|

यतिबेला प्राय हरेक मानिसको मनमा कसरी बाँच्ने होला? भन्ने एक सूत्रीय तर्कना मात्र छ। धन सम्पत्ति, उद्योगधन्दा, कलकारखाना, बन्द व्यापार,बैंक ब्‍यालेन्स, बंगला,घर परिवार यतिबेला यी सबै दोस्रो स्थानमा छन्। मानिसको मनमा फगत बाँच्न  पाए हुन्थ्यो भन्‍ने एक मात्र जिजिवीषा बाँकी रहेको छ।

जीवनमा यस्तो स्थिति आउला भनेर सायद कोही कसैले कल्पनासमेत गरेको थिएन होला? कहिले काही यस्तै कल्पना नगरेको परिस्थिति पनि आउँदो रहेछ। जो अहिले आइरहेको छ। यो अवस्था मानिसले चाहेर वा रोजेर आएको होइन। त्यसैले कोही कसैलाई गाली गरेर समाधान हुने पनि होइन। कोभिड १९ बारे स्वयं विश्व स्वास्थ्य संगठनसमेत बारम्बार अलमलिएको छ। विश्वका ठूला ठूला वैज्ञानिकसमेत अलमलमा परेको यो वेलामा कोही कसैलाई दोष दिनु छैन।

सामान्य अवस्थामा रहेका कतिपयलाई आफ्नै घरको कोठालाई आइसोलेसन रुम बनाएर डाक्टरको सल्लाहअनुसार बस्ने सल्लाह दिइयो। अस्पताल लानुपर्ने अवस्था आएमा खबर गर्न भनियो। उनीहरूले त्यसै गरे। धेरैभन्दा धेरै बिरामी अस्पताल नगई सन्चो भएर काममा फर्किए। नेपालमा पनि यो तरिका अपनाउनु उपयुक्त हुन सक्छ।

अहिलेसम्म कोभिड १९ भाइरसबारे कोही पनि विज्ञ देखिएका छैनन्। सबैका आ-आफ्ना अनुभव र भोगाइको आधारमा यसो गरौं र उसो गरौं भन्‍ने गरिएको छ। त्यसैले अहिले मानिसै पिच्छेका कोरोना भाइरसका अनुभवहरू बाहिर आएका छन्।

थरिथरिको अनुभवले थरि थरिको जिज्ञासा छोडनु स्वाभाविकै हो। यी विभिन्‍न जिज्ञासाहरुको सारांश अर्थात समग्ररूप हामीबीच आउन केही समय लाग्नेछ।

त्यतिन्जेल सम्ममा मलाई लाग्छ कोभिड १९ले धेरैलाई लिएर गइसकेको हुनेछ। यसो भनेर अलमलमा परिरहनु पनि मानिसको स्वभावले मान्दैन र दिँदैन पनि। विश्वका धेरैभन्दा धेरै मानिसले एउटा न एउटा उपायको खोजी गरिरहेका छन्। विश्वका धेरै भन्दा धेरै मानिसहरु कसरी बाँच्न सकिएला भनेर सोची रहेका  छन्। हामी नेपालीहरु पनि त्यही खोजीमा  छौं।

विश्वभर फैलिएको कोरोना भाईरस, युरोप अमेरिकामा कम हुँदै गरेको समयमा नेपालमा प्रवेश गरेको छ। दुई महिनादेखि लकडाउनमा फसेका नेपालीहरू अहिलको अवस्थामा आत्तिनु स्वाभाविक हो। किनभने संसारभरको खबर सबैलाई थाहा छ। विकसित र सम्पन्‍न भनिएका राष्टहरू समेत हार खाएको बेलामा नेपालले हार नखाने भन्‍ने कुरो हुँदैन।

नेपालीहरूको खानपान आचरण र श्रम गर्ने स्वाभावले गर्दा पश्चिमाहरूको भन्दा कम प्रभावित हुनु स्वाभाविक हो। अहिले जे जति भाइरसका बिरामीहरू देखिएका छन् ती सबै सामान्य खालका छन्। सामान्य छन् भन्दाभन्दै पनि तीनजनाको ज्यान गइसकेको छ। अरूहरूलाई केही हुँदैन भन्‍न सकिन्‍न त्यसैले सजकता र सतर्कता भने अपनाउनै पर्दछ।

