|

काठमाडाैं : कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिनमा एक हजार जनाको मृत्यु भएको छ। तीव्र रुपमा संक्रमण फैलिएकाले ब्राजिलले अझ खराब दिन देख्नै बाँकी रहेको प्रक्षेपण गरिएको छ।

ब्राजिलमा हालसम्म २ लाख ७१ हजार जनामा संक्रमण देखिएको छ। यद्यपि, पर्याप्त परीक्षण नभएकाले संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ। राष्ट्रपति जायर बोल्सेनारोको लापरबाहीका कारण ब्राजिलको स्थिति बिग्रिएको बताइन्छ। विज्ञहरूले दिएको जनस्वास्थ्यसम्बन्धी सल्लाहलाई बोल्सेनारोले बेवास्ता गरेपछि गत महिना त्यहाँका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका थिए।

सरकार कोरोना परीक्षणमा उदासीन हुँदा ग्रामीण तथा आदिवासीबहुल क्षेत्रमा संक्रमण व्यापक भएको छ। विज्ञहरूले आउँदो केही सातामा ब्राजिलले बेहोर्ने क्षति उत्कर्षमा पुग्ने बताएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबारमात्रै १ हजार १ सय ७९ जनाको ज्यान गएको जानकारी दिँदै मर्नेको संख्या १७,९७१ पुगेको जनाएको छ।

सवा करोड मानिस बस्ने ब्राजिलकै ठूलो सहर सान पाउलो नराम्ररी आक्रान्त बनेको छ। संक्रमण फैलिन नदिन बुधबारबाट लागू हुनेगरी पाँच दिने सरकारी बिदाको घोषणा गरिएको छ। सहरका मेयर ब्रुनो कोभासले यसै साताको सुरूमा मिडियासँग कुरा गर्दै दुई सातामा सहरको स्वास्थ्य व्यवस्था ध्वस्त हुनसक्ने चेतावनी दिएका थिए। ‘लकडाउनको पालना नगर्नेहरूले मानिसको जीवनमाथि जुवा खेलिरहेका छन्’, उनले भनेका थिए।

ब्राजिलमा सरकारले आफ्ना नागरिकमाथि क्लोरोक्विन नामको अप्रमाणित औषधि प्रयोग गरिराखेको छ। मंगलबार फेसबुकमा प्रसारित एक भिडियोमार्फत राष्ट्रपति बोल्सेनारोले बुधबारदेखि उक्त औषधिको प्रयोग व्यापक पार्न लागिएको जानकारी दिए। क्लोरोक्विन नामक उक्त औषधि मलेरियाविरुद्ध चलाइने औषधि हो।कतिपय नागरिकले सरकारको यो निर्णयलाई बहुलठ्ठीपूर्ण मानेका छन्। 

‘लोकतन्त्र भनेको के हो तरु कसैलाई खान मन छैन भने नखाए हुन्छ,’ बोल्सेनारोले ठट्टा गर्दै भने, ‘मेरो पक्षमा हुनेले क्लोरोक्विन पिउनू, विपक्षमा हुनेले ट्युबानिया पिउनू।’ ट्युवानिया रेडबुलजस्तै हल्का–पेय हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.