मोदीको स्तुतिगानबाट लिएको उचाई

|

क्लिन सेभ अनुहारमा छड्के कपाल। डबल फ्रेमवाला चश्मा र हातम कलम। दैनिकजसो टिभी कार्यक्रम सञ्चालन गर्न आउँदा अर्णव गोस्वामीको हुलिया यही हो।
भारतमा बस्ने मुसलमान समुदायलाई पाकिस्तानी करार गर्दै सार्वजनिक सञ्चारमाध्यममा चर्को स्वरमा कथित राष्ट्रियताको नारा लगाउने गोस्वामी केही दिनयता नेपालीहरुको पनि तारो बनेका छन्। 

८ मे मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग लिपुलेकबाट कैलाश मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा भारतविरोधी नारा पुनः चर्किन थाल्यो।

त्यसको केही दिनपछि नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समट्दै नयाँ नक्सा सार्वजनिक गर्‍यो । 

कालापानी क्षेत्रलाई भारतको भूमि बताउँदै उनै अर्णव गोस्वामीले आफ्नो लगानी रहेको रिपब्लिक टिभीमा नेपाल–भारतका विज्ञ सम्मिलित एक कार्यक्रम नै राखे। 

कार्यक्रममा भारतीय पक्षको कुरा राख्न दिने गोस्वामी नेपाली पक्षको कुरै सुन्न तयार भएनन्। नेपालको तर्फबाट सहभागी कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि उनले प्रश्नको बर्षा नै गरे।

तर रिजालले आफू प्रतिपक्षी दलको भए पनि अरु कुरा जान्दिनँ, राष्ट्रियतको सवालवमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिन्छु भनेर गोस्वामीको मुखमा बुझो लगाइदिए। नेपालको विषयमा अल्पज्ञान प्रकट गर्दै जथाभावी बोलेपछि नेपालीले उनलाई निशाना बनाइरहेका छन्। 

को हुन् अर्णव गोस्वामी? 

भारतीय पत्रकारिता क्षेत्रका लागि एउटा परिचित नाम हो अर्णव गोस्वामी। सन् १९९५ बाट गोस्वामीले पत्रकारिता थालेका थिए। छापा माध्यमबाट करिअर सुरु गरे पनि त्यसको एक वर्षपछि नै उनी टिभीतर्फ मोडिए।

विशेषगरी साम्प्रदायिक विषयमा चर्को स्वरले बोल्ने गोस्वामीलाई भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्तुतिगान गाउने पत्रकारका रुपमा चिनिन्छ। उनलाई मोदीको पनि विशेष संरक्षण छ। मोदीकै उपस्थितिमा रिपब्लिक टिभीको सुरुवात भएको थियो। जहाँ सम्बोधनका क्रममा मोदीले अर्णवको खुलेर प्रशंसा गरेका थिए।

अलजजिराले भारतीय सञ्चारमाध्यम र गोस्वामीको विषयमा नौ मिनेट लामो रिपोर्ट नै बनाएको छ। जसमा उनीसँग काम गरेका पूर्वसहकर्मीले नै उनलाई चर्को स्वरमा बोल्ने भनेका छन्। उनका पूर्वसहकर्मीले हिन्दु–मुस्लिमको नाममा साम्प्रदायिकता भड्काउने अभिव्यक्ति दिने सञ्चारकर्मीको रुपमा अर्णवको चित्रण गरेका छन्। 

व्यक्तिगत जीवन

सन् १९७३ मार्च ७ मा मनोरञ्जन गोस्वामी र सुप्रभा जैन गोस्वामीको कोखबाट भारत आसामको गुहावटीमा अर्णवको जन्म भएको थियो। 

अर्णवका पिता मनोरञ्जन भारतीय सेनामा थिए भने उनकी आमा एक लेखक हुन्। अर्णवका बुबा सेनामा भएका कारण उनको अधिकांश शिक्षा सैनिक छाउनीमै बित्यो। 

