|

नवलपरासी : यतिखेर कोरोना महामारी फैलन नदिन देशका पाँचतारे होटलहरू नै बन्दप्राय: छन्‌। तर पश्चिम नवलपरासीको बर्दघाट टिसियन चोकमा एउटा यस्तो खाजाघर छ, जहाँका सञ्चालकलाई न कोरोना महामारीको चिन्ता छ, न त उनलाई देशभर लागेको लकडाउनले छोएको छ। निर्वाध खाजाघर चलाइरहेका उनी जनप्रतिनिधि र प्रहरीलाई नै धम्क्याउँछन्‌ र भन्छन्‌, 'सरुवा गरिदिउँ?' उनले धम्की पाएपछि अनुगमनमा गएका अधिकारीहरू मलिनो अनुहार लिएर फर्कन्छन्‌।

लामा खाजा घरका सञ्चालक हुन्‌ : प्रेम बहादुर लामा। उनी नेपाल टिम्बर कर्पोरेशनका पूर्व कर्मचारी हुन्‌। बर्दघाटमा रहेको दाउन्नेदेवी माध्यामिक विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन्‌। टिसिएन चोकमा वन क्षेत्रको जग्गा मिचेर पक्की घर बनाएका छन्‌। सोही चोकमा उनले खाजाघर चलाएका छन्‌। 

लामाको खाजाघर नजिकै सशस्त्र प्रहरीको 'हेल्थ डेस्क' छ। प्रदेश नम्बर चारको प्रवेशद्वार पनि रहेको टिसीएन चोकमा यतिखेर चौबिसै घण्टा पहरा दिन प्रहरी पनि खटिएका छन्‌। तर लामा यति शक्तिशाली छन्‌ कि उनले प्रहरीकै अघि संक्रमण जोखिमको परवाह नै नगरी खाजाघर चलाइरहेका छन्‌। उनको होटलमा दैनिक दर्जनौं सवारीसाधनका चालक, सहचालक र पैदल यात्रुले चिया खाजा खाने र भीडभाड गर्ने गरिरहेका छन्‌। यो खाजाघरमा लामाले मदिरासमेत बिक्री गर्दै आएका छन्‌।

लकडाउन उल्लङ्घन गरी खाजाघर संचालन गरेको गुनासो आएपछि अनुगमनमा पुगेको बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल, बर्दघाट बजार विकास समितिका अध्यक्ष सोभाकान्त कोइराला, हरियाली टोल विकास समितिका अध्यक्ष तारा गौतम लयातका टोलीलाई समेत खाजा घरका संचालक लामाले टेरपुच्छर लगाएनन्।

जनप्रतिनिधिले गरेको अनुगमन रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई पनि लामाले धम्क्याइहाले। फोटो नखिच्नु भन्दै हकारे। भने, 'तपाइँले फोटो खिच्नुभयो, ख्याल गर्नुस्‌।' पत्रकार ल्याएको भन्दै वडाध्यक्ष हमालमाथि पनि लामा खनिए। 

हमालले कोरोनाले कसैलाई पनि नचिन्ने भएकोले यो महामारीको समयमा सवै गम्भीर हुनुपर्ने र खाजाघर बन्द गर्न आग्रह गरे। तर लामाले उल्टै राजनीतिक पूर्वाग्रह राखेर आफ्नो खाजाघर अनुगमन गर्न आएको आरोप लगाए।

प्रहरीले पनि पटक-पटक यो खाजाघर बन्द गराउने प्रयास गरेको हो। तर लामाले टेर्दै नटेरेको प्रहरीहरु बताउँछन्‌। होटल बन्द गर्न भन्दा लामाले उल्टै आफूलाई 'फोर्स लगाएर सरुवा गराईदिने' भन्दै धम्की दिएको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भवानी प्रसाद धमलाले बताए।

आफूलाई समाजसेवी देखाउन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बन्न भ्याएका लामाले अतिक्रमण गरेर निर्माण गरेको घर हटाउन सामुदायिक वनले दुईपटक पत्राचार गरिसकेको, तर लामाले नटेरेको सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी बताए। 

लामाले बनाएको घर वन क्षेत्रमा पर्ने र उनले घरसँगै बनाएको ट्रष्ट पनि स्थानीइ पारिजात सामुदायक वनमा पर्ने भएकोले हटाउन ताकेता गरेको, तर नटेरेकाले अब तेश्रो पटक अतिक्रमण हटाउन पत्राचार गर्ने, त्यति गर्दा पनि नहटाए डिभिजन वन कार्यालयमार्फत टोली बोलाएर सबै सामान जफत गरिने भण्डारीले बताएका छन्‌।

स्थानीयका अनुसार टिम्बर नेपालको कर्मचारी हुँदादेखि नै लामाले तत्कालिन राजनीतिक दलका नेतृत्व, इलाका वन कार्यालयका कर्मचारी र जिल्लाका अधिकारीहरूलाई प्रलोभनमा पारी वनको जग्गा हडपेका थिए। सोही जग्गामा लामाले २०६७ सालताका घर बनाएका हुन्‌। 

टिम्बर कर्पोरेशनको जग्गामा झुप्रो बनाएर बसेका १४ घरपरिवारलाई त्यतिखेर ग्रामिण आवास कम्पनीले अन्यत्र घडेरी दिएर त्यहाँबाट स्थानान्तरण गरेको थियो तर लामाले भने घडेरी लिएर पनि वनकै जग्गा हडपेर घर नै बनाउन भ्याएका हुन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.