|

कम्दी (बाँके) : उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मध्य तथा सुदूरपश्चिम क्षेत्रको केन्द्र तथा भारत र चीनलाई जोड्ने विन्दु भएकाले नेपालगञ्जको विकासमा सरकारले चासो दिएको बताए। नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रबार गरेको छलफल कार्यक्रममा मन्त्री महराले पर्यटकीय, धार्मिक एवम् औद्योगिक क्षेत्रको समेत हव भएकोले नेपालगन्जको विकास अपरिहार्य भएको धारणा राखे।

‘विकासको साँचो नेपालगन्जबासीसँग नै छ, उहाँहरुले थालेको विकास योजनामा सरकारले पूर्ण रुपमा साथ दिनेछ,’ मन्त्री महराले भने। मध्य र सुदूरपश्चिम केन्द्रको सेवाबाट बञ्चित भएको महसुस आफूले पनि गरेको बताउँदै उनले पश्चिम क्षेत्रको विकासका लागि गुरुयोजना तयार पारिएको बताए। उनले भने, ‘भालुबाङ कटेपछि अर्कै नेपाल जस्तो महसुस हुन्छ, पश्चिम नेपाल पहिलेदेखिनै राज्यबाट उपेक्षित हुँदै आएको छ।’

मन्त्री महराले नेपालगन्ज उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय सभागृहका लागि विदेशी दातासँग सहयोगका लागि आग्रह गरिएको बताए। उनले उक्त सभागृहका लागि विदेशी निकायमा प्रस्तावना पत्र पठाइसकेको र छिट्टै त्यसको टुंगो लाग्ने जानकारी दिए। ‘नेपालगन्जको अन्तर्राष्ट्रिय सभागृह अब नेपालगन्ज उद्योग वाणिज्य संघको एजेन्डा नभई मेरो एजेन्डा भइसकेको छ, विदेशी दातृ निकायले सहयोग नगरे राज्यको ढुकुटीबाट निर्माण कार्य अगाडि बढाइने छ,’ अर्थमन्त्री महराले भने ।

उनले नेपालगन्जको राँझा विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा विकास गरिने समेत प्रतिवद्धता ब्यक्त गरे। पर्यटन प्रवर्द्धन र आर्थिक एवम् भौतिक विकासका लागि नेपालगन्जमा अन्तर्राष्ट्रिय विमान स्थल आवश्यक भएको समेत बताए। ‘नेपालगन्जले नै उत्तरतर्फको छिमेकी चीन र दक्षिण तर्फको भारतमात्र होइन मध्य र सुदूरपश्चिमका जिल्लालाई समेत जोड्ने भएकोले नेपालगन्ज महत्वपूर्ण छ,’ मन्त्री महराले भने।

उनले प्रदेशको टुंगो लागे नेपालगन्जलाई नमुना सहरको रुपमा विकास गरिने बताए। मन्त्री महराले शुक्रबार नै नेपालगन्ज भन्सार र राजस्व अनुसन्धान कार्यालयको समेत निरीक्षण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.