|

भद्रपुर (झापा) : भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार अस्पताल बनाउने निर्णयप्रति स्थानीय जनप्रतिनिधिसहित नगरवासीले विरोध गरेका छन्।

नगरवासी विरोधमा उत्रिएपछि जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय र झापाका राजनीतिक दलको कोरोना उपचार अस्पताल बनाउने निर्णय अन्योलमा परेको छ।

प्रदेश १ सरकारको सिफारिसमा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणका लागि गठित समितिले कोरोना अस्पताल र प्रयोगशालाका आवश्यक स्थान छनोट गर्ने जिम्मा लिएको थियो  सोही बमोजिम मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने समितिले जेठ १० मा निर्णय गरेको थियो । 

तर, भद्रपुरका स्थानीयवासीले मेची अस्पताल नजिकै प्रयोगशाला र कोरोना उपचार अस्पताल बनाउँदा जोखिम बढ्ने निष्कर्ष निकाल्दै विरोधमा निर्णयको विरोध गरेका छन्।नगरमा रहेको एकमात्र सरकारी अस्पतालमा नजिकै कोरोना उपचार अस्पताल बनाउँदा अन्य सेवा लिनबाट सर्वसाधारण बञ्चित हुने र स्थानीयमा संक्रमण फैलिन सक्ने भन्दै नगरवासीले आपत्ति जनाएका हुन्। 

यसै विषयमा सोमबार बिहान पृथ्वी आधारभूत विद्यालयमा भएको भेलामा सहभागी अधिकांश नगरवासीले मेची अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल बनाउने कुरामा आपत्ति जनाएका थिए। सहभागीले कोरोना अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र वा अन्य स्थानमा बनाउनुपर्ने सुझाव दिएको छ। उनीहरूले जबरजस्ती कोरोना अस्पताल बनाए अवरोध गर्नेसम्मको चेतावनी दिएका छन्।

भेलाले  स्थानीय भक्त खवासको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिमा वडाध्यक्ष द्वय गौरव सुब्बा र बन्धु कार्की, राधा कार्की, लीला घिमिरे, शर्मिला अधिकारी, रत्न खतिवडा, गुरुप्रसाद सुवेदी, टीका प्याकुरेल, कुलप्रसाद दाहाल, पृथ्वीविक्रम राई, छत्र अधिकारी, गोपाल गिरी, माधव विद्रोही, समर राई, हेमलाल भट्टराई र एकजना जनस्वास्थ्य कार्यालयका प्रतिनिधि रहेका छन्। समितिले जिल्लाको निर्णयलाई तत्काल सच्याउन सुझाव दिने बताइएको छ।

भद्रपुर नगरपालिका–८ मा मेची अञ्चल अस्पताल रहेको छ। वडा नम्बर ८ का  अध्यक्ष गौरव सुब्बा र वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीले समेत सरोकारवालासँग छलफल नगरी निर्णय गरेकोमा आपत्ति जनाएका छन्। कोरोना अस्पताल बनाएर विपन्न वर्गको उपचार केन्द्र रहेको मेची अस्पतालको साख समाप्त गर्न केही निजी अस्पतालले चलखेल गरेको वडाध्यक्ष सुब्बाले आरोप लगाए। 

‘निर्माणाधीन नयाँ भवन मेची अस्पतालको ५० मिटरकै दूरीमा रहेको छ,’ वडाध्यक्ष सुब्बाले भने, ‘अस्पताल वरिपरि रेडक्रस भवन, रक्त सञ्चार सेवा, प्रसूति गृह, पोषण पुनर्स्थापन केन्द्र, एचआइभी उपचार तथा पुनर्स्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुर्ध रोग पहिचान केन्द्र रहेको छ। यस्तो अवस्थामा अन्य बिरामी उपचार गर्न कसरी आउन सक्छन्?’

कोरोना अस्पताल बनाउने निर्णय स्थानीय जनप्रतिनिधिसहित वडा कार्यालयलाई जानकारी नगराइएको उनले बताए।

त्यस्तै वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीले विपन्न नागरिकको उपचार सेवा प्रभावित हुने गरी षड्यन्त्रमुलक ढङ्गले कोरोना अस्पतालको धारणा ल्याइएको बताए। उनले भने, ‘कोरोना अस्पतालको उचित विकल्प कलवलगुरी प्रशिक्षण केन्द्रका खाली भवन हुँदाहुँदै मेची अस्पताललाई अगाडि सार्नु निर्णय खेदजनक छ।’

झापामा कोरोना अस्पताल नहुँदा यहाँका बिरामीलाई धरान र विराटनगर उपचारका लागि लगिँदैछ। झापामा अहिलेसम्म ३७ जनामा कोरोना संक्रमति भेटिएको छ। तीमध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिकाका रहेका छन्। सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा रहेकोले प्रदेश सरकारले मेचीलाई प्रयोगशालासहितको अस्पताल बनाउने तयारी गरेको हो। प्रयोगशालाका लागि प्रदेश सरकारले एउटा पिसिआर परीक्षण मेसिन उपलब्ध गराउने जनाइएको छ। एउटा मेसिन प्रयोगमा ल्याउँदा लगभग एक करोड खर्च हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.