फिचर

मुटु डाक्टरको अन्तर्जातीय प्रेम : टिचिङमा माया बस्यो, दिल्ली पुगेपछि झाङ्गियो
SHARES

फागुन ३, २०७३

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल अहिलेका व्यस्त मुटुरोग विशेषज्ञमध्ये एक हुन्। महोत्तरीमा जन्मेका मधेसी मूलका डा. अनिलले काठमाडौंकी नेवार परिवारकी मनिषा वैदारसँग विवाह गरे। ६ वर्षको प्रेम सम्बन्धपछि उनीहरुले चार वर्षअघि विवाह गरेका हुन्। डा. अनिल हाल काठमाडौंको  ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् भने उनकी पत्नी मनिषा चक्रपथमा रहेको आफ्नै हार्ट क्लिनिक सञ्चालन गर्छिन्। अहिले उनीहरुको आठ महिनाकी छोरी छन्। यसवर्षको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा डा. अनिलले थाहा खबरकी सविना खनालसँग आफ्नो प्रेम सम्बन्ध र विवाहबारे रोचक कुराकानी गरेका छन्। 

    टिचिङमा पढ्दा बस्यो माया

    म त्रिवि शिक्षण अस्पतालमा एमडी गर्दै थिएँ। रेसिडेन्ट डाक्टरको रुपमा शिक्षण अस्पतालमा नै काम गर्थेँ। उनी (मनिषा) पनि टिचिङमा नै नर्स थिइन। मेरो एमडीको अन्तिम वर्ष, सन् २००७ मा हामीबीच सामान्य चिनजान भयो।

    हामीबीच कुरा मिल्दै गयो, विचार मिल्दै गयो, हामी यसरी नै नजिक भयौं। एक अर्कालाई कहिलै पनि औपचारिक (प्रेम) प्रस्ताव गरेनौं। तर मनले भने एक अर्कालाई महसुस गर्न थाल्यौं। म उनको शारीरिक बनावटले भन्दा पनि सोझोपना, झुटो नबोल्ने, तडकभडक नगर्ने बानी व्यवहारले आर्कषित भएँ। काम गर्ने ठाउँ एउटै भएकाले प्राय संगै हुन्थ्यौं।

    मलाई एक दिनको घटना याद छ। हामी दुवैको नाइट ड्युटी भएको बेला रातभर सँगै बसेर एफएम सुनेका थियौं। तर हामीले अस्पताललाई कहिलै डेटिङ स्पटजस्तो बनाएनौं। अस्पतालको आफ्नै मर्यादा हुन्छ, हामीले त्यसको पालना गर्‍यौं। त्यसैले पनि हाम्रो अफेयर धेरैलाई थाहा थिएन।

    दिल्ली पुगेपछि झाङ्गियो

    जुनबेला हामी सँगै काम गर्थ्यौं, त्यसबेला हाम्रो अफेयर भएन, सामान्य चिनजान मात्र भयो। जब एक अर्काबाट अलि टाढा भयौं, त्यसबेला हामी अफेयरमा भयौं। सन् २००८ मा म दिल्ली पनि जाने हामीबीच अफेयर पनि हुने भयो। म तीन बर्ष दिल्ली बस्दा हामीबीचको आत्मियता झन् बढ्यो। प्रेममा जति धेरै टाढा भइन्छ, त्यति धेरै माया हुँदोरहेछ।

    तीन बर्ष दिल्ली बस्दा उनीसँग दिनहुँ फोनमा कुरा हुन्थ्यो। फोनमा खुब पैसा खर्च गरियो। कति पटक त अरुलाई थाहै नदिई उनलाई मात्र भेट्न काठमाडौं आएँ। दिनहुँ ७ /८ पटक फोनमा कुरा हुन्थ्यो। हामी भौतिक रुपमा टाढा भए पनि उसले के गरिरहेको छ, उनको ड्युटी कतिखेर छ? सबै कुरा थाहा हुन्थ्यो। उनी  घरबाट निस्कने बेलामा एक मिनेट भएपनि फोनमा कुरा हुन्थ्यो। २/ ३ महिना बिराएर म घर परिवारलाई थाहा नदिई उनलाई मात्र भेट्न काठमाडौं आउने गर्थेँ।

