विज्ञ भन्छन् : क्‍वारेन्टाइन मिनी अस्पताल जस्तै हुनुपर्छ

|

काठमाडौं :  केही दिनअघि बाँकेको  नरैनापुर गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका २५ वर्षीय एक युवाको मृत्यु भयो।

केही दिनअघि भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका उनको मृत्यु भइसकेपछि मात्रै कोरोना भाइरस संक्रमितको पुष्टि भयो। समयमै अस्पताल लैजान नसक्दा उनको मृत्यु भएको निष्कर्ष चिकित्सकहरूले निकाले।

क्‍वारेन्टाइनमा जुन युवाको मृत्यु भएको थियो त्यसै क्‍वारेन्टाइनमा बस्ने  ५९ जनामा गत सोमबार संक्रमण पुष्टि भएको थियो। नेपालमा क्‍वारेन्टाइनको नाममा बनाइएका यस्ता स्थलहरू व्यवस्थित र मापदण्डभित्र नहुँदा क्‍वारेन्टाइमै जोखिम बढ्दै जान थालेको बताइन्छ।

'जन्ती सुत्‍ने ठाउँ' जस्तै छन् नेपालका क्‍वारेन्टाइन

कुनै पनि जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई शंकास्पद संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्‍वारेन्टाइनमा राखिने गरिन्छ। हाल नेपालमा पनि तराई क्षेत्रमा भारतबाट आएका धेरै नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको छ। तर, यसरी आएका नागरिकलाई राखिँदै आएको क्‍वारेन्टाइन नै मापदण्डविपरीत हुँदा जोखिम बढ्दै गएको विज्ञहरू बताउँछन्।

नेपालमा हाल बनाइएका क्‍वारेन्टाइन सबै मापदण्डविपरीत रहेको इपिडिमियोलोयोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व-निर्देशक डा बाबुराम मरासैनी बताउँछन्।

उनले भने, ‘क्‍वारेन्टाइन भनेको एउटा मिनी अस्पताल जस्तै हुनुपर्छ सकेसम्म एउटा कोठामा एक जना नभए अस्पतालको बेड जस्तै एक मिटरको दूरीमा वेड राखेर हरेक दिन स्वास्थ्य परीक्षण गरिराख्‍नुपर्छ’ उनले थपे, ‘तर अहिले हाम्रा क्‍वारेन्टाइनहरू एकैठाउँमा कोचिएर जन्ती सुत्ने ठाउँ जस्तै छन् यसले झन् हामीलाई जोखिम बढाएको छ।’

यस्तै, डा मरासैनीका अनुसार कवारेन्टाइन सकेम्म कुनै पनि स्वास्थ्य संस्थाको नजिक हुनुपर्नेछ। हाल नेपालमा स्कुल तथा केही खुला ठाउँमा बनाइएको क्‍वारेन्टाइनले झनै जोखिम बढेको उनको भनाइ छ। ‘सकेसम्म क्‍वारेन्टाइन होटल तथा घरहरुमा बनाउन राम्रो हुन्छ तर हाल हाम्रोमा स्कुल तथा अन्य सार्वजनिक ठाउँलाई क्‍वारेन्टाइन भन्दै बनाइएको छ जसले गर्दा पनि हाम्रो क्‍वारेन्टाइनमा बसेका धेरैलाई संक्रमण देखिएको हो’ उनले भने।

 कस्तो हुनुपर्छ त क्‍वारेन्टाइन?

सरकारले कोरोना भाइरसको जोखिम बढेसँगै यसअघि नै व्यवस्थित क्‍वारेन्टाइनको लागि मापदण्ड निर्धारणका लागि ‘कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ गरेको छ। चार महिनाअघि गत फागुन चार गते सरकारले  कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेर ल्यायो।

यही मापदण्डअनुसार, भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्‍वारेन्टाइन व्यवस्तित गरेर राखेको थियो। तर, त्यसयता बनाइएका धेरै क्‍वारेन्टाइनहरु मापदण्ड विपरीतका छन्।

सरकारले बनाएको मापदण्डअनुसार क्‍वारेन्टाइन भन्नाले, ‘कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने ठाउँ हो।’

क्‍वारेन्टाइनमा शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको तथा  विद्युत, पानी राम्रो भएको हुनुपर्छ।

मुख्यगरी  कोठाको व्यवस्थापन प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने र क्‍वारेन्टाइनस्थलमा स्वास्थ्य सामग्री सहितको प्रतिसय जनाका व्यक्ति क्‍वारेटाइन बसेको ठाउँमा एकजना मेडिकल अधिकृत स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, ल्याब टेक्निसियन हुनुपर्नेछ।

जसमा २४ सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख भए पनि हाल बनाइएका धेरैजसो क्‍वारेन्टाइन सरकार आफैँले बनाएको मापदण्डविपरीतका छन्।

नेपालमा ५७ हजार अटाउने क्‍वारेन्टाइन

सरकारी तथ्यांकअनुसार हाल नेपालमा ५७ हजार ३ सय ७६ जना अटाउन सक्ने क्‍वारेन्टाइन शय्या छन्। तर, त्यसमा जम्‍माजम्मी ३० हजार  शय्या मात्रै मापदण्ड र गुणस्तरस्तरका क्‍वारेन्टाइन रहेका छन्।  

कति छन् हाल क्‍वारेन्टाइनमा

नेपालमा क्‍वारेन्टाइनमा रहने शंकास्पद व्यक्तिको संख्या दैनिक बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल देशभर  २५ हजार ३० जना क्‍वारेन्टाइनमा छन्। जसमा प्रदेश एकमा १३ सय ४९ जना प्रदेश दुईमा ४९ सय ६६ जना, बाग्मती प्रदेशमा ५२८ जना, गण्डकी प्रदेशमा ५९१ जना,प्रदेश पाँचमा १४ सय ७६१ जना, कर्णाली प्रदेशमा ७४१ जना र सूदुरपश्चिम प्रदेशमा २ हजार ९५ जना क्‍वारेन्टाइनमा छन्।

कुन प्रदेशमा कति क्‍वारेन्टाइन?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल प्रदेश एकमा ६ हजार २७४ वेड संख्याको क्‍वारेन्टाइन छ। यस्तै, प्रदेश दुईमा ७ हजार ८३४ वेड संख्याको, बाग्मती प्रदेशमा ६ हजार ४८० वेड संख्याको क्‍वारेन्टाइन छ भने गण्डकी प्रदेशमा ४ हजार ३८४ वेड संख्याको क्‍वारेन्टाइन छ।

यस्तै, प्रदेश पाँचमा २५ हजार ३२२ बेड संख्याको क्‍वारेन्टाइन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा क्रमश: १० हजार ४३० र ९ हजार ६५२ बेड संख्याको क्‍वारेन्टाइन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.