|

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित सिमखेतका बालबालिकादेखि युवा र वृद्धहरुको दैनिकी दिनभर खेतमा मकै रुँघेर बस्नु भएको छ। घोगा हाल्ने बेलाका मकैमा बाँदरका बथान नै पसेर बोट भाँच्ने र लुछ्ने गरेका कारण बिहान सबेरैदेखि परिवारका सदस्यहरूले आलोपालो गरेर खेतमा मकै कुर्न जान्छन्। 

उनीहरूजस्तै शंकरपोखरीकै रुग्दीका कृषकहरूको पनि दैनिकी उस्तै नै छ। लकडाउनका कारण गाउँमा आएका युवाहरूको दैनिकी मकै बाली जोगाउन खेतमा गएर बाँदर धपाउनु भएको छ।

शंकरपोखरी जस्तै जिल्लाका धेरै ठाउँमा बाँदरले पसाउने बेलाका मकै भाँच्ने र लुछेर गुलियो र नरम गुभा खाने गरेपछि कृषकहरूलाई हैरानी भएको छ। मकै पाक्नका लागि झन्डै एक महिना बाँकी रहँदा हुलका हुल बाँदरले मकै सखाप पारेपछि खेतमा बाँदर धपाउन कुरेर बस्नुको विकल्प नभएको सिमखेतका युवा सरोज खनाल बताउँछन्।

‘मकैले धान चामल छाडेको छ, यो बेलाको गुभो गुलियो स्वाद र नरम खालको हुने भएकाले बिहानैदेखि बेलुकासम्म खेतभर बाँदरको रजाइँ हुन्छ,’ उनले भने, ‘बर्षदिनसम्म मान्छेले खान र पशुपक्षीलाई खुवाउने अन्न पसाउन नै नपाई बाँदरले सखाप पार्दा कृषकको दुःख माटोमा मिल्यो।’ 

फलेवास–४ मुडिकुवाका कृषक कृष्ण शर्माले हुलका हुल बाँदर खेतबारीमा पसेर मकै सखाप पारिरहेकाले गाउँलेहरूले पालो गरेर खेतमा बाँदर धपाउने ड्युटी गरेको बताए। मकै उत्पादनका लागि राम्रो क्षेत्र मानिएको फलेवास नगरपालिकाका अधिकांश वडामा बाँदरले सताउने गरेको छ। बसाइँ सरेर गएकाहरूले उत्पादनयोग्य भूमिमा समेत बिरुवाहरू पाल्ने गरेका कारण घरको छेउछाउमै पनि बाँदरको आतङ्क रहेको कृषकहरूको गुनासो छ।

फौजी किराको प्रकोप पनि उस्तै

बाँदरले भ्याएसम्म लुछेर पनि बाँकी रहेका मकैमा अमेरिकन फौजीको किराले झनै क्षति गरेको छ। विभिन्न स्थानहरूमा यस वर्ष फौजी किराको प्रकोप देखिएकाले कृषकहरूले बगाएको पसिना खेर गएको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी बताउँछन्। 

यता, फलेवास नगरपालिकाअन्तर्गत आर्थिक विकास शाखाका प्राविधिक प्रताप पौडेलले पनि फलेवाससहित छिमेकी जिल्ला बाग्लुङका विभिन्न ठाउँमा पनि फौजी किरोको प्रकोप रहेको पाएको बताए। उनका अनुसार फौजी किराको लार्भाको पाँचौँदेखि सातौँ चरणको जीवनचक्रको अवस्थामा सबैभन्दा बढी हानी गर्दछ। मकैको गुभो वा माटोमा बस्ने यो किराले मकैको घोगा तथा गुभोको भित्री भागसम्म खाने र ९० प्रतिशतसम्म क्षति बनाउने पौडेलको भनाइ छ।

नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले किराको नियन्त्रणका लागि लार्भा अवस्थामा नै विषादीको प्रयोग गर्न सकेमा नियन्त्रणमा आउने बताउँदै लार्भा पुतली बनिसकेपछि एक दिनमा १०० किलोमिटरसम्म उड्न सक्ने भएकाले प्रकोप नियन्त्रणमा कठिनाइ हुने जानकारी दिए। चिसोभन्दा गर्मी ठाउँमा फौजी किराको प्रकोप बढी रहेको पाइएको छ। अघिल्ला वर्षहरूमा यसको प्रकोप खासै बढी नभएको भए पनि यस वर्ष लगाइएकामध्ये अधिकांश ठाउँका मकैमा यसको प्रभाव रहेको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.