डडेल्धुरा : कैलालीको अत्तरिया बजारमा रहेका ५० वटा पसल सिल गरिएको छ। गोदावरी नगरपालिका २ पहाड रोडमा अवस्थित अत्तरिया चोकदेखि उत्तरपट्टिका करिब ५० पसल सिल गरिएको हो।
बिहीबार साँझ भारतबाट उद्दार गरिएकाहररू उक्त क्षेत्रका मानिसहरुको सम्पर्कमा आएकाले पसलहरू सिल गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता शमानन्द भट्टले जानकारी दिए।
उनले कोरोनाको जोखिमयुक्त क्षेत्रबाट आएकाहरुको सम्पर्कमा आएकाले सो क्षेत्रमा जोखिम बढेकाले सिल गरिएको बताए। उनका अनुसार सो क्षेत्रका मानिस त्रसित भएपछि सिल गरिएको हो।
भारतबाट गाडीहरुमा आएका मानिसहरुसंग सामान किन्ने क्रममा प्रत्यक्ष सम्पर्क भएको र भारतबाट उद्दार गरिएर ल्याएकाहरुले उक्त क्षेत्रका पसलहरुबाट समान किनेको पाइएको उनको भनाइ छ। प्रवक्ता भट्टका अनुसार केही व्यक्ति गाडी भित्रै सामान पनि पुर्याउन गएका र त्यहाँ स्थानीय नै त्रसित भएपछि सिल गरिएको हो।
उनीहरूको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्नका लागि तथ्यांक संकलन भइरहेको उनले जानकारी दिए। बिहीबार गौरीफन्टा नाकाबाट दुई हजार बढी नेपालीलाई उद्दार गरी स्वदेश ल्याइएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।