बिनापरीक्षण भित्र्याउँदा कोरोना संक्रमणको जोखिम

|

बैतडी : बैतडीको सीमानाका झुलाघाटबाट शुक्रबार किरियापुत्रीसहित ३७८ जनाको  उद्धार गरिएको छ। भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये बैतडीका १६२, बझाङका १००, बाजुराका ३०, अछामका तीन, डडेल्धुराका पाँच, दार्चुलाका ११ र कञ्चनपुरका ६ जनासहित १२ जिल्लाका नागरिक रहेका छन्। उनीहरुलाई सीमा नाकामा समान्य चेकजाँच मात्र गरिएको छ।

सीमा नाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। यसअघि गत वैशाख १८ मा पनि झुलाघाट नाकाबाट नेपालीहरुको उद्धार गरिएको थियो।

यसैबीच झुलाघाटबाट ११ जना भारतीय पनि आफ्नो देश फर्केका छन्। नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आ आफ्ना देशमा आवतजावत गर्न दिइएको हो।

किरियापुत्री पनि भित्रिए

भारतीय क्वारेन्टाइनमा १० दिनदेखि किरिया गरिरहेका चारजना शुक्रबार मात्रै स्वदेश फर्कन पाएका छन्। उनीहरुमध्ये दुईजना आफ्ना बुवा गुमाएका, एकजना आमा  र एकजना श्रीमती गुमाएका रहेका छन्।

सुर्नया गाउँपालिका–३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्टका बुवा देवदत्त भट्टको गत वैशाख ३१ मा निधन भएको थियो। यस्तै, पुर्चौडी नगरपालिका–७ का ठगी साउदका  आमा भुरी सँउदको जेठ १ गते निधन भएको थियो। यस्तै, सिगास गाउँपालिका–९ का कृष्णसिंह धामीकी श्रीमती कलावती धामी बैशाख ३० मा निधन भएको थियो। तर, नाका सिल हुँदा उनीहरुले झुलाघाटमा रहेको क्वारेन्टाइनमा नै किरिया गरिरहेका थिए।

यसअघि गत वैशाख १० मा पनि बैतडीका तीन किरियापुत्रीलाई झुलाघाट नाकाबाट स्वदेश भित्र्याइएको थियो। साथै, गत वैशाख १८ र चैत १४ गरी दुईपटक एक हजारजना भन्दा बढी झुलाघाट नाकाबाटै उद्धार गरी ल्याइएको थियो।

बिना परीक्षण भित्रिए

भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै आएका हुन्।  नेपालका कोरोना संक्रमितमध्ये अधिकांश भारतबाट आएका भएकाले बिनापरीक्षण भित्र्याउँदा जोखिम बढेको छ।

सीमामा सामान्य चेकजाँज गरेर स्वदेश भित्रिएका उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा  राखिने र १४ दिनपछि कोरोना परिक्षण गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.