|

काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। भारतमा कोरोना फैलिँदै गएपछि त्यसको जोखिममा नेपालमा पनि बढ्दै गएको छ।

भारतले रेल सेवा सञ्‍चालन गरेर लाखौं प्रवासीलाई घर पठाउन थालेपछि नेपाली सीमा क्षेत्रमा पनि हजारौं आइपुगेका छन्। उनीहरुलाई व्यवस्थापन गर्न नेपाललाई धौ धौ पर्ने देखिएको छ।

यस्तोमा विश्‍वभर कोरोना संक्रमित मुलुकहरुको सूचीमा भारत १० औँ स्थानमा आइपुगेको छ। इरानलाई पछाडि पार्दै भारत विश्‍वका संक्रमित मुलुकहरुको सूचीमा अगाडि आएको हो। 

अमेरिकासहितका मुलुकमा कोरोना संक्रमित कम हुँदै गएको अवस्थामा भारतमा भने यसले नयाँ रेकर्ड बनाउन थालेको छ। दिनमा हजारभन्दा धेरै संक्रमितहरु थपिँदै गएका छन्।

चीनपछि कोरोना फैलिएको इरामा सोमबार दिउँसोसम्मको विवरणअनुसार १ लाख ३५ हजार ७ सय १ जना संक्रमित भेटिए छन्। यस्तोमा दशौं स्थानको इरानलाई एघारौं स्थानको भारतले उछिनेको हो। भारतमा ताजा अवस्थामा संक्रमितको संख्या १ लाख ३९ हजार ४९ पुगेको छ। 

भारतमा हालसम्म कोरोनाबाट ४ हजार २४ जनाको ज्यान गइसकेको छ। जहाँ संक्रमितको दर झन् झन् बढिरहेको छ। भारतभन्दा माथि टर्कीमा धेरै संक्रमित छन्। नवौँ स्थानको टर्कीमा १ लाख ५६ हजार ८ सय २७ जना संक्रमित रहेका छन्। त्यहाँ ४ हजार ३ सय ४० ले ज्यान गुमाएका छन्। 

भारतमा अहिले फैलिएकै दरमा कोरोना बढ्दै जाने हो भने अबको केही दिनमै टर्कीलाई उछिन्‍ने छ। टर्कीमा भारतमा भन्दा १७ हजार ७ सय ७८ धेरै संक्रमित छन्।

वर्ल्डोमिटर्सका अनुसार सोमबार दिउँसोसम्ममा विश्‍वभर ५५ लाख ३ हजार ८०४ संक्रमित पुगेका छन्। जसमा अमेरिकामै १६ लाख ८६ हजार ४३६ जना संक्रमित छन्।  ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११ जना संक्रमित छन्। अमेरिकामा ९९ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा हालसम्म यो संख्या २२ हजार ७ सय ७६ ले ज्यान गुमाइसकेका छन्। 

अर्कातिर रसियामा ३ लाख ४४ हजार ४ सय ८१ संक्रमित छन्। तर अमेरिका र ब्राजिलपछि धेरै संक्रमित रहेको रसियामा मृतकको संख्या भने कम छ। रसियामा संक्रमित धेरै भएर पनि ३ हजार ५ सय ४१ ले मात्रै ज्यान गुमाएका छन्। अमेरिका, ब्राजिल, बेलायत, इटाली, स्पेन, फ्रान्स र जर्मनीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीव्र गतिमा बढ्दा रसियाले भने त्यसलाई रोक्न सकेको छ। 

युरोपमा सबैभन्दा धेरै बेलायतमा ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या २ लाख ६० हजार ९ सय १६ छ। कोरोनाका कारण बेलायतमा ३६ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ। 

अर्कातिर स्पेनमा २ लाख ८२ हजार ८ सय ५२ जना संक्रमित छन्। मृत्यु हुनेको संख्या २८ हजार ७ सय ५२ पुगिसकेको छ। इटालीमा संक्रमितको संख्या २ लाख २९ हजार ८ सय ५८ छ। जहाँ मृत्यु हुनेको संख्या ३२ हजार ७ सय ८५ छ। फ्रान्समा १ लाख ८२ हजार ७ सय ९ जना संक्रमित छन्। त्यहाँ २८ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.