विश्वका धेरै देशले आफ्नो सिमाना सिल गरेका छन्। तर, हामीले सिमाना सिल गर्ने भनेर पनि सकेका छैनौँ। एक किसिमले हामी बोर्डर लेस छौँ। जसका कारण रोजगारी गुमाएका लाखौँ नेपाली घर फर्किरहेका छन्। उनीहरू आफ्नो घर फर्कनुलाई अन्यथा लिनु पनि हुँदैन। उनीहरु पनि बाँच्ने आधार खोज्दै आएका हुन्। उनीहरूलाई व्यवस्थित किसिमले घरगाउँ पुर्‍याइदिनु राज्यको कर्तव्य पनि हो। खुला सीमाबाट हुरहुरती आए भनेर सुरक्षाकर्मी लगाएर रोक्नु राज्यको धर्म होइन।

हाम्रो ठूलो जनशक्ति वैदेशिक रोजगारीमा छ। अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणले ओगटेको छ। यो कुरा अर्थतन्त्रमा चासो राख्ने सबैलाई थाहा भएको कुरा हो। राष्ट्रिय अर्थतन्त्रमा  महत्वपूर्ण भूमिका खेलेको वर्गलाई उपेक्षा गर्न मिल्दैन र गर्नु पनि हुँदैन। त्यसका लागि विशेष कार्यक्रम बनाएर उनीहरूलाई स्वागत गर्नु पर्दछ। तर, यस कार्यको लागि विधि विधान बनाउनैपर्छ। नागरिकहरूले दुःख नपाउने खालको नीति बनाएर उनीहरूको देश भक्तिलाई रक्षा गर्नु पर्दछ।

महामारी देशभक्ति

महामारी कुनै एउटा देशको मात्र होइन। छिमेकी देशमा पनि यो समस्या छ। सरकार सरकारबीच सम्वाद भइरहनुपर्छ। जुनसुकै देशको नागरिक भए पनि यो संकटको घडीमा दु:ख दिने र देश निकाला गर्ने कुनै पनि राज्यको राज्य धर्म होइन। बिर्सेका राज्यहरूलाई यो कुरा सम्‍झाउनुपर्छ। लकडाउन घोषणा भएका देशहरूबाट जनतालाई रातारात सिमानामा ल्याएर छोडनु ठूलो अपराध हो। यस्ता देशहरू उपर संयुक्त राष्‍ट्रसंघ तथा विश्व स्वास्थ्य संगठनमा उजुरी पनि  दिनुपर्छ। यो कुरा सार्वजनिक गरेर विश्वभरका जनतालाई थाहा दिनु पर्दछ।

यो भयो अरू देशहरू सगंको कुरा। विदेशवाट आएर सिमानामा परेकाहरूलाई के गर्ने भन्ने प्रश्नमा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरू प्रष्ट हुनुपर्‍यो। आफूखुसी नीतिनियम बनाएर चल्न सक्ने आत्मनिर्भर तहहरु हाम्रा छैनन। यसकारण मिलेरै समस्यासंग लड्नुको विकल्प छैन।

आफ्नो देश सम्‍झेर आएकाहरूलाई  सर्वप्रथम स्थानीय सरकारलाई जिम्मा दिएर घरघरमा पुर्‍याउनुपर्छ। यस्तो कामको जिम्मा संघीय तथा प्रदेश सरकारहरूले गरौँ। स्थानीय सरकारले वडा हुँदै टोल विकास समितिको जिम्मा लगाएर घर हुनेलाई घरमा र नहुनेलाई स्थानीय क्वाराइन्टाइनमा राखेर परीक्षण गराऊँ। यस कार्यको लागि सरकारका सम्पूर्ण अंगहरुलाई परिचालन गरौँ।

सुनिन्छ केही स्थानीय तहले  गाउँ पस्‍नै दिँदैनौ भनि बार हालेर बसेका छन् रे। कोरोनाबाट मृत्युवरण गरेकाले घाटसमेत  नपाउने भयो रे यदी यस्तो गरिएको हो भने , यो महाअपराध हो। यो दण्डनीय छ भनी स्थानीयहरूलाई  स्थानीय नेता तथा अगुवाहरूले सम्‍झाउने बुझाउने काम गरौँ।

संघीय सरकारले पनि मानिसमा भएका भ्रमहरूलाई चिर्ने सूचनाहरू सञ्‍चार माध्यमहरूबाट बारम्बार सप्रेषण गरौँ। सञ्‍चार जगतमा कार्यरत हामीहरूले पनि भ्रमपूर्ण कुरालाई स्थान नदिऊँ र त्यस प्रकारका सामग्रीहरू बिर्सेर पनि  उत्पादन नगरौँ। किनभने अहिले ठट्टा गर्ने  समय होइन।

