परीक्षणका लागि किट छैन, १ हजार बढी क्वारेन्‍टाइनमा

|

अर्घाखाँची : रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा पुगेर काम गरिरहेका अर्घाखाँचीबासीहरु अहिले जिल्ला फर्किरहेका छन्।  कोरोना र लकडाउनका कारण भारतमा अलपत्र परेका जिल्लाबासीहरूले घर फर्किन निकै सास्ती खेपिरहेका छन्।

उनीहरूलाई अर्घाखाँचीका कतिपय स्थानीय तहले गाडीमा भाडा तिरेर जिल्ला ल्याउने गरेका छन्। जिल्ला ल्याइएपछि उनीहरूलाई सम्बन्धित वडा तहमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ।  अर्घाखाँचीमा पछिल्लो एक हप्तामा भारतबाट आएका  १ हजार ९१ भन्दा बढी व्यक्तिलाई क्वारेण्टाइनमा राखिएको छ।

भारतमा रोजगारीको शिलसिलामा गएकाहरु एक हप्तामा मात्र १ हजार ९१ जना जिल्ला भित्रिएको प्रशासन कार्यालयले जनाएको छ। जिल्लाका ६ स्थानीय सरकारले बनाएका विभिन्न क्वरेण्टीनमा शनिबार बेलुकासम्म १ हजार ९१ जना रहेका छन्। भारतबाट आएका तथा अन्य स्थानबाट आएका सबैलाई सम्बन्धित पालिकाले बनाएको क्वरेण्टीनमा राखिएको छ।

जिल्लाका ७९ स्थानमा ९ सय १३ वटा बेडसहितका क्‍वारेन्‍टाइनहरु बनाएपनि भारतबाट आउनेको चाप बढेपछि क्वारेन्टाइन स्थान र बेडहरू थपिएको छ। लगातार भारतबाट सयौंको दरमा नागरिक जिल्ला भित्रिन थालेपछि स्थानीय तहले उनीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ।

शीतगंगामा नामका मात्र क्‍वारेन्टाइन

जिल्लाका अधिकांश विद्यालय, सामुदायिक भवन, एकान्त घरगोठमा क्वारेन्टाइन बनाएर राखिएको छ। जिल्लाका स्‍थानीय तहमध्ये शितगंगा नगरपालिकामा पछिल्लोपटक बनाईएका क्वारेन्टाइन नामका मात्रै छन्। नगरको सुवर्णखाल, जुकेना, सिमलपानी जस्ता ठाँउमा स्थानीय घर नजिकै रहेका आधारभूत विद्यालयमा भारतबाट आएकाहरू क्वारेन्टाइनमा बसेका हरूलाई आफ्नो घरबाटै लत्ताकपडा लैजाने, साँझबिहानको खाना पनि घरको परिवारले लगिदिने  गरेका स्‍थानीयको भनाइ छ।

क्वारेन्टाइनमा बसेका नागरिकहरूसँग घरका अन्य परिवारहरू पनि हेलमेल गरेको पाईन्छ। वडा तहको फितलो क्वारेन्टाइन भएपछि सक्रमित फैलिने डर भएको स्थानियको गुनासो छ।

क्वारेन्टाइनमा बसेकाहरूलाई स्यानिटाईजर त परको कुरा भयो तर  हातधुने साबुनसमेत छैन। , मुखमा लगाउने माक्स छैन ,  उनिहरूले घरबाट पकाएर परिवारले ल्याईदिएको खाना खाने गर्दछन्।

परीक्षण गर्न किट छैन

जिल्लाका कतिपय स्‍थानीय तहहरूमा किटको अभाव हुँदा क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी र पिसिआर जाँच गर्न सकिएको छ‌ैन। क्वारेन्टाइनमा बसेको १८, १९ दिन हुँदासमेत किटको अभावमा आरटिडी ,पिसिआर जाँच गर्न नसकिएको भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले बताए।

नगरले सीमापारि अलपत्र परेका नागरिकलाई घर ल्याउन मासिक भाडा तिरेर एउटा बस संचालनमा ल्याईएको उनले बताए।

कुन स्थानीय तहमा कति?

शनिबारसम्म विभिन्न क्वारेन्टाइनमा १ हजार ९१ जना रहेका छनु। जसमध्ये सन्धिखर्क नगरपालिकामा १ सय ३३ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म २० जनाको आरटिडी ,३२ जनाको पिसिआर जाँच गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए।

त्यस्तै, भूमिकास्थान नगरपालिकामा  २ सय ७५ जना क्वारेन्टाइनमा छन्। अहिलेसम्म २० जनाको आरटिडी र ३२ जनाको पिसिआर जाँच गरिएको छ। सबैको नेगेटिभ रिपोर्ट आएको छ।

यस्तै,  शीतगंगा नगरपालिकामा २ सय ४४ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म ४३ जनाको आरडिटी र १७ जनाको पिसिआर जाँच गरिएको छ। जसमध्ये ७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको र १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य प्रमुख कृष्ण प्रसाद पौडेलले बताए।

पाणिनी गाउँपालिकामा ७३ जना क्वारेन्टाइनमा छन्। शनिबार ५ जनाको पिसिआर जाँचका लागि स्वाव निकालेर भैरहवा पठाइएको स्वास्थ्य प्रमुख शेषकान्त घिमिरेले जानकारी दिए।  मालारानी गाउँपालीकामा २ सय ८१ जना क्वारेन्टाइनमा रहेका छन् भने अहिलेसम्म ४२ जनाको आरडिटी र ९३ जनाको पिसिआर जाँच गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए।

त्यस्तै,  छत्रदेव गाउँपालिकामा ८५ जना क्वारेन्टाइनमा बसेका छन्। ९ जनाको पिसिआर जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले  बताए।  यस्तै, जिल्लाका ३ स्थानमा १२ वटा आइसोलेसन बेडहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

जिल्लाभर कति परीक्षण?

अहिलेसम्म जिल्लाभरि १ सय २५ जनाको आरडिटी र १ सय ८८ जनाको पिसिआर जाँच गरिएको छ।  किटको अभावमा जाँचको संख्या कम भएको स्थानीय तहहरूले जनाएका छन्। आइतबार पनि जिल्ला  सीमापारिबाट जिल्लाा भित्रिनेक्रम जारी छ। ठूलो संख्यामा जिल्लाका ६ ओटै स्थानियतहमा सिमापारी अलपत्र परेका नागरिकलाई ल्याइने स्‍थानीय तहहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.