गाउँका अधिकांश क्‍वारेन्टाइनमा छैन सुरक्षा

|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामकै क्‍वारेन्टाइन अस्तव्यस्त छन्। अमरगढी नगरपालिकाले क्‍वारेन्टाइन तोकेको महेन्द्र माविमा हरेक सामानको अभाव छ।

कोभिड–१९ सम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले उल्लेख गरेअनुसार कुनै पनि मापदण्ड कार्यान्वयन भएका छैनन्।

मापदण्डको सुरुवातमा घना बस्तीबाट टाढा हुनेपर्ने उल्लखे छ। तर जिल्ला सदरमुकामकै महेन्द्र माविको ५ मिटरमै घरहरू छन्। त्यहाँ क्‍वारेन्टाइनमा ५७ जना राखिएका छन्। यसमा यहाँका नागरिक सचेत भएर कोरोना जोखिमबाट बच्ने उपाय अपनाउलान् तर क्‍वारेन्टाइनमा बस्ने भारतबाट आएका अमरगढीका नागरिक एकै कोठामा १० देखि १५ जना बसेका छन्। 

सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलको पूर्ण व्यवस्था हुनुपर्ने भनेको छ। त्यहाँ न त खानेपानी, न विद्युत्, न स्वास्थ्यकै उचित प्रबन्ध गरिएको छ। खाना कसले पकाउने भन्नेबारे क्‍वारेन्टाइन बस्नेहरूबीच नै विवाद हुने गरेको बुझिएको छ। 

अच्चमको कुरा त के भने कोरोना आशंकाले एकले पकाएको खाना अर्कोले खानै मान्दैनन्। 

क्‍वारेन्टाइनमा थप जोखिम !

क्‍वारेन्टाइनमा कुनै पनि व्यवस्था नभएको भन्दै महेन्द्र माविको क्‍वारेन्टाइनमा राखिएका व्यक्तिहरु सोमबार बिहान विद्यालयको गेटमा पुगी आन्दोलन गरिरहेका थिए।क्‍वारेन्टाइनभित्र धेरै मान्छे रहेको र राम्रो व्यवस्थापन नभएको क्‍वारेन्टाइन बसिरहेका मीन पाल बताउँछन्। 

सबै जना एउटै क्‍वारेन्टाइनमा रहेको र खानेपानीको धारा, शौचालय पनि एउटै स्थानमा भएकोले क्‍वारेन्टाइनमा थप जोखिम रहेको उनको भनाइ छ। विद्यालयका चिसा कोठाहरुमा मानिसलाई राखिएको स्थानीय बताउँछन्।

समाजिक दूरीको त के कुरा एउटै कोठामा १५ जनासम्म कोचाएर राखिएको छ। कुहिएका काउली र टमाटरहरू तरकारीका रुपमा प्रयोग गरिएको पाइएको छ। नियमित सरसफाइका सामग्री अभाव उस्तै छ। 

मापदण्डअनुसार स्वास्थ्यकर्मीसमेत राख्नुपर्ने भए पनि जिल्लाभरका अधिकांश क्‍वारेन्टाइनमा छैनन्। व्यवस्थित नभएको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी तथा क्‍वारेन्टाइन संचालन तथा व्यवथापन समितिका संयोजक गणेशदत्त ओझा तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले अनुगमन गरेका छन्।

संयोजक ओझाले व्यवस्थापन गतिलो नभेटिएपछि सम्बन्धित स्थानीय तहका प्रमुखसँग राम्रोसँग व्यवस्थापन गर्न निर्देशन दिएका छन्। 

गाउँका क्‍वारेन्टाइनमा छैन सुरक्षा 

जिल्ला सदरमुकाम तथा चौकी भएका गाउँपालिका नजिकका क्‍वारेन्टाइनमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ। तर, गाउँ–गाउँका क्‍वारेन्टाइनमा सुरक्षा उपस्थिति नहुँदा स्थानीय तथा जनप्रतिनिधि आफूलाई असुरक्षित महसुस गरिरहेका छन्। 

‘हाम्रो गाउँपालिका एक मात्र प्रहरी चौकी छ, त्यहीँ रहेकाले नजिकको क्‍वारेन्टाइनको सुरक्षा दिन्छ, अरुमा पठाउन पर्दैन?’ नवदुर्गा गाउँपालिका अध्यक्ष कविद्र विष्ट सम्बन्धित निकायलाई प्रश्न गर्छन्।

सुरक्षा व्यवस्थापन नहुँदा वडाध्यक्ष तथा सदस्यहरूले क्‍वारेन्टाइनमा रहेकाहरुलाई व्यवस्थान गर्न नसक्दा असुरक्षा महसुस गरिरहेका छन्। त्यति मात्र नभई नजिककै घरभएकाहरू भागेर घर जाने संम्भावना पनि उत्तिकै छ।