विश्वमा कोरोना भाइरसको सफर रोकिएको छैन। अमेरिका र युरोपमा केही कमी आएको छ। ती देशहरूमा धेरै नेपाली स्वास्थ्यकर्मीहरू कार्यरत छन्। उनीहरूमा भएको अनुभवलाई स्वदेशको लागि बाँड्न सरकारले अनुरोध पनि गर्नु पर्दछ। मातृभूमिको लागि केही समय माग्नु पनि पर्छ। उनीहरूले पनि देशको लागि नि:शर्त योगदान गर्न तयार हुनुपर्छ। मातृभूमिको भारा तिर्ने यो सुनौलो अवसर पनि हो भन्‍ने ठानेर देशमा फर्कनु पनि पर्छ फर्काउनु पनि पर्छ।

बिरामी देशका अनुभव

अमेरिकाका अनुभवीहरूले भनेका छन्। सबै कोरोना भाइरस पोजेटिभ देखिएकाहरु बिरामी  हुँदैनन्। उनीहरू आफ्नो दैनिक मज्जाले गरिरहेका हुन्छन्। बरु पोजेटिभ देखिएपछि बिरामी पर्छन्। त्यतिवेला उनीहरूलाई ढाढस दिने व्यक्ति आवश्यक पर्छ। यो पनि सबैमा लागू हुँदैन। कोही कोहीले त केही जस्तो नि ठान्दैनन् र ठिक पनि हुन्छन्। यसकारण परीक्षणपछि पोजेटिभ देखिएकाहरूलाई अमेरिकाले सबैलाई अस्पताल भर्ना लिएन।

सामान्य अवस्थामा रहेका कतिपयलाई आफ्नै घरको कोठालाई आइसोलेसन रुम बनाएर डाक्टरको सल्लाहअनुसार बस्ने सल्लाह दिइयो। अस्पताल लानुपर्ने अवस्था आएमा खबर गर्न भनियो। उनीहरूले त्यसै गरे। धेरैभन्दा धेरै बिरामी अस्पताल नगई सञ्‍चो भएर काममा फर्किए। नेपालमा पनि यो तरिका अपनाउनु उपयुक्त हुन सक्छ।

भाइरस पोजेटिभ देखिएका बिरामीहरूको अवस्था हेरेर सामान्य छन् भने उनीहरूलाई घरमै पठाएर परिवारको जिम्मामा  आइसोलेसनामा राख्‍ने। उनीहरूको परिवारलाई गाइडलाइनसहित स्थानीय वासिन्दा डाक्टर र सुरक्षाकर्मीको निगरानीमा उपचार गराउने। बीचबीचमा परीक्षण गरेर हेर्ने। त्यति गर्दागर्दै पनि बिरामीलाई समस्या भएमा डाक्टर र सुरक्षा निकायमा खबर गर्ने। सुरुमै समस्या नभएकालाई सोझै अस्पताल लैजाने व्यवस्था गर्दा उपचारमा सहजता आउन सक्तछ।

सबै खाले बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्छुभन्दा भोलि संख्या अनपेक्षित किसिमले बढ्यो भने कसलाई भर्ना गर्ने र कसलाई नगर्ने भन्‍ने प्रश्न उठ्न सक्छ। त्यति वेला फेरि आफ्नो र अर्को भन्‍ने अनावश्यक रेखा कोरिन सक्तछ। हाम्रो जस्तो सामान्य स्वास्थ्य सेवा भएको देशले त्यतिबेला कुनै उत्तर दिन सक्ने  छैन।

भोलि पक्षपात भयो भनेर सडकमा नारा नलगाउँदै अहिलेको स्वास्थ्य नीतिमा परिवर्तन ल्याउनु जरुरी छ। अमेरिका, बेलायत,फ्रान्स, जर्मनी जस्ता अति सम्पन्‍न राष्ट्रहरूले पनि यस्तै नीति अवलम्बन गरिहेको कुरा ती देशमा उपचार गरेर निको भएकाहरूले विभिन्‍न सञ्‍चार माध्यमबाट व्यक्त गरिरहेका छन्। हाम्रो जस्तो मुलुकले अप्ठेरो नमानी यो तरिका अपनाउँदा राम्रो हुन्छ। 

मनोविज्ञान र उपचार

कोरोना भाइरस पोजेटिभ देखिनासाथ मानिस हतास हुन्छन्। साच्चै भन्‍ने हो भने उसले आफूलाई आधा मरिसके भन्‍ने ठानेको हुन्छ। यो कोरोनाको कहरबाट बाँचेर आएका मनिसहरूको अनुभव हो। यसबाट थाहा हुन्छ पोजेटिभ देखिनासाथ उसमा कति पीडा हुन्छ भन्‍ने कुरा।

