्न गर्ने तरखरमा रहेको बताइएको छ। प्रत्येक रोपनीको ६ लाखका रुपैयाँका दरले मुआब्जा रकम दिने सहमति भएको हो।

आयोजनास्थलमा वि.सं. २०७६ भदौ २७ गते मुआब्जा पाउनेहरुको नामावली सार्वजनिक भई जिल्ला प्रशासन कार्यालय जाजरकोटले बारेकोट गाउँपालिकालाई डुबान क्षेत्रमा भौतिक संरचना निर्माण कार्य रोक्न अनुरोध समेत गरेको थियो। सरकारले आयोजना प्रभावित ६५७ भन्दा बढी घरपरिवारलाई दुई अर्ब ७२ करोड मुआब्जा बैंक खातामा नै जम्मा गरिदिने तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

डिपिआरको लागि सुरूङ निर्माण पुरा भएको छ। सुरूङभित्र ड्रिलिङ गरेर (ढुङ्गा जाँच) नमुना जाँचका लागि लागि ढुङ्गा निकाल्ने काम मात्र बाँकी रहेको छ। सो काम गर्ने अहिले भारतबाट ल्याइँदैछ। आयोजनामा जम्मा ५ वटा सुरूङ रहेको छ। विद्युत उत्पादन गृह नलगाड नगरपालिकाको वडा ७ मा एउटा सुरूङ निर्माण गरिएको छ।

त्यस्तै आयोजनाको बाँध निर्माणस्थल बारेकोट गाउँपालिकाको अधेरीखोलामा ४ वटा सुरूङ निर्माण गरिएको छ। यी सवै सुरूङबाट नमुना संकलनका लागि ढुङ्गा निकालिने छ।

कसरी बन्दै छ आयोजना ?

नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन्।

यो जलविद्युत आयोजना बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको छ। आयोजना निर्माण भएपछि यहाँका फलाम, तामाखानी, जलचर, कस्तुरी, चिरकालिज, सुनगिद्ध, मृग तथा शिलाजितलगायत जडीबुटीलाई पर्ने प्रभावका विषयमा यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई उचित रूपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माणस्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्षसम्म सहयोग गर्ने हो, त्यो समेत किटान गर्न आग्रह गर्दै सकेसम्म स्थानीयस्तरमै बसोबासको व्यवस्थापन गर्न उनीहरूले आग्रह गरेका छन्।

सरकारले आयोजनाको डिपिआर छिटो निर्माण गरी निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ। कर्णाली प्रदेशको सामरिक महत्वका रूपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चिलो हुनाका साथै सजिलोसमेत भएको ऊर्जाविज्ञको तर्क छ। केही दिन अघिमात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरेको थियो।

जापानी व्यवसायी एवम्‌ जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन्। आयोजना निर्माणका लागि एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ। वातावरणीय व्यवस्थापन अनुमानित लागत ५६ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ। यो आयोजना निर्माण कार्य साढे छ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ।

आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ। यो निर्माणस्थल समुद्री सतहदेखि एक हजार ५८० सम्मको उचाइमा पुग्नेछ। यहाँ ५४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय बन्नेछ। आठ हजार ३०० मिटर लामो भूमिगत सुरूङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ।

आयोजनाले पार्ने वातावरणीय एवम्‌ जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिँदै काम गर्न सरोकारवालाले आग्रह गरेका छन्। आयोजना निर्माणपछि हरित ग्याँसको उत्सर्जन घट्ने र सात लाख १७ हजार टन कार्बन उत्सर्जन कटौती हुनेछ।

आयोजना निर्माणसँगै क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवं रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ। आयोजनाबाट नलगाड नगरपालिका-५ र ७, बारेकोट गाउँपालिकाका-१, २, ५, ६, ७ र ८ वडा प्रभावित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.