चार जना घाइते, दुईकाे अवस्था गम्भीर

|

डडेल्धुरा : डोटीमा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका ७ चनुकाँडा नजिकै बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको हो। 

निर्माणाधीन मोरासैनी हाइड्रो पावरका कामदार लिएर दिपायल आउँदै गरेको बा२क २७३९ नम्बरको मिनीट्रक सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा बाँकेको राजापुर गाउँपालिका २ का निर्माण व्यवसायीसमेत रहेका ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह कामदार, बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय भीमबहादुर रमाल र रामेछाप लिखु तामाकोशी गाउँपालिका ६ का १९ वर्षीय कामदार भोजनारायण श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए। जसमध्ये २ जनाको अवस्था गम्भीर छ।

निर्माण व्यवसायी मल्ल र कामदार भारतका सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाइएको छ। प्रहरीका अनुसार निर्माण व्यवसायी मल्लको दाहिने खुट्टा भाँचिनुका साथै छातीमा गम्भीर चोट लागेको छ भने सिंहको बायाँ खुट्टा, टाउको र छातीमा चोट लागेको छ।

घाइतेलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाइयो

डोटीको स्थानीय मेडिकलमा सामान्य उपचारपछि जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा माउन्टेन एअरको निजी हेलिकोप्टरमार्फत घाइते चारै जनालाई साढे ११ बजे सुर्खेततर्फ पठाइएको प्रहरीले जनाएको छ। उक्त मिनीट्रकमा हाइड्रो पावर निर्माणका मेसिन र परीक्षणका लागि माटोसमेत रहेको ल्याइँदै थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.