|
फाइल फोटो

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको र यसमामाथि हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेका छन्।  उनले भारतलाई नेपालले सीमाको विषयमा ६ दशकदेखि निरन्तर कुरा उठाउँदै आए पनि भारतले अटेरी गरेको पनि बताएका छन्।

अध्यक्ष थापाले आफ्नो ट्वीटरमा लेख्दै सन् १८१६ को सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएका बलिया आधार नेपालसँग भएको बताएका छन्। 

‘नेपालले विभिन्न क्षेत्रमा भएका अतिक्रमणविरुद्ध ६ दशकदेखि निरन्तर कुरा उठाउँदै आएको छ,’ उनले लेखेका छन्, ‘सन् १८१६ को सन्धिअनुसार काली नदीदेखि पूर्वका क्षेत्र नेपालका हुन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक काली नदीभन्दा पूर्वमा अवस्थित छन्।’ 
पूर्वपरराष्ट्र तथा गृहमन्त्रीसमेत रहेका थापाले नेपालले कसैको उक्साहटमा जक्सा जारी गरेको भारतीय सेना प्रमुखको भनाइको पनि खण्डन गरे।  

नेपालले बुधबार भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतको विदेश मन्त्रालयले नेपालको कदमलाई आफ्नो भूभागको कृत्रिम वृद्धि गरेको आरोप लगाएको थियो।

तर, दुई पक्षबीच भएको समझदारीविपरीत भारतले नेपाली भूभागसमेत मिचेर चीनसँग जोड्ने सडक उद्घाटन गरेका कारण समस्या थप बल्झिएको थापाले उल्लेख गरेका छन्। राष्ट्रिय अखण्डताको रक्षा गर्न तयार रहेको र कुनै पनि आरोप नलगाउन भारतलाई उनले आग्रह पनि गरेका छन्। ‘हामी आफ्नो राष्ट्रिय अखण्डताको रक्षाका लागि पहल गर्न बाध्य भयौँ,’ उनले भनेका छन्, ‘नेपाललाई आरोप लगाउन बन्द गरौँ।’ 

थापाले नेपाल संवादको लागि तयार रहेको र नेपालसँग तथ्य र प्रमाण रहेको पनि उल्लेख गरेका छन्। ‘हामी वार्ताको माध्यमबाट समस्या सुल्झाउन तयार छौँ,’ उनले भनेका छन्, ‘तथ्य र प्रमाणका आधारमा यो मुद्दा सुल्झाउन चाहन्छौँ।’  

उनले सीमा सन्धिविपरीत नेपाली भूमि अतिक्रमण भारतले गरेको उनको भनाइ छ। ‘सन्धिविपरीत नेपाली भूमि अतिक्रमण गरी भारतले ६ दशकदेखि सीमाको कृत्रिम विस्तार गर्दै आएको हो,’ उनले लेखेका छन्, ‘वार्ताबाट समधान खोज्ने सहमतिविपरीत यसबीच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने,बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो। नेपाल वार्ताबाट समाधान खोज्न तयार छ,तर दवावबाट झुक्दैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.