यसकारण सकेसम्म सामान्य किसिमका बिरामीहरूलाई परिवारिक वातावरणमै राखेर  उपचार गर्न सकियो भने परिवार र राष्ट्र दुवैलाई बोझ कम हुन्छ र बिरामीमा आत्मबलको विकास हुन्छ। जसले कोरोनालाई पराजित गर्न सहज हुन्छ यो पनि कोराबाट बाँचेर फर्केकाहरूको भनाइ हो।  यस्ता उदाहरणहरू लाखौँ छन्। हामीले अरूको अनुभवबाट केही सिक्नुपर्छ र राम्रा र सकारात्मक कुराहरू ग्रहण गर्नु पर्दछ।

कोरोनाका बिरामीलाई छुनु हुँदैन भन्‍ने छ। तर, पनि केही दूरीमा बसेर कुरा गर्न भने हुन्छ। माया र सद्भाव प्रकट गर्न मिल्छ। परिवारले खाएको खाना र म परिवारसँगै छु भन्‍ने आधारले मात्र पनि उसमा बाँच्छु भन्‍ने भाव आउँछ। त्यसले पनि कोरोनालाई जित्न सघाउँछ।
 

कोरोना भाइरसको औषधी भरखर बनेको छ तर पनि यो औषधीले भाइरसलाई कमजोर  गराउने अरूमा सर्न नदिने भनिए पनि उक्त औषधी बजारमा आइपुग्‍न केही महिना कुर्नुपर्छ। भ्याक्सिन त झन् हामी काहा आइपुग्‍न करिब दुई वर्ष लाग्‍न सक्तछ। त्यतिवेलासम्‍म हाम्रो अवस्था कस्तो होला?

त्यसबारे अहिले नै आँकलन गर्नु पर्दछ। नेपालीको प्रतिरोधी क्षमताले बाहेक  अहिलेको व्यवस्थापनले कोरोनालाई पराजित गर्न सकिँदैन। अहिलेका असुरक्षित कोरान्टाइनभन्दा उनीहरूको आफ्नै घरको क्वारेन्टाइन धेरै सुरक्षित र भरपर्दो हुन सक्तछ। किनभने मृत्युदेखि घरपरिवारका सदस्य सबैभन्दा बढी  डराउछन्।

लकडाउन र भविष्यको पीर

अहिले लकडाउन गरेर जनतालाई राखिएको छ। यो दीर्घकालीन समाधान होइन। अव्यवस्थित सीमा भएको मुलुकले  लकडाउन गरेर  सफलता हासिल गर्न सक्तैन भन्‍ने कुराको उदाहरण यही छ। जति प्रयास गरे पनि सीमामा नेपाली आउन छोडदैनन्। दिनहुँ हुलका हुल आउने मानिसलाई कसरी व्यवस्थापन गर्ने? हिजो सुनसान रहेका गाउँहरू अहिले भरिपूर्ण हुनेक्रममा छन्।

यो स्थिति कति महिना वा वर्षसम्म कायम राख्‍न सकिन्छ? यसबारे अहिले नै सोच्‍नुपर्छ। खेतीपाती, उद्योग,कलकारखानालगायत उत्पादनमुखी व्यवसायलाई ठप्प पारेर राख्दा भोलि कुन स्थिति आउला त्यसबारे अहिले नै आँकलन गर्नुपर्दछ। अप्रत्यासित आएको समस्या भएकोले यसको बारेमा पूर्व योजना थिएन। योजना विनाको काममा असफलता हात लाग्‍नु स्वाभाविक हो। तर, पनि निराश हुनुपर्ने अवस्था छैन। आजबाटै सोचौँ र नयाँ योजना बनाएर अगाडि बढौँ। 

…. अन्तिममा नमरी बाँचे

 यो बेला एकले अर्कोलाई सहयोग गर्ने र जानेको उपाय  बताउने हो। एकले अर्कोलाई सत्तोसराप गरेर बस्‍ने कुनै पनि मानिसको धर्म होइन। कोही कसैले अन्जानमा गाली गरेको रहेछ भने पनि त्यासलाई माया गरेर सम्‍झाउने बुझाउने हो। गाली गरेर कुनै पनि समस्याको समाधान हुँदैन। देशका सबै नागरिक विना बर्दीका सिपाही भएर लड्यौ भने मात्र अहिलेको माहामारी जित्‍न सकिएला। महामारिबाट नमरी बाँचिएछ भने सबै कुराको हिसाब किताब गरौँला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.