|

बैतडी : भारतले सीमा नाका खोल्न सहमत नहुँदा बैतडीका ४ जना ८ दिनदेखि भारतीय क्वारेन्टाइनमै किरिया गर्न बाध्य भएका छन्। भारतीय क्वारेन्टाइनमा बस्नेमा २ जना आफ्ना बुवा गुमाएका, १ जना आमा  र १ जना श्रीमती गुमाएका छन्। 

सुर्नया गाउँपालिका ३ का राजेन्द्र प्रसाद भट्ट र तारा भट्टका बुवा  देव दत्त भट्टको गत वैशाख ३१ गते स्वर्गारोहण भएको थियो।  भारतमा मजदुरी गर्दै आएका उहाँ दुबैजना नाका बन्द हुँदा भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका हुन्।

यस्तै,  पुर्चौडी नगरपालिका ७ का ठगी साँउदका  आमा भुरी साँउदको पनि यही जेठ १ गते मृत्यु भएको भए पनि नाका सिल हुँदा ठगी झुलाघाटमै किरिया गरिरहेका छन्।

यसका साथै सिगास गाउँपालिका ९ का कृष्ण सिंह धामीकी श्रीमती  कलावती धामी गत वैशाख ३० गते बितेकी भए पनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन्। उनीहरु राजकीय इन्टरकलेज झुलाघाटको क्वारेन्टाइनमा  किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए।  क्वारेन्टाइनमा खान बस्नको व्यवस्था स्थानीय प्रशासनले गरेको पत्रकार भट्टको भनाइ छ।  उक्त क्वारेन्टाइमा हाल ८ जना नेपाली बसिरहेका छन्।

किरियापुत्रीले आफूहरुलाई स्वदेश फिर्ताको लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन्। उनीहरुको उद्धारका लागि सम्बन्धित स्थानीय तहले जिल्ला प्रशासनलाई अनुरोध गरेर प्रशासनले पहल गरेको भए पनि भारतीय पक्षले भने नाका खोल्न नमानेको हो।

भित्र्याउन तयार छौँ : प्रजिअ

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने उनीहरुलाई नेपालको तर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताएका छन्।  नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाई गरिरहेको छ।

यसअघि लकडाउनमा ३ पटक झुलाघाट नाका खोलिएको भए पनि अहिले मानेको छैन् उनले भने, ‘भारतको पिथौरागढ जिल्लाको डीएम कार्यालयलाई उद्धारको लागि ७ दिन अगाडी नै पत्र काटिसकेका भए पनि  माथिबाट आदेश नदिएको भन्दै सीमा खोल्न मानिराखेको छैन।’

पिथौरागढको डीएम कार्यालयबाट त्यस्तो जवाफ नेपाल सरकारबाट कूटनीतिक पहल गरी उनीहरु स्वदेश भित्र्याउन पहल थालिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्र काटिसकेको र परराष्ट्र मन्त्रालयका साथै सरकारका तर्फबाट कूटनीतिक पहल गरेर उनीहरुलाई स्वदेश भित्र्याउन लागिपरेका छौं। उनले भने, ‘भारत सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश ल्याईनेछ।’

यसअघि गत वैशाख १० गते पनि बैतडीका ३ किरियापुत्रीलाई झुलाघाट नाकाबाट स्वदेश भित्र्याइएको थियो। साथै गत वैशाख १८ गते र चैत १४ गते गरी दुईपटक १ हजार बढी नेपालीलाई  झुलाघाट नाकाबाटै उद्धार गरि ल्याइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.