हाँस्यव्यङ्ग्य निबन्ध 'थप्पड' लोकार्पण

|

काठमाडौं : भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तक "थप्पड" एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ र राष्ट्रकवि घिमिरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका छन्।

काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा नेता नेम्वाङले खराबलाई उठ्नै नसक्नेगरी र राम्रोलाई अझ प्रोत्साहन हुनेगरी व्यङ्ग्य रचना गर्न सुझाव दिए। उनले राजनीति राम्रो नभए सबै कुरा बिग्रने भएकाले राजनीतिलाई मर्यादित बनाउन राजनीतिज्ञ मात्र नभएर सबै लाग्नुपर्ने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यङ्ग्य गर्न पनि भ्याए,' सिस्‍नुपानीको हाँस्यव्यङ्ग्य मलाई मन पर्छ। त्यसैले सकेसम्म सहभागी हुन्छु। यसैले एउटा कुरा भन्‍न मन लागेको, यो साह्रै बिजोग भो भन्नका लागि हरि शब्द जोडेर हरिबिजोग भन्दा रैछन। हरिबिजोगको ठाउँमा अरु शब्द किन नजोडया होला ? यो मैले बुझिन। हरिबिजोग शब्दको ठाउँमा सुवास विजोग अथवा अहिलेका प्रधानमन्त्री ज्यू जो एउटा केही काम गर्नु सक्नुभएको छैन। चुनावसम्म घोषणा गर्न सक्नुभएको छैन अहिलेसम्मको लक्षण हेर्दा। प्रचण्ड बिजोग किन नभन्या होला?'

उनले भने,' नेता केपी ओली कमरेड बनाई-बनाई टिप्पणी गर्नुहुन्छ। मैले यस्तो सम्झे, अर्को शब्द रामधुलाई। किन रामधुलाई भयो त ? केपी धुलाई चै किन नभएको होला?' उनले भने।

कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले पुस्तकले सबैक्षेत्र समेटेर रचनात्मक ढंगले व्यङ्ग्य गरिएको बताए। उनले शरीरको अंग-अंगको व्याख्यामा लेखिएको यो निबन्ध नेपाली साहित्यमा नै नयाँ प्रकारको रचना भएको टिप्पणी गरे। पुस्तकको समिक्षा गर्दै डा.रामप्रसाद ज्ञवालीले 'थप्पड' निबन्धमा राजनीतिभित्र देखिएको विकृतिप्रति तिखो व्यङ्ग्य गरिएको बताए। कार्यक्रममा लेखक देवी घिमिरेलाई आयोजक सिस्नुपानी नेपालले एक सय २८ वटा किला (काँटी)को माला लगाएर सम्मान गर्‍यो। 

भिन्‍न शैलीबाट गरियो लोकार्पण

पुस्तक विमोचन नयाँ शैलीबाटै गरियो। मञ्चमा अतिथी राखिएको अग्रभागमा एउटा टेबुल थियो। टेबुलमा सिस्नुले केही छोपिएको थियो। त्यो सिस्नु पहिले अतिथि नेम्वाङ र घिमिरेले पल्ट्याए। अनि बडेमानको हातका काठद्वारा निर्मित पाँच औलाहरु देखिए। जसमा पुस्तक 'थप्पड' देखियो।  त्यो हातका औलाहरु ओल्ट्याइपल्ट्याइ गरेर उनीहरुले पुस्तकको लोकार्पण गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.