|

पर्वत : नेपालकै एक परिचित पर्यटकीय गन्तब्यका रुपमा रहेको हिमाल पारीको जिल्ला मुस्ताङको कागबेनीमा ‘होटल सांग्रिला’ संचालन गर्दै आएका छेप्तेन गुरुङको होटलका कोठाहरु सुनसान छन्।

गत वर्षको यही समयमा उनको होटलमा बस्नको लागि मुस्ताङ जानुभन्दा पहिले नै ‘रुम बुक’ गर्नुपर्ने भएको भएपनि अहिले न त उनलाई गत वर्षको जस्तो भ्याईनभ्याई छ, न त होटलमा पाहुनाहरु नै छन्। दैनिक हजारौँ रुपैयाँ बराबरको व्यापार हुने गरेको गुरुङको होटलमा अहिले दैनिक हजारको पनि कारोबार हुँदैन्।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झारकोटमा ‘न्यू जर्मन बेकरी क्याफे’ संचालन गर्दै आएका भाबु ठकुरीको दैनिकी पनि बसेर नै बित्ने गरेको छ। अघिल्लो वर्षको यही समयमा स्वदेशी र विदेशी पाहुनाका लागि खाजा, चिया र कफी तयार गर्न भ्याई-नभ्याई रहेको उनको क्याफेमा पनि पर्यटकहरु छैनन्। दैनिक झण्डै १० हजार भन्दा माथिको कारोबार गर्ने गरेको उनको क्याफेमा अहिले कारोबार नै भएको छैन भन्दा फरक पर्दैन।

मुस्ताङका होटलहरुमात्र नभई त्यस बाहेक पर्यटकीय स्थल र पर्यटनसँग सम्बन्धित काम गर्दै आएका व्यवसायीहरु पनि बेकामे बन्नु परेको छ। कोरोना भाइरस (कोभिड १९) जोखिमका कारण देशमा लकडाउन लागू गरिएपछि मुस्ताङमा पर्यटकहरु जान नपाउँदा होटल तथा रेस्टुराँहरुको व्यापार चौपट भएको छ।

पर्यटकहरुको बाक्लो उपस्थितिका कारण महङ्गो दरमा सटर, कोठा र घर भाडामा लिएकाहरुलाई भाडा तिर्नकै समेत समस्या भएको छ। पर्यटन व्यवसायका लागि उत्तम मानिएको फागुन, चैत, बैशाख र जेठ महिनामा नै पर्यटकको अनुहार नै देख्न नपाउने अवस्था बनेपछि होटल व्यवसायीहरु चिन्तित बनेका छन्। 

पर्यटन क्षेत्रका यूवा अभियन्ता नीरज थकालीले भ्रमण वर्षको उत्साहसँगै मुस्ताङका हेटल व्यवसायीहरुले होटलको व्यवस्थापनलाई आकर्षक बनाउन तथा सेवा सुविधा थप गर्नको लागि लाखौँ रुपैयाँ खर्च गरेको भएपनि त्यो लगानी चौपट भएको बताए। ‘भिजिट इयरको ओपनिङबाट नै यहाँका होटल व्यवसायीहरुले लाखौँ खर्च गरेर सजावट र सेवा सुविधा थप गर्नुभएको थियो। सुरूमा निकै उत्साह पनि थपिएको थियो,’ उनले भने, ‘अहिले होटल तथा रेस्टुराँ संचालकहरुले भाडा तिर्न पनि नसक्ने अवस्था भएको छ, व्यापार पुरै शुन्य भएको छ।’ 

मंसिर, पुस र मात्र महिनामा अत्याधिक जाडो हुने भएकाले पर्यटकहरु नजाने भएपनि मध्य फागुनबाट जेठसम्म पर्यटकहरुको निकै  चाप हुनुले जाडोमा मौन व्यापार गरेर बसेका व्यवसायीहरुले आम्दानीको मौकाका रुपमा यही समय र अशोज कात्र्तिकलाई लिने गरेका थिए। बौद्ध धर्मावलम्बीहरु बौद्ध गुम्बामा, हिन्दुहरु मुक्तिनाथ मन्दिरमा र धेरै पर्यटकहरु सबै प्राकृतिक दृश्यहरु अवलोकनका लागि जाने गरेकोमा अहिले मुस्ताङमा स्थानीय बाहेक अरुको अनुहार देख्न पाइएको छैन।

लकडाउनका कारण न त कारण पोखराबाट, कुस्मा, बेनी हुँदै मुस्ताङ आवतजावत गर्ने सवारी चलेका छन न त पोखराबाट हुने हवाई उडान नै संचलनमा छन्। यही कारण लकडाउन पहिले नै मुस्ताङमा बसिरहेका विदेशी पर्यटकहरु बाहेक अरु कोही पनि नरहेको स्थानीय कर्म झुम्मेले बताए।

लकडाउनका कारण बाहिरिन नपाएका पर्यटकहरु केही मात्रामा रहेको भएपनि उनीहरुको साथमा भएको पैसा सकिएका कारण कतिपय होटलहरुले ती पर्यटकहरुलाई नि:शुल्क खान बस्न दिएर समेत राख्नुपरेको होटल व्यवसायीहरुले बताएका छन्।

वसन्त ऋतुको सुरूवातसँगै हरियाली हेर्दै मुस्ताङ भ्रमणमा जानेहरूका कारण सधैँ भरिभराउ हुने सडक, पर्यटकीय स्थल, होटेल तथा होमस्टेहरूमा पाहुनाहरू भिड हुने गरेको थियो।

जाडो छल्नका लागि हिउँदे व्यापार लिएर बेसी झरेका उपल्लो मुस्ताङका नागरिकहरू गाउँ फर्किने बेला पनि यही भएकोले उपल्लो मुस्ताङको फरक खालको रहनसहन, शैली, संस्कृति र त्यहाँको भू-बनोट हेर्नका लागि पर्यटकहरूको ओइरो लाग्ने गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.