धादिङ : थाक्रे गाउँपालिका–७ का एक व्यक्तिमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न स्थानमा सिल गरिएको छ।
संक्रमित व्यक्तिको घर तथा वस्ती र पूर्वमा गोजेखोल्सा एभरेष्ट पम्प, पश्चिममा पृथ्वी राजमार्गको आठ किलो, उत्तरमा महेशखोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयभित्रको चार किल्ला सिल गरिएको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए।
गाउँ सिल गर्नुअघि मंगलबार बिहान थाक्रेमा धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले जेठ ११ राति १२ बजे सम्म संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। बैठकले उल्लिखित चार किल्ला क्षेत्रभित्र आवतजावत बन्द गर्ने निर्णय गरेको छ। यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकताअनुसार नेपाली सेनाले भेइकल पेट्रोल गर्ने लगायतका निर्णय गरेको वडाअध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए।
बैठकले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्लोज मनिटरिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाइनको व्यवस्था गर्ने, एम्बुलेन्सलाई कोभिड प्रतिकार्यका लागि २४सै घण्टा तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।
थाक्रे गाउँपालिका–७ घर भई काठमाडौंको बागवजारमा व्यवसाय गर्दै आएका ४० वर्षीय पुरुषको सोमबार धुलिखेल अस्पतालको रिपोर्टबाट कोरोना संक्रमित भएको पुष्टि गरिएको थियो। लकडाउन सुरु भएपछि ४० दिन घर बसेर बैशाख २८ मा काठमाडौं फर्केका ती युवा यसबीचमा कहाँ कहाँ पुगे र कति जनासँग भेटे भन्ने खोजी सुरु भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सचिव भुवन पौडेलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।