|

कपिलवस्तु : तौलिहवामा रहेको जिल्ला अस्पताल कोभिड विशेष अस्पतालमा रुपान्तण हुने भएको छ। कपिलवस्तुका शीर्ष राजनैतिक नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिबीच कोभिड विशेष अस्पतालमा रुपान्तरण गर्ने सहमति भएको हो। अस्पतालमा छिट्टै ५० शय्याको कोरोना विशेष अस्पताल बनाउन सुरु गरिने भएको छ।

जिल्लाले आवश्यक सामग्री र स्वास्थ्यकर्मी माग गर्नेछ । माग हुने बित्तिकै पठाइने छ। दुवै कामको लगानी संघीय सरकारले गर्ने मौखिक सहमति भएको भेटघाटमा संलग्न डा. पुष्पराज खनालले बताए। 

दुई दिनभित्र काम शुरु गर्न स्वास्थ्य मन्त्रालयले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट किशोर बन्जाडेलाई निर्देशन दिँदै सूची पठाउन भनेको छ। जिल्ला अस्पतालको ओपिडी सेवा अन्य स्थानबाट सञ्चालन गरी कोभिड विशेष अस्पताल हुने भएको छ।

स्वास्थ्य मन्त्रालयको कोभिड महामारी समन्वय महाशाखाका इन्चार्ज डा. गुणराज लोहनीले टेलिफोन मार्फत उक्त निर्देशन दिएका हुन्। उनले ५० शय्या लागि चाहिने सबै सामग्री मन्त्रालयले उपलब्ध गराउने जनाकारी दिँदै काम शुरु गरिहाल्न आग्रह गरेको तौलिहवा अस्पतालका डा. किशोर बन्जाडेले बताए। 

बन्जाडेले अस्पतालमा अब २० शय्या थप्नुपर्ने, ८÷१० जना विशेषज्ञसहितका चिकित्सक चाहिने, १५ जना जति मेडिकल अफिर र त्योभन्दा बढी स्टाफ नर्स चाहिन्छ। यस्तै, केही उपकरण पनि चाहिन्छ ती सबै माग गरेको बताए।

यता वाणगंगाको पिपरास्थित सरकारी अस्पत्ताललाई आइसियु र भेन्टिलेटरसहितको अस्पतालका रुपमा विकसित गर्ने पनि मन्त्रालयले प्रतिवद्धता जनाएको छ। कम्तीमा १० शय्यासम्मको आइसियु बनाउन मन्त्रालयका तर्फबाट डा. लोहनीले प्रतिवद्धता जनाएको सांसद चक्रपाणि खनालले जानकारी दिए। 

कोभिड अस्पतालपछि पिपरा अस्पताल ट«मा अस्पतालको रुपमा विकास गरिनेछ। अझ अरु के के गर्न सकिन्छ भनेर पुनः भोलि मन्त्रालयमा थप छलफल हुने उनको भनाइ छ। अहिलेसम्म तौलिहव अस्पताल र पिपरा अस्पतालका विषयमा भएका कुराकानी कार्यान्वयनमा लैजाने अरु विषयमा थप छलफल गर्ने गरी अघि बढ्ने उनले बताए।

डेलिगेशनमा सांसद खनाल, पूर्वमन्त्री दिपकुमार उपाध्याय र सांसद अत्तहर कमाल सहभागी थिए। यस्तै, वाणगंगाका स्थायी बासिन्दा समेत रहेका स्वास्थ्य ब्यावसाय परिषदका रजिष्टार एवं कोभिड प्याथोेलोजीका सल्लाहकार सदस्य डा. पुष्पराज खनाल पनि सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.