|

डडेल्धुरा : भारतबाट फर्किएका १९ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।  सीमा क्षेत्रमा गरिएको र्‍यापिड टेस्टमा पोजिटिभ देखाएका र कोरोनाको लक्षण भएका १९ जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो। 

अस्पताल भर्ना हुनेमा बझाङको जयपृथ्वी नगरपालिका–३ का २१ वर्षीय पुरुष, वडा नम्बर ११ का २३ वर्षीय पुरुष, डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षीय पुरुष, बडिकेदार गाउँपालिका–५ का १८ वर्षीय  पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २७ वर्षीय  पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का २८ वर्षीय  पुरुष रहेका छन्। 

यस्तै, बैतडीको मेलौली नगरपालिका–४ का ३३ वर्षीय पुरुष, १९ वर्षीय पुरुष, २३ वर्षीय  पुरुष, शिवनाथ गाउँपालिकाका २७ वर्षीय  पुरुष, सोही ठाउँका २४ वर्षीय  पुरुष, २२ वर्षीय  पुरुष, २० वर्षीय  पुरुष, ३० वर्षीय पुरुष र सोही ठाउँका अर्का २० वर्षीय  पुरुषलाई अस्पतालको आइसोलेनमा भर्ना गरिएको अस्पतालले जनाएको छ।

अछामको मेल्लेख–४ का ३० वर्षीया महिला, ११ वर्षीया बालिका, ४ वर्षका बालक र ३२ वर्षीय पुरुषलाई पनि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार योसँगै कोरोनाको शंकामा प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका बिरामीको संख्या २३ पुगेको छ। यसअघि बैतडीका एक र धनगढीका तीनजनालाई पनि कोरोना शंकामै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

बैतडीका एकजनाको पिसिआरमार्फत परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिने उनले बताए। बिहीबार भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो।

कोरोना भाइरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको स्थानीय प्रशासनको समन्वयमा उद्दार भएको हो। 

गौरीफन्टा नाकाबाट दुई हजार ४७८ जनालाई स्वदेश ल्याइएकोमा किट अभावका कारण झण्डै ६०० जनाको मात्रै र्‍यापिड टेस्ट गरिएको थियो। यसअघि पनि अलपत्र परेका तथा भारती क्वारेन्टाइनमा बसिरहेका नेपाली नागरिकको उद्धार गरिएको थियो।

बिहीबारसम्म सुदूरपश्चिम प्रदेशका १५ वटा अस्पतालबाट कोरोना आशंकामा आइसोलेसन वार्डमा भर्ना भएको १७० जना डिस्चार्ज भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.