भिडियो

उनले कक्षा १० सम्म दिल्लीस्थित छाउनीमा रहेको सेन्ट मेरी स्कुलमा पढे। कक्षा १२ को अध्ययन केन्द्रीय विद्यालय जवालपुर छाउनीबाट गरे। 

समाजशास्त्रमा स्नातक दिल्ली विश्वविालयबाट हासिल गरेका हुन् उनले। अक्स्फोर्ड विश्वविद्यालय बेलायतबाट सन् १९९४ मा उनले मानवशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

गोस्वामी  सन् २००० मा बेलायतकै क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत सिड्नी ससेक्स कलेजको अन्तर्राष्टिय विभागको विजिटिंग शिक्षक पनि रहिसकेका छन्। 
पत्रकारिता कसरी आए? 

गोस्वामीले पत्रकारिता यात्रा मोफसलबाट सुरु गरेका थिए। कोलकत्ताबाट प्रकाशन हुने ‘द टेलिग्राफ’बाट उनको पत्रकारिता यात्रा शुरु भएको हो। 

उनको पत्रकारिता यात्रालाई उचाइ भने दिल्लीमा रहेको ‘एनडिटिभी’ले दियो। त्यहाँ रहँदा गोस्वामीले ‘द न्युज आवर’ कार्यक्रम सञ्चालन गर्थे भने भारतीय राष्ट्रिय प्रशारण दूरदर्शन मेट्रोका लागि पनि ‘न्युज टुनाई’ कार्यक्रम सञ्चालन गर्थे। 

उनलाई सन् २००४ मा एसियन टेलिभिजनको उत्कृष्ट समाचार वाचकको पुरस्कार प्रदान गरिएको थियो। एनडिटिभीबाट प्रसारण पत्रकारिता सुरु गरेका गोस्वामी सन् २००६ मा ‘टाइम्स नाउ’मा आबद्ध भए। 

पत्रकारिता यात्रा थालेको करिब १० वर्षमा उनी भारतकै एक प्रतिष्ठित टिभीको प्रधान सम्पादकमा नियुक्त भए। सँगै उनको एनडिटिभीसँगको यात्रा समाप्त भयो। टाइम्समा उनको ‘फ्याङ्क्ली स्पिकिङ विथ अर्णव’ भन्ने कार्यक्रम चर्चित थियो। 

जहाँ उनले अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन, अफ्गानिस्तानका पूर्वराष्टपति हमिद कारजाई, पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो, निर्वासित तिब्बेतियन धर्म गुरु दलाई लामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै प्रतिष्ठित व्यक्तिसँग अन्तर्वार्ता गर्ने मौका पाए। 

सन् २०१६ को अन्त्यतिर उनले सम्पादकीय स्वतन्त्रता नभएको भन्दै टाइम्स नाउ टिभी छाडेका थिए। त्यसको केही महिनापश्चात सन् २०१७ को मध्यमा उनले ‘रिपब्लिक टिभी’ स्थापना गरे। जसमा अधिकांश सेयर उनको नाममा छ। भाजपा नेता राजीव चन्द्रशेखरसँगको संयुक्त लगानीमा टिभी स्थापना गरिएको थियो। 
चन्द्रशेखर तत्कालीन समयमा राज्यसभाका स्वतन्त्र सदस्य थिए। भाजपा प्रवेश गरेपछि उनले टिभीमा रहेको आफ्नो सेयर निकालेको बताइन्छ। 
स्थापनाको सय हप्तासम्म रिलब्लिकन भारतमा सबैभन्दा धेरै हेरिने अंग्रेजी भाषाको टिभी च्यानल बनेको थियो।

भाजपा र गोस्वमी

अर्णवको परिवार भाजपाको राजनीतिमा सक्रिय छ। उनका पिता मनोरञ्जन गोस्वामी सेनाको जागिरबाट अवकाश प्राप्त गरेपछि भाजपाको राजनीतिमा सक्रिय थिए। उनले सन् १९९८ को लोकसभा निर्वाचनमा भाजपाबाट आसाममा उमेद्वारी दिएका थिए। जहाँ उनी भारतीय कांग्रेसको उमेद्वारसँग पराजित भए। 

