विद्यालयलाई क्‍वारेन्टाइनमा बदलिँदै

|

भद्रपुर : छिमेकी राष्ट्र भारतबाट नेपाली नागरिक धमाधम स्वदेश फर्किन थालेपछि उनीहरूको उचित व्यवस्थापनका लागि झापाका स्थानीय तहहरू लागिपरेका छन्। 

समुदायमा संक्रमण फैलिन नदिन र भारतबाट आउनेलाई गाउँघर प्रवेशअघि उनीहरूलाई सुरक्षित राख्न जिल्लामा  धमाधम क्‍वारेन्टाइन निर्माण भइरहेका छन्। 

जिल्ला सदरमुकामस्थित भद्रपुर नगरपालिकाले पनि नगरवासीका लागि छुट्टै क्‍वारेन्टाइन निर्माण गरिसकेको छ। भद्रपुर १ हिमाली चोकस्थित हिमाली माविमा ४६ बेडको क्‍वारेन्टाइनमा निर्माण गरी शनिबारदेखि सञ्चालनमा ल्याइसकेको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए।

यसअघि भद्रपुरमा कलवलगुरीमा एक सय बेड र मेची बहूमुखी क्याम्पसमा ३ सय बेडको क्‍वारेन्टाइन निर्माण भइसकेको छ। तर ती दुवै क्‍वारेन्टाइन जिल्लाको स्वामित्वमा रहेकोले नगरपालिकाले नगरवासीका लागि छुट्टै क्‍वारेन्टाइन निर्माण गरेको उनले बताए। 

‘अहिले निर्माण गरिएको क्‍वारेन्टाइन व्यवस्थित बनाएका छौं, चार वटा बल्क छुट्याएको क्‍वारेन्टाइनमा महिलाका लागि पनि छुट्टै व्यवस्था छ,’ उनले भने, ‘क्‍वारेन्टाइनमा बस्नेहरूका लागि फ्री वाइफाई, टेलिभिजन, पढ्नका लागि किताबलगायत व्यवस्थासहित चार वटा ब्लकमा छुट्टाछुट्टै शौचालय राखिएको छ। उनीहरूलाई चाहिँ आवश्यक सामग्रीसहित खाना र खाजा पनि उपलब्ध गराइनेछ।’ 

क्‍वारेन्टाइनको सुरक्षार्थ सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी खटाइने छ। त्यहाँ नगरपालिकाकै स्वास्थ्य शाखाका दुई कर्मचारीसमेत हुने उनले बताए। दुइतले माविको तल्लो भवन क्‍वारेन्टाइनका लागि बनाइएको उनले बताए। भने,  ‘आवश्यक खण्डमा माथिल्लो भवन पनि प्रयोग गर्नुका साथै नगर क्षेत्रमा रहेका धर्मशाला, सामुदायिक भवन, विद्यालयलाई पनि क्‍वारेन्टाइन बनाउने छौँ।’

गरपालिकासँग एम्बुलेन्स नभएकोले हाललाई हिमाली माविको बस नगर क्षेत्रमा प्रयोगमा ल्याउने निर्णय भइसकेको उनले जानकारी दिए। उनका अनुसार नगरमा बसोबास गर्ने र भारतबाट फर्किने व्यक्तिको तथ्यांक संकलन कार्य वडा वडामा धमाधम भइरहेको छ। 

‘उनीहरूलाई आउने बित्तिकै क्‍वारेन्टाइनमा १४ दिनका लागि राख्ने छौं। उनीहरूको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइने उनले बताए। यता क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक तथा वडा १ का अध्यक्ष दशरथ प्रधानको अध्यक्षता शनिबार सर्वपक्षीय छलफलसमेत गरिएको थियो।

छलफलमा भद्रपुरको क्‍वारेन्टाइनलाई जिल्लामै नमुना क्‍वारेन्टाइनको रूपमा सञ्चालन गर्न विभिन्न बुँदामा निर्णय समेत गरिएको छ। त्यस्तै ३३ जना कोरोनाका बिरामी फेला परेसँगै कचनकवल गाउँपालिकामा धमाधम क्‍वारेन्टाइन निर्माण भइरहेका छन्। 

कचनकवलमा हालसम्म २ सय ३० बढी नेपाली नागरिक भारतबाट फर्किसकेका छन्। उनीहरूलाई विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको छ। 

थप नेपाली नागरिक आउने देखिएपछि गाउँपालिकाले लक्ष्मी मावि बनियानीमा १ सय ३० बेडको व्यवस्थित क्‍वारेन्टाइन निर्माण गरिसकेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए। 

गाउँपालिकामा अहिलेसम्म ४ सय बेड क्षमताको क्‍वारेन्टाइन निर्माण भइसकेको उनले बताए। जिल्लाका सीमावर्ती स्थानीय तहमा बसोबास गर्ने भारतबाट आएका नेपाली नागरिकमा मात्रै ३५ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ। तीमध्ये कचनकवलमा ३३, झापा गाउँपालिकामा एक र बाह्रदशी गाउँपालिका एक जना छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.