भगाएर लैजान खोज्‍दा घटना

|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जाजरकोटका युवक नवराज विक र रुकुमकी मल्ल थरकी युवतीबीच दुई-तीन वर्षदेखि प्रेम रहेको बताएका छन्।

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक रुकुमको चौरजाहरी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी युवतीबीच तीन वर्षदेखि प्रेम रहेको जानकारी गृहमन्त्री थापाले मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा दिएका हुन्। 

थापाका अनुसार जाजरकोट र रुकुमबाट प्राप्त जानकारी अनुसार दुईजनाबीच प्रेम रहेको थाहा भएपछि यसअघि पनि यो कुरालाई मिलाउने कोशिश भएको थियो। जाजरकोटका दलित युवकले आफ्नी प्रेमिकासँग यसअघि पनि बिहे प्रयास गरेका थिए।

तर पटक पटक प्रयास असफल भएपछि यो पटक उनी प्रेमिकालाई लिनकै लागि आफ्ना गाउँलेसहित रुकुम पुगेको थापाले जानकारी दिए। 

‘जाजरकोटका युवक र रुकुमको सोतीकी युवतीबीच दुई–तीन वर्षदेखि प्रेम थियो, यो घटनालाई यसअघि पनि मिलाउन पनि खोजिएको थियो,’ उनले भने, ‘ केटा पक्षहरु केटीलाई लिन नै गएका थिए। यो पटक लिन आएका १९ मध्ये एकजना बाटैबाट फिरेको कुरा खुलेको छ।’

थापाले प्रेमसम्बन्ध सफल हुन नदिन केटीपक्षका अभिभावक राजी नभएपछि जाजरकोटका युवक साथीहरुसहित प्रेमिकालाई भगाउन पुगेको बताएका छन्। 

‘यो पटक चाहिँ भगाएर ल्याउन नै गएको भन्ने बुझिएको छ’, थापाले भने, ‘यो घटनाको अनुसन्धान भइरहेको छ। पक्राउ परेका कसैलाई पनि हामीले छाडेका छैनौँ। घटनामा संलग्नलाई कारवाही गर्छौँ।’

राष्ट्रियसभाका सदस्यहरुले तल्लो वर्गमाथि हुने अन्यायविरुद्ध कारवाही नहुने गरेको भन्दै मन्त्री थापामाथि आक्रोश पोखेको थिए। 

जाजरकोटबाट गएका युवाहरुलाई रुकुमको सोतीमा गाउँलेले लखेटेर आक्रमण गरेका थिए। त्यसक्रममा भेरी नगरपालिका–४ नवराज विक, चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको लास फेला परेको छ। 

यो प्रक्ररणमा एकजना वडाअध्यक्षसहित १२ जना पक्राउ परेका छन्। तर यो घटनामा नेकपाकै एकजना सांसद अनुसन्धान प्रक्रिया प्रभावित हुने गरी दबाब दिइरहेको विवरण सार्वजनिक भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.