    पढाइ पूरा गरेर सन् २०११ मा नेपाल फर्किएपछि हामी दिनहुँ सँगै हुन्थ्यौं। हाम्रो पेशा अलि संवेदनशील भएकाले टाढा टाढा डेटिङ जान मिल्दैनथ्यो। जुनसुकै बेला अस्पताल जानुपर्थ्यो। त्यसैले हामी प्राय रेष्टुरेटहरुमा सँगै डिनर खान जान्थ्यौं। हामी दिनमा भन्दा पनि बेलुकामा सगै हुन्थ्यौं। डिनर खाएर उनलाई घरसम्म पुर्‍याउने मेरो ड्युटी नै थियो। उनलाई घर पुर्‍याएर फर्किँदा बाटोको जामले सधै प्यासेन्ट हेर्न ढिला हुन्थ्यो। 

    पढाइ र काम सँगै भएकाले हामी लामो विदामा टाढा टाढा घुम्न जान त पाएनौं। तर हामी फोनमा चाहिँ घन्टौं कुरा गर्थ्यौं। नेपाल आएपछि डीएको परीक्षा तयारी गरिरहेको थिएँ। त्यसबेला १६/१७ घन्टासम्म पढ्नुपर्ने हुन्थ्यो। त्यो बेलामा उनीसँग झन् धेरै कुरा हुन्थ्यो। उनीसँग फोनमा कुरा गरेर आफूलाई फ्रेस गराउँथे।

    कुनै दिन यस्तोसम्म पनि भयो कि रातभर फोनमा कुरा गर्दागर्दै उज्यालो भएर बिहान ड्युटी जाने बेला भइसक्थ्यो। धेरैले भन्ने सुनेको छु प्रेमले मानिसको करिअरलाई बिगार्छ। तर मलाई अफेयरले असर गरेन। झन् धेरै उर्जा दियो। 

    हामीबीचको अफेयर सकेसम्म अरुले थाहा नपाउन् भन्ने चाहन्थ्यौं। त्यसैले डेटिङ जाँदा मानिसहरु धेरै हुने ठाउँमा जादैनथ्यौं। डेटिङ स्पट पनि परिवर्तन गरिरहन्थ्यौं। त्यति गर्दा पनि  तर सगै गाडीमा हिड्दा कतिपयले देख्दा रहेछन्। तर हाम्रो पेशा उस्तै भएकाले त्यति अप्ठारो भएन। नेपाल फर्केको अर्को वर्ष सन् २०१२ मा हाम्रो विवाह भयो। विवहा भएको ५/६ दिनसम्म पनि धेरैले थाहा पाएका थिएनन्।

    जनकपुरबाट गरियो बिहे

    हामी एकअर्कामा यसरी नजिक भएका थियौं कि एक अर्का विना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका थियौं। एक घन्टा उनीसँग कुराकानी भएन भने पनि धेरै नै गाह्रो हुन्थ्यो। तर हामीले घर परिवारमा यसबारेमा भनेका थिएनौं। म तराईंमा जन्मेको क्षेत्रीको छोरा उनी काठमाडौंको नेवार परिवारकी छोरी। हाम्रो जात र धेरै संस्कार नमिल्ने भएकाले विवाह हुन गाह्रो थियो। तर हाम्रो विवाह हुँदैन भनेर कहिलै सोचेनौं। यस्तो सामाजिक यथार्थ रहेपनि हामी लुकीछिपी अफेयरमा थियौं। 

    म मेरो विवाहलाई परिवारले पूर्ण रुपमा स्वीकार गरोस् भन्ने चाहन्थेँ। समय बित्दै जाँदा परिवारले स्वीकार्छ भन्ने विश्वास थियो। हामी अफेयरमै भएका बेला दुवै जनालाई परिवारबाट विवाहको दवाब आउन थाल्यो। मेरो डिसिजन आफ्नै हातमा भएकाले परिवारले देखाएको केटी हेर्न कहिलै गइनँ। तर उनलाई घरमा केटा हेर्न आउने र विवाहको दवाव धेरै नै हुन थाल्यो। यस्तोसम्म भएको छ कि, उनलाई माग्न आएको केटालाई भेट्न मैले मेरै गाडीमा राखेर पुर्‍याएको छु। उनलाई को केटा हेर्न आउँदैछ भन्ने मलाइ पनि थाहा हुन्थ्यो। कयौं पटक त केटाले हेरेपछि विवाहको मिति टुङ्गो लाग्ने अवस्थासम्म आयो। 

