|

बारा : बारामा सोमबार थप २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कलैया बारामा कार्यरत थप २ जना प्रहरी जवानमा कोरोना सक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पर्साको जिराभवानी गाउँपालिका १८ वर्षीय पुरुष र काठमाडौं घर भई बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

उनीहरुको जेठ ३ गते स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो। उनीहरूलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

सोमबार थपिएका दुईसहित जिल्ला प्रहरी कार्यालय बारामा ७ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार थप तीन जना प्रहरीमा संक्रमण देखिएको थियो।

जिप्रकामा कार्यरत पर्साका ३२ र ३४ वर्षका प्रहरी हवल्दार र रौतहटका ३४ वर्षीय प्रहरी जवान, सर्लाही घर भई जिप्रका बारामा कार्यरत ४९ वर्षीय प्रहरी नायव निरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

जिप्रकामा पहिलोपटक मुद्दा शाखामा कार्यरत रौतहट घर भएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो। पहिलो संक्रमित जवानको कन्ट्रयाक ट्रेसिङको आधारमा उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। संक्रमित सबैलाई प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा राखिएको थियो।

जिल्लामा संक्रमित संख्या ४२ पुग्यो

बारामा कोरोना संक्रमितको कुल संख्या ४२ पुगेको छ। एकजनाले ज्यान गुमाएका छन्। जसमध्ये दुईजना संक्रमण मुक्त भएर घर फर्केका छन्। संक्रमित ३९ जना कलैया अस्पतालमा र १ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

 १६ वटा स्थानीय तह रहेको बारामा ६ वटामा संक्रमण देखिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, विश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत ७ जना प्रहरी, करैयामाई गाउँपालिकामा ३ जना र महागढीमाई नगरपालिकामा २१ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.