|

काठमाडौं : काठमाडौं उपत्यकामा चल्ने २० वर्ष पुराना सवारी साधन आगामी फागुन १७ गतेदेखि हटाइँदैछ। यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेदेखि यस्ता सवारी साधन चल्न पूर्ण रुपमा बन्देज लगाउने भएको छ।

सरकारले दुई वर्ष पहिले नै निर्णय गरे अनुसार विभागले आगामी १७ गतेदेखि कार्यन्वयनमा ल्याउन थालेको हो। उपत्यकाको वायु प्रदुषणको मुख्य कारणको रुपमा हेरिएको पुराना गाडी व्यवस्थापन र सडक दुर्घटना न्युनीकरणको लागि यस्तो कदम चालिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा.टेकराज पाण्डेले बताए।  

'फागुन १७ गते देखि २० वर्ष पुराना सार्वजनिक सवारी साधन काठमाडौंमा चल्ने छैनन्, अहिलेनै कम भएको छ, अटेर गरिएमा हामी बन्देज लगाउने छौँ' पाण्डेले थाहाखबरसँग भने। विभागको तथ्यांक अनुसार अहिले काठमाडौंमा उपत्यकामा अहिले २ हजार भन्दा बढी २० वर्ष पुराना सार्वजनिक सवारी साधन रहेका छन्। पाण्डे भन्छन् '२ हजार पुराना गाडी नचलाउदा ४० प्रतिशतसम्म वायु प्रदुषण कम हुने छ'।

यसरी हटाइदैछ

विभागले २० वर्ष पुराना गाडीहरुको राजश्‍व तथा लगत संकलन लगायतको विषयमा काम गरिरहेको छ। विभागले उपत्यकामा चल्ने पुराना सवारी साधनको तथ्यांक तथा लगत संकलन लगायतका काम गरिरहेको छ। फागुन १७ पछि त्यस्ता गाडीको नवीकरण, रुट इजाजत, दर्ता र कर उठाउने प्रक्रिया बन्द गरिने छ।

विस्थापित हुने गाडीको पत्रु प्रक्रियामा लैजान व्यवसायीले पाउनेछन्। तर पत्रु प्रकियामा लैजानु भन्दा पहिले व्यवसायीले हालसम्म तिर्न बाँकी सबै प्रकारको भुक्तानी गरिसक्नुपर्नेछ। ‘पत्रु अघि सवारीधनीले बुझाउन पर्ने सबै शुल्क बुझाउनपर्छ, यदि कुनै कर तिर्न बाँकी छ भने, पत्रु गर्न दिन्नौं' प्रवक्ता पाण्डेले थाहाखबरसँग भने।

यसअघि सरकारले २० वर्ष पुराना ट्याक्सी चलाउन बन्देज लगाइसकेको छ। २० वर्ष अवधि पूरा भएको ट्याक्सीहरु यातायात व्यवस्था विभागमा गएर पत्रुको अनुमति ल्याउछन् र पत्रु गरेपछि नयाँ नम्बर लिने गरेका छन्। त्यस्तै सिस्टममा गएपछि अन्य सवारी साधनहरुलाई समेत सहज हुने विभागका प्रवक्ता पाण्डेले बताए।

सहुलियत खोज्दै व्यवसायी

२० वर्ष पुराना गाडी हटाउन यातायात व्यवसायीहरु पनि तयार छन्। तर उनीहरुले पुराना गाडी हटाउँदा राज्यको तर्फबाट आवश्यक सहुलियतहरु खोजिरहेको छ। यातायात व्यवसायीहरुले पुराना गाडी हटाउदा कर छुट भन्सार छुट लगायतका माग राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ढोका चाहारिरहेका छन्।

'पुराना गाडी हटाउने विषयमा हाम्रो कुनै विरोध छैन, तर त्यस्ता गाडी हटाउदा राज्यको तर्फबाट केही विषयमा छूट खोजिरहेका छौ' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले थाहाखबरसँग भने। 'कर्मचारीहरुले सेवा गरेवापत निश्‍चित अवधिपछि पेन्सन पाएजस्तै हामीले पनि एक प्रकारको सेवा गरिरहेका छौ केही छुट त चाहियो नि सिटौलाले थपे। उने पुराना गाडी हटाउन पूर्व के कस्ता छुट दिने भन्ने विषयमा निर्णय लिनको लागि समेत मन्त्रालय र विभागसँग आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.