    उनलाई विवाहको धेरै प्रेसर आउन थाल्लेपछि मैले आफ्नो परिवारमा राम्रोसँग कुरा गरेँ। आमाले हुन्छ विवाह गर भनेपछि मैले उनको बुवासँग सबै कुरा भनेँ। त्यसपछि हाम्रो सात वर्षदेखिको अफेयरले पूर्णता पायो। हामीले २०१२ मा जनकपुरबाट विवाह गर्यौं। सानैदेखि मेरो इच्छा जनकपुरबाट विवाह होस् भन्ने थियो। हामीले आधा नेवारी र आधा हाम्रो संस्कार अनुसार जनकपुरको एक होटलबाट विवाह गर्‍यौं। 

    सुरुमा अप्ठेरो 

    प्रेममा एक अर्काको आनिबानी, शारीरिक सुन्दरता र बोलीचालीको आधारमा मात्र मन पराइँदो रहेछ। तर अफेयरको भित्री सुन्दरता थाहा नहुदो रहेछ। किनभने  अफेयरको बेला एक अर्काले आफ्नो कमजोरी नभन्ने रहेछन्। हाम्रो हकमा पनि त्यस्तै भयो।  जब प्रेमलाई व्यवहारिकतामा ढालिन्छ, त्यसबेला एक अर्कामा नयाँ नयाँ कुरा भेटिँदो रहेछ। जहाँ एक अर्काको संस्कार नमिल्ने हुदोरहेछ। म तराईमा जन्मेको, उनी काठमाडौंको नेवार परिवारमा जन्मेको। हामीबीचका धेरै संस्कार र बोलीचाली फरक हुँदो रहेछ। यसले कहिलेकाहिँ अप्ठेरो महसुस हुँदोरहेछ। मैले पनि त्यस्तो धेरै भोगेको छु।

    सुरुमा हामीले यस्ता अप्ठेरा वास्ता गरेनौं। एक अर्कामा समझदारी भएपछि सबै कुरा मिल्छ भन्ने मेरो मान्यता थियो। तर त्यस्तो नहुदो रहेछ। त्यसैले विवाह गरेको सुरुको एक वर्ष धेरै अप्ठेरो भयो।

    भिन्न संस्कार र जातिको भएपनि हामीबीच समझदारी थियो। तर संस्कार र सामाजिक चाल चलनले धेरै नै अप्ठेरो पार्दोरहेछ। तर हामीले दुवैको चालचलन, संस्कारलाई सम्मान गर्ने हुनाले आजसम्म ठूलो असमझदारी आएको छैन। त्यसैले एक सफल सम्बन्धको लागि एक अर्काको सम्मान र आपसी समझदारी रहनु महत्वपूर्ण हुँदो रहेछ।

    भ्यालाइन्टाइन डे

    हामी जुनसुकै बेला अस्पताल जानुपर्ने भएकाले हामीलाई घुम्न जाने, रमाइलो गर्ने समय हुँदैन। हामी साँझ सँगै डिनर जाने गर्छौं। गिफ्ट दिने काममा म अलि पछाडि नै छु। हामी प्राय सँगै हुने भएकाले सप्राइज दिने भन्ने छैन तर उनलाई रोज दिएर भ्यालाइन्टाइन डे विस गर्ने योजनामा छु। तर  हाम्रो लागि हरेक दिन नै भ्यालाइन्टाइन डे बन्ने गर्छ।

सविना खनाल

सविना खनाल थाहाखबरकी संवाददाता हुन्। उनी स्वास्थ्य र सामाजिक विषयका समाचार लेख्छिन्। ईमेल : sabinakhanal32@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]