गोस्वामीका मामा सिदार्थ भट्टाचार्य पूर्वीगुहावटी निवार्चन क्षेत्रबाट हाल भाजपाका लोकसभा सदस्य छन्। परिवारका सदस्यहरु भाजपाको राजनीतिमा सक्रिय रहेकै कारण उनको व्यवसायिक रुझान भाजपातर्फ छ। तर उनको पत्रकारिताको शैलीले यस्तो नसोच्ने छुट भने दिँदैन। 

अर्णवको उपलब्धि

उनलाई सन् २००८ मा उत्कृष्ट पत्रकारिताका लागि रामनाथ गोयन्का अवार्ड प्रदान गरिएको थियो। सन् २०१२ मा वर्षको उत्कृष्ट न्यूज टिभीका प्रधान सम्पादकका रुपमा सम्मान पनि गरिएको थियो। 

गत वर्ष उनलाई सर्वसम्मत रुपमा भारतीय समाचार प्रसारण संस्थाको अध्यक्ष नियुक्त गरिएको थियो। यस संस्थामा करिब ७८ च्यानल आबद्ध छन्। 

सन् २००८ नोभेम्बर ११ मा भएको मुम्बई आक्रमणको गोस्वामीले टाइम्स नाउ टिभिमार्फत करिब २६ घण्टा लगातार लाइभ कार्यक्रम सञ्चालन गरेका थिए। उनको कम्ब्याटिङ द टेरोरिज्जम नामको पुस्तक प्रकाशित छ।  

गोस्वामी र विवाद

अर्णव गोस्वामी आफूलाई राष्टवादी मान्छन्। यद्यपि उनको राष्ट्रवादमा खोट लगाउने व्यक्ति प्रशस्त छन्। वर्तमान भारतमा राष्ट्रवादी हुनु भनेको भाजपा र उसको संरक्षक संस्था राष्ट्रिय स्वंयमसेवक संघ (आरएसएस) को मूल्य मान्यतामा चल्नु भएको भारतीय सञ्चार क्षेत्रका हस्तीहरु आरोप लगाउँछन्। 

जुन उनीहरुको विचारमा विड्म्बना हो। भाजपा अघोषित रुपमा र आरएसएस घोषित रुपमा नै भारतलाई हिन्दु राष्ट्र बनाउने चाहना राख्छन्। यसलाई गोस्वामी सही मान्छन् र त्यसकै इदगिद रहेर आफ्नो टिभी कार्यक्रम बनाउँछन् र त्यसले उनलाई विवादमा पनि ल्याइरहन्छन्।

आफ्नो विचारइतरको अतिथिलाई टिभी कार्यक्रममा ठूलो ठूलो स्वरमा आफ्नो कुरा सुनाउने तर अतिथिको कुरै नसुन्ने गोस्वामीको पत्रकारिताको पर्याय बनेको छ। 

केही समयअघि महाराष्ट्रको पालघरमा जिल्लामा जम्मा भएको एउटा भीडको कुटाइबाट तीन साधुको निधन भएको घटनामा कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी केही नबोलेको भन्दै गोस्वामीले आफ्नो टिभी कार्यक्रमा गान्धीविरुद्ध अपमानजनक भाषा प्रयोग गरेका थिए। जसका कारण भारतका कयौँ राज्यमा गोस्वामीविरुद्ध मुद्दा दायर भएको थियो। 

मे २ मा मुम्बई पुलिसले पनि साम्प्रदायिकता फैलाउने प्रयास गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। जुन मुद्दालाई मे ११ मा भारतको उच्च अदालतले खारेज गरिदियो। 

गत २४ अप्रिलमा गोस्वामीलाई नकारात्मकता बढाएको मुद्दामा प्रहरीले पक्राउ गर्न खोज्दा भारतको उच्च अदालतले उनको पक्षमा फैसाला गर्दैै प्रक्राउ नगर्न आदेश दिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.