भएको जनशक्तिको आफूले प्रयोग गरिरहेको र सबै स्थानमा सुरक्षा दिन नसकिको प्रमुख जिल्ला अधिकारी जगननाथ पन्तले प्रतिक्रिया दिए। उनले भने, ‘जहाँ जति बेला आश्वयक पर्छ, हामी सुरक्षा खटाउन तयार छौं। सबै क्‍वारेन्टाइनमा सुरक्षा पठाउन जनशक्तिले पुग्दैन।’

जिल्लाका अधिकांश स्थानीय तहले क्‍वारेन्टाइनमा रहेका व्यक्तिका परिवारलाई आफ्नै घरबाट खानेकुरा र सुत्दा लगाउने लुगाहरुको व्यस्थापन गर्न लगाएका छन्।

डडेल्धुराकै आलिताल गाउँपालिकाले भने आफनो व्यवस्थापन आफैं गर्ने भनेको छ। क्‍वारेन्टानमा बस्ने नागरिकलाई गाउँपालिकाले खाना बस्न, गाडी भाडा केही नदिन र आफैं व्यवस्थापन गर्न सार्वजनिक सूचना नै जारी गरेको छ।  

जिल्लाभर ७७ वटा क्‍वारेन्टाइन

जिल्लाभर ७७ वटा क्‍वारेन्टाइन निर्माण गरिएका छन्। ती क्वरेन्टाइनमा ३ हजार ८ सय संक्रमितलाई सुरक्षित राख्न सकिने छ। कोरोना संक्रमण फैलिन नदिन र उद्धार गरी ल्याएका नागरिकलाई सुरक्षित रुपमा राख्न डडेल्धुराका ७ वटै स्थानीयतले क्‍वारेन्टाइन बनाएका छन्। जम्मा ७७ वटा क्‍वारेन्टाइनमध्ये ४० क्‍वारेन्टाइनमा हालसम्म ६ बालबालिका, ३६ महिला र ८ सय २७ पुरुष छन्।

परशुराम नगरपालिकामा रहेको ५ वटा क्‍वारेन्टाइन स्थलहरू सबै प्रयोगमा रहेका र बाँकी क्‍वारेन्टाइन निर्माणका लागि प्रत्येक वडालाई निर्देशन दिइएको परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए। परशुराममा तीन बालबालिका, ८ महिला र १ सय २ पुरुष क्‍वारेन्टाइनमा छन्।

नवदुर्गा गाउपालिकाले उद्धार गरिएका व्यक्तिहरुलाई क्‍वारेन्टाइनमा राख्न सम्बन्धित वडामा रहेको नजिकको विद्यालय प्रयोग गर्न वडाध्यक्षहरुलाई जिम्मा दिएको छ। त्यस्तै खाना र सुत्न प्रयोग हुने लुगा क्‍वारेन्टाइनमा बस्ने व्यक्तिको घरबाट उपलब्ध गराउने व्यवस्था गरिएको भनिएको छ। हाल ११ वटा विद्यालयमा क्‍वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र भट्टले जानकारी दिए।

अमरगढी नगरपालिकाले पनि नगरभित्र रहेका सबै सरकारी विद्यालय र क्याम्पसलाई क्‍वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। जसअनुसार ७ वटा क्‍वारेन्टाइनमध्ये हाल डडेल्धुरा बहुमुखी क्याम्पस र महेन्द्र माविमा १ सय १७ जना राखिएका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले जानकारी दिए।

आलिताल गाउँपालिकाले ४ वटा क्‍वारेन्टाइन स्थलहरुमा १ बालक, २ महिला र १३ जना पुरुष गरी १६ जना राखेको छ भने थप क्‍वारेन्टाइन निर्माणका लागि ३० वटा चाइनिज टेन्ट किनेर राखिएको गाउँपालिकाका सूचना प्रविधि अधिकारी नवराज ओझाले बताए।

अजयमेरु गाउँपालिकामा २१ वटा क्‍वारेन्टाइन निर्माण गरिएको छ। हाल ११ वटा क्‍वारेन्टाइनमा १० महिला र १ सय ९४ पुरुष गरी २ सय ४ जना, भागेश्वर गाउँपालिकामा ५ वटा क्‍वारेन्टाइन छन्। जसमध्ये ३ वटामा ४ महिला र १ सय ५९ पुरुष गरी १ सय ६३ जना राखिएको छ। 

गन्यापधुरा गाउँपालिकामा २४ वटा क्‍वारेन्टाइन छन्। जसमध्ये ४ वटामा ३ महिला र ६७ जना पुरुष गरी ७० जना बसिरहेका छन्। डडेल्धुराका स्थानीय तहहरुले सीमामा अलपत्र आफ्ना नागरिकहरुलाई उद्धार गरी स्थानीय तहहरुले स्थापना गरेका क्‍वारेन्टाइनमा राख्दै आएका भए पनि हाल स्थानीय तहसँग क्‍वारेन्टाइन क्षमता कम देखिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.