लकडाउन गरिबका लागि बन्यो अभिशाप

|

काठमाडौं : दुई दिनअघि कीर्तिपुरको सडकमै धादिङका सूर्यबहादुर तामाङ मृत भेटिए। सडकमै भारी बोकेर पेट भर्दै आएका उनी सडकमै सदाका लागि सुतेको सुत्यै भए।

सूर्यबहादुरको लाश सडकमै अलपत्र देखेपछि एकजना स्थानीयले सरकारलाई व्यङ्ग्य गर्दै  भनेका थिए, 'धन्‍न भोकले मृत्यु भएको रहेछ। कोरोना लागेको रहेनछ। कोरोनाविरुद्ध लड्न सरकार सफल भएको छ।' 

वर्षौँदेखि भरिया जीवन बिताएका तामाङ जस्ता कयौं मजदुर लकडाउनका कारण आहाराविहीन, सहाराविहीन भएका छन्। यस्तै, अघिल्लो हप्ता सप्तरीको कञ्चनरुप नगरपालिका-५ मा पथरी रामपुरका मलर सदा मुसहर पनि खाद्यान्‍नको खोजीमा हिँड्दा हिँड्दै भोकै पेट अस्ताए।

यी त केही प्रतिनिधि घटना मात्रै हुन्। ६५ दिनयताको लकडाउनले गरिबको दैनिकीमा उछाल आएको छ। भोकै छटपटिँदै गरिब र मजदुरले कयौँ दिन रात गुजारिसकेका छन्। भोकमरीसँग जुध्न दैनिक ज्यालादारी गरेर परिवार पालेका मुसहर जस्ताका लागि यो लकडाउन ठूलो आँधी बनेर आएको छ। त्यही आँधीसँगै सूर्यबहादुर र मलर सदा पनि सदाका लागि बिलाएका छन्। सरकारले भोकले कोही नमर्ने भनिरहँदा यी दुईजनाले पेट भर्ने अन्‍न पाएनन्, माटोले अघाउन सम्भव थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलिले हरेक भाषणमा कोही गरिब भोकले मर्नु पर्दैन भनिरहँदा देशमा खाली पेट छटपटिनेहरु थपिँदै गएका छन। यो बढ्ने निश्‍चित छ। दैनिक श्रम गरेर खानेहरुको बाटो बन्द भएपछि

कोरोना संकटसँग जुध्‍न लकडाउनको अवधि थप्दै गर्दा विपन्‍न तथा गरिबले भने बाँच्नै चर्को भएको छ। गरिबका लागि सरकारबाट भरपर्दो योजना नबनाइँदा सूर्य र मलरले भोकै पेट अस्ताउनुपर्‍यो। डा.डम्बर चेम्जोङले सरकार कामभन्दा बढी प्रचारमुखी शैली रमाउन थालेपछि गरिबको दुर्दशा सुरु भएको बताए। उनले सरकारले वास्तविकता बुझ्‍नै नसकेको दाबी गरे। 

बेला बेलामा भैपरी आउने समस्यासँग जुध्न सरकारसँग ठोस योजना छैन। समाजमा बस्ने विभिन्‍न वर्गका मानिसको भरपर्दो तथ्यांक पनि सरकारले नराखेको देखिन्छ। 

'चुनावताका आफ्नो भोट कति छ भन्‍ने थाहा पाउने पार्टी र तिनका नेताले कोरोना संकटमा आफ्ना जनताको अवस्था कस्तो छ भन्‍ने बुझ्नु पर्दैन?,' डा.चेम्जोङ सोध्छन्,'जब सरकार नागरिकको सुरक्षा गर्न सक्दैन भने 'समृद्ध नेपाल सुखी नेपाली' केका लागि? जनताले गाँसबास कपासविहीन भएर सडकमै ज्यान गुमाउनुपरेको छ। यसले कल्याणकारी राज्यको धज्जी उडाएको छ।'

अहिले कोरोना संकट न्यूनीकरण गर्न भन्दै ल्याइएको लकडाउन योजना सरकारको लागि  अल्पकालीन समाधान होला। तर, यो नै अन्तिम समाधानको बाटो होइन। लकडाउन भएपछि समाज र यसका सदस्यलाई आइपर्ने समस्याबारे सरकारले कुनै  आँकलन नगर्नु दु:खद पक्ष रहेको डा.चेम्जोङले बताए।

सरकारले भाडामा बस्‍नेहरुको राहतका लागि भाडा छुट गर्न घरभेटीलाई आग्रह गरेको थियो। तर, विभिन्‍न उद्योग,कलकारखानामा काम गर्ने श्रमजिवीहरुको सुरक्षाका लागि योजना बनाएन। ती श्रमजीवीहरु पैदलै हिँडेर गाउँ पुगेको समाचार पढ्न पाइएको छ। 

'हरेक कलकारखानामा रहेका श्रमजीवीको सुरक्षा सम्बन्धित उद्योगले गरिदिनुस। सरकारले पछि कुनै योजना ल्याएर उद्योग सहुलियत दिन्छ भनेर सरकारले भन्‍न सकेन,' उनी भन्छन्, 'श्रमजीवीको हकहितमा बोल्न नसक्ने सरकार समृद्धिका भाषण गर्छ।'

कोरोनाको विश्‍वव्यापी संकटलाई न्यूनीकरण गर्न नेपालमा लकडाउन जारी छ। यहाँ रोगले मर्नेभन्दा भोकले मान्छेको ज्यान जाने क्रम थपिँदै गएको छ। यो लकडाउन विपन्‍न गरिबका लागि अभिषाप भएको डा.चेम्जोङ बताउँछन।

सरकारले भैपरी आउने संकटका लागि  भनेर विभिन्‍न राहत कोष स्थापना गरेको छ। उक्त कोषमा रकम जम्मा पनि भइरहेकै छ। लकडाउनले श्रमजीवी मजदुर भोकमरीले सडकमा ज्यान गुमाउदा त्यो कोषको परिचालन गर्न सक्नुपर्ने डा. प्रा.डिल्लीराम दाहाल बताउँछन।

एउटा रोगसँग सुरक्षित रहन अन्य रोग र भोकसँग जुध्नु परिरहेको अवस्था छ। कोरोनासङ सुरक्षित रहन गरिएको लकडाउनले कति गर्भवती महिलाले ज्यान गुमाए? कति भोकमरीले ज्यान गुमाए? कति अन्य सरुवा रोग लागेर ज्यान गुमाए? यसको हिसाब सरकारले गरेकै छैन।

'कोही जनता भोकै मर्नु पर्दैन भन्‍ने अनि लकडाउन गरेर बाहिर श्रमजीवीलाई बाहिर निस्किन नदिने? यो कस्तो योजना हो?', डा.दाहाल भन्छन्, 'सरकारले लकडाउन गरेर गरिबमाथि अक्षम्य अपराध गरेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.