|

डडेल्धुरा : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको छ। मन्त्रालयले शनिबार साझ ५ बजेतिर जारी गरेको सूचनामा गम्भीर त्रुटि भेटिएको हो। मन्त्रालयले कोभिड १९ संक्रमितको संख्या गलत दिएको दिएकाे थियाे।

मन्त्रालयले जारी गरेको शनिबारको रिपोर्टमा सुदूरपश्चिममा १४ जना कोरोना संक्रमित रहेको जनाएको छ। तीमध्ये पाँच जना निको भएका उल्लेख छ। तर, जिल्लागत विवरणमा गम्भीर त्रुटि गरेको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी बैतडीमा सात जना छ। त्यसपछि डडेल्धुरा पाँच जना संक्रमित रहेको उल्लेख छ। कैलाली र कञ्चनपुरमा एकएक जना रहेको जनाइएको छ।

बैतडीका सात जना मध्ये चार जना निको भएर घर फर्किएको जनाएको छ। कञ्चनपुरका एक जना पनि घर फर्किएका मन्त्रालयको सूचनामा उल्लेख छ।

के हो वास्तविकता ?

सुदूरपश्चिममा कूल संक्रमितको संख्या १५ छ। जसमध्ये पाँच जना निको भएर घर फर्किएका छन्। यहाँ शनिबार एक जना थपिएका छन्। अछामका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले प्रेस विज्ञप्तिमार्फत पुष्टि गरेको हो। मन्त्रालयले भने यो समाचार तयारी पार्दासम्म पुष्टि गरेको छैन।

मन्त्रालयले बैतडीमा संक्रमितको संख्या सात जना उल्लेख गरेको छ। तर, त्यो सत्य होइन। बैतडीमा पाँचजना मात्रै कोरोना संक्रमित रहेका छन्। उनीहरूमध्ये चार जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् भने एक जना बैतडी अस्पतालमा उपचार गराइरहेका छन्।

यस्तै डडेल्धुरामा पाँच जना कोरोना संक्रमित रहेको मन्त्रालयले भने पनि हालसम्म यहाँका एक जनामा मात्रै कोरोना पुष्टि भएको छ। उनी डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

कैलालीमा सात जना कोरोना संक्रमित छन्। जसमध्ये चार जना निको भएर घर फर्किसकेका छन् भने तीन जना टीकापुर अस्पतालमा उपचार गराइरहेका छन्। मन्त्रालयले एक जना मात्रै संक्रमित रहेको उल्लेख गरेको छ। कञ्चनपुरका एकजनामा कोरोना दिएको थियो। उनी उपचारपछि घर फर्किसकेका छन्।

स्थानीयमा त्रास 

डडेल्धुरामा कोरोना संक्रमित संख्या पाँच रहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि यहाँका स्थानीय त्रसित बनेका छन्। टिभीको स्क्रिनमा 'डडेल्धुरामा पाँच कोरोना संक्रमित' देखेपछि यहाँका स्थानीय त्रासमा छन्। 

'मन्त्रालयले जारी गरेको विवरणमा डडेल्धुरामा पाँच संक्रमित रहेको थाहा पाएपछि ५/६ जनाले मलाई फोन गरेर सोध्नुभयो,' पत्रकार उत्तर विष्टले भने, 'उहाँहरूलाई मैले विवरण तलमाथि परेको होला। थपिएका चाहिँ होइन आत्तिनु हुँदैन भनेर भने।' 

मन्त्रालयले पनि विवरण तलमाथि गरेर झुक्याएको छ। यसअघि पनि मन्त्रालयले गलत सूचना दिएको थियोे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.