९ सय ५० जनाको मात्रै परीक्षण, उच्च जोखिममा प्रदेश

|

डडेल्धुरा : रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली कैलालीको गौरीफन्टा नाकाबाट धमाधम नेपाल प्रवेश गरिरहेका छन्। लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई गौरीफन्टा नाकाबाट उद्धार गरी स्वदेश ल्याइँदै छ।

पछिल्लो चार दिनको अवधिमा गौरीफन्टा नाकबाट मात्रै चार हजार दुई सयभन्दा बढी नेपालीहरू भित्रिएका छन्। तर, अधिकांशको परीक्षण भने हुन सकेको छैन। 

र्‍यापिड टेस्ट गर्न पनि किट अभावले भारतमा सबैभन्दा बढी संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरकोसमेत कोरोना परीक्षण हुन सकेको छैन। धनगढीमै दुईवटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको भएपनि प्रयोगशालामा आवश्यक मात्रामा किट नहुँदा ठूलो संख्यामा विदेशबाट फर्किनेको परीक्षण हुन सकेको छैन।

तीन हजार परीक्षणबिनै भित्रिए

जेठ २ र ३ गते ९ सय ५०, ७ गते ८ सय ५८ र ८ गते दुई हजार चार सय ९८ जनाको उद्धार थियो। उनीहरू अधिकांशको र्‍यापिड टेस्ट समेत भएको छैन। स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौं सय ५० जनाको भने र्‍यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पिसिआर परीक्षणसमेत गरिएको थियो।

तर, ७ गते आएका ८ सय ५८ जनालाई र्‍यापिड टेस्टसमेत नगरी गाउँ पठाइएको छ। ८ गते आएका दुई हजार चार सय ९८ जनामध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। चार दिनको अवधिमा झन्डै तीन हजार नेपाली परीक्षण बिना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन्। 

बिहीबार पनि राति ११ बजेसम्म गौरीफन्टा आइपुगेकाहरूलाई भित्र्याउन सशस्त्र प्रहरी, नेपाल प्रहरी, कैलाली जिल्ला प्रशासनका प्रतिनिधि र स्वास्थ्यकर्मी खटिएका थिए। भारतबाट आउनेहरूलाई सीमामा व्यवस्थापन गर्ने हम्मे पर्ने अवस्था आएको सुरक्षाकर्मीको भनाइ छ। 

स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो। पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

सुदूरपश्चिममा बढ्यो जोखिम

नेपाल भित्रिएका सबैको कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा जोखिम बढेको छ। हजारौंको उद्धार भए पनि सयौंको मात्रै परीक्षण हुँदा जोखिम बढेको हो। 

सीमा क्षेत्रमा हजारौंको संख्यामा परीक्षण बिना नै नेपाल भित्रिएकाले सुदूरपश्चिमा जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताए।

‘सीमा तीनजना मात्रै स्वास्थ्यकर्मी हुनुहुन्थ्यो। भारतबाटै धेरै संख्यामा नेपाली दाजुभाइहरू आउनुभयो।’ उनले भने,‘त्यस कारणले सबैको चेकजाँच गर्न सकिएन। तर हरेक जिल्लामा तीन–चार सय आरडिटी किट मौज्दात छ।’ उनले भारतबाट नेपाल भित्रिएका सबैको कोरोना परीक्षण हुने दाबी गरे। सीमा क्षेत्रबाट भित्रिएका सबैको स्वास्थ्य परीक्षण गर्न पहल भइरहेकोसमेत जानकारी दिए। ‘सोमबारसम्म किटहरू आउँछ होला। त्यसपछि सबैको कोरोना जाँचिन्छ।’ उनले भने।

भारतबाट आउने व्यक्तिहरू उच्च जोखिम मोलेर आइरहेकाले सुदूरपश्चिममा पनि कोरोनाको धेरै नै जोखिम रहेको निर्देशक अवस्थीको भनाइ छ। ‘हाम्रो प्रदेशमा अब धेरै जोखिम छ। अहिले भारतबाट आउनेहरू अत्यन्तै उच्च जोखिम मोलेर आउँदैछन्।’ उनले भने,‘त्यसले गर्दा सुदूरपश्चिममा जोखिम बढ्यो।’

भरियो सेताी अस्पतालको आइसोलेसन वार्ड 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड कोरोना शंकास्पद बिरामीले भरिएको छ। सीमा क्षेत्रमा गरिएको र्‍यापिड टेस्टमा पोजिटिभ देखाएका र कोरोनाको लक्षण भएका १९ जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो।

पाँच जना संक्रमित बिरामी निको भएर घर फर्किएपछि खाली रहेको अस्पतालको आइसोलेसन वार्ड फेरि भरिएको अस्पतालले जनाएको छ। १९ जना थपिएपछि २४ शय्याको आइसोलेसन वार्ड भरिएको हो।

अस्पताल भर्ना हुनेमा बझाङको जयपृथ्वी नगरपालिका–३ का २१ वर्षीय पुरुष, वडा नम्बर ११ का २३ वर्षीय पुरुष, डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षीय पुरुष, बडिकेदार गाउँपालिका–५ का १८ वर्षीय  पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २७ वर्षीय  पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का २८ वर्षीय  पुरुष रहेका छन्।  

यस्तै, बैतडीको मेलौली नगरपालिका–४ का ३३ वर्षीय पुरुष, १९ वर्षीय पुरुष, २३ वर्षीय  पुरुष, शिवनाथ गाउँपालिकाका २७ वर्षीय  पुरुष, सोही ठाउँका २४ वर्षीय  पुरुष, २२ वर्षीय  पुरुष, २० वर्षीय  पुरुष, ३० वर्षीय पुरुष र सोही ठाउँका अर्का २० वर्षीय  पुरुषलाई अस्पतालको आइसोलेनमा भर्ना गरिएको अस्पतालले जनाएको छ। अछामको मेल्लेख–४ का ३० वर्षीया महिला, ११ वर्षीया बालिका, ४ वर्षका बालक र ३२ वर्षीय पुरुषलाई पनि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार योसँगै कोरोनाको शंकामा प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका बिरामीको संख्या २३ पुगेको छ। यसअघि बैतडीका एक र धनगढीका तीनजनालाई पनि कोरोना शंकामै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। बैतडीका एकजनाको पिसिआरमार्फत परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिने उनले बताए। 

‘आइसोलेसन वार्डमा भर्ना भएका २२ जनाको आज थ्रोज स्वाब संकलन गरिएको छ।’ सूचना अधिकारी श्रेष्ठले भने, ‘उहाँहरूको भोलिसम्म रिपोर्ट आउँछ होला।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.