गाउँ पुग्‍न भाडा नलाग्‍ने, क्‍वारेण्टाइनमा बस्‍नैपर्ने

|

पाल्पा : भारतबाट १६७ जना पाल्पा आइपुगेका छन्। भारतसँग जोडिएका विभिन्न नाकाबाट उनीहरूको उद्दार गरिएको हो। रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्‍दार गरिएको पाल्पामा स्थापना गरिएको

(कोभिड १९) हेल्प डेस्क सचिवालयका संयोजक तथा तानसेन नगरपालिका–१३ का वडा अध्यक्ष टुकप्रसाद भट्टराइले बताए। उनका अनुसार शुक्रबार राति र शनिबार राति गरेर उनीहरू तानसेन ल्याइएको हो।

‘अझै पनि धेरैजना नाकामा आएर अलपत्र परेको खबर आएको छ’ उनले भने ‘आज पनि यहाँबाट गाडी पठाउने तयारी गरिरहेका छौं।’ भारतीय सीमानाका अलपत्र परेका पाल्पाका कुनैपनि नागरिकलाई उद्वार गरेर पाल्पा ल्याइने उनले बताए।

गाउँसम्म पुग्न भाडा नलाग्‍ने

नेपाल–भारत सीमा नाकामा आइपुगेका तर पाल्पा घर भएकाहरूलाई यहाँका स्थानीय तहको सहकार्यमा जिल्लामा ल्याइने भएपछि नाकामा अलपत्र परेकाहरूलाई ठूलो राहत मिलेको छ।

उनीहरू अब सिधै आफ्नो गाउँमा आउन पाउने भएका छन्। उनीहरूले सीमा नाकाबाट आफ्नो गाउँसम्म पुग्नको लागि भाडासमेत तिर्नुपर्ने छैन। स्थानीय सरकारले निशुल्क गाडीको व्यवस्था मिलाएको जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मीरा मरासिनीले बताइन्।

अलपत्रलाई सहजीकरण गर्न हेल्पडेस्क

जिल्ला समन्वय समितिको समन्वयमा सबै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा तानसेनमा बसेको बैठकले पाल्पा घर भएका र नेपाल भारतको जुनसुकै सीमा नाकामा अलपत्र परेका मानिसहरूलाई जिल्ला ल्याउने निर्णय गरेको छ। सीमा नाकामा आफूहरू अलपत्र परेको गुनासो बढ्दै गएपछि यस्तो निर्णय भएको हो।

भारतबाट आउन चाहनेहरूले सम्पर्क गर्नको लागि हेल्पडेस्क स्थापना गरिएको छ। तानसेन नगरपालिका १३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईको संयोजकत्वमा कोरोना भाइरस (कोभिड १९) हेल्प डेस्क स्थापना गरिएको हो। जसको सदस्यमा तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधि रहेको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मरासिनीले बताइन्।

तानसेन नगरपालिकामा स्थापना गरिएको हेल्प डेस्कको सचिवालयले भारत तथा तेस्रो मुलुकबाट आउन चाहनेहरूसँग समन्वय र सहजीकरण गर्नेछ। उनीहरू जुन नाकामा छन्, त्यहिसम्म लिन जाने व्यवस्थासमेत गरिएको छ। ‘जुन नाकाबाट हामीलाई खबर प्राप्त हुन्छ।

त्यहिसम्म लिन जान्छौ’ संयोजक भट्टराइले भने ‘भारतीय नाकामा अलपत्र परेका तर पाल्पा घर भएकाहरूलाई यहीँबाट गाडी पठाएर ल्याउने व्यवस्था मिलाएका छौं। उनीहरूले भाडासमेत तिर्नुपर्ने छैन्। अब उनीहरू सीमानाकामा आएर अलपत्र पर्नुपर्ने अवस्था छैन्।’ जिल्लामा रहेका दुई नगरपालिका र ८ वटा गाउँपालिकाको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको हो। दशवटै स्थानीय तहले १/१ लाखका दरले हेल्प डेस्कमा कोष स्थापना गरेका छन्। 

अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने

भारतबाट आउने जोसुकै अनिवार्य जिल्लाको सदरमुकाम तानसेनमा स्थापना गरिएको होल्डिङ क्वारेण्टाइनमा बस्नुपर्ने हुन्छ। बढीमा तीन दिन यहाँ बस्नुपर्ने छ। भारतीय कुनैपनि नाकाबाट प्रवेश गरेका उनीहरू पहिले तानसेनमा रहेका क्वारेण्टाइनमा आउनुपर्ने छ।

आरडिटि वा पीसीआर गरेपछि मात्र उनीहरू आफ्नो स्थानीय तहमा जान पाउने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। रिपार्टको आधारमा सम्बन्धित स्थानीयतहमा जान पाउने उनले बताए। रिपोर्ट पोजेटिभ आएका व्यक्ति भने होल्डिङ्ग क्वारेण्टाइनबाट आइसोलेसनतर्फ जानुपर्ने छ। नेगेटिभ रिपोर्ट आएकाहरूलाई मात्र सम्बन्धित स्थानीय तहमा पठाइने छ।

तर सम्बन्धित स्थानीयतहमा पुगेपछि भने त्यहाँ रहेको क्वारेण्टाइनमा १४ दिन बस्नुपर्छ। १४ दिनपछि आरडिटि परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएकाहरूलाई थप एकहप्ता होम क्वारेण्टाइनमा बस्ने शर्तमा घरमा पठाइने उनी बताउँछन्।

लकडाउका बेला भारतका विभिन्न नाकाबाट प्रवेश गरी लुकेर गाउँ छिर्न थालेपछि कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि थप उपायस्वरूप यस्तो निर्णय गरिएको प्रजिअ सुवेदीले बताए। कुनै पनि देशबाट घरमा आउन चाहनेहरूले हेल्पडेस्क तथा सम्बन्धित स्थानीय निकायका जनप्रतिनिधिसँग सम्पर्क गर्न उनले अनुरोध गरे।

आइसोलेसन वेड थप गरिने

जिल्लामा आइसोलेसन वेड थप गरिने भएको छ। तानसेन नगरपालिका र रामपुर नगरपालिकामा ५/५ सय र अन्य ८ वटा गाउँपालिकामा २ सय ५० वेडका दरले आइसोलेसन स्थापना गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.