राति घरमा बसेर दिउँसो क्‍वारेन्टाइनमा बस्‍नेले झन् जोखिम

|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विदेशबाट आएका नागरिकको व्यवस्थापनमा चुनौती भएको बताएका छन्। 

प्रदेशले कोरोनाका सामाना जसरी पनि गर्नुपर्ने अवस्था आएको भन्दै उनले अब तेस्रो मुलुकमा रहेका कर्णालीबासी पनि फर्कन्छन् भनेर तयारी गर्नु बेला आएको बताए। 

प्रदेश सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु गरिरहेको भन्दै मुख्यमन्त्री शाहीले व्यवस्थापनमा समस्या रहेको स्वीकार गरेका छन्।

विदेशबाट अव्यवस्थित रुपमा नागरिकहरु भित्रिँदा व्यवस्थापनमा चुनौती भएको उनको भनाई छ। विदेशबाट आएका सबैलाई प्रदेश राजधानी सुर्खेतमा व्यवस्थापन गर्न नसकिने अवस्था भएपछि जिल्ला जिल्लामा क्वारेन्टाइनमा राख्ने प्रदेश सरकारले निर्णय गरे पनि कार्यन्वयन फितलो भएको शाहीको भनाई छ। सर्वसाधारणले क्वारेन्टाइनमा नै बस्न नमानेकोले व्यवस्थापनमा समस्या भएको बताए।

आमनागरिकलाई क्वारेन्टाइनमा राख्न नसकिएको शाहीको भनाई छ। ‘कतिपयले हामीले के अपराधा गरेका छौंं र क्वारेन्टाइनमा बस्ने भन्दै क्वारेन्टाइनमा बस्न नमानेको, कतिपयले राति घर जाने र दिउँसो क्वारेन्टाइनमा बस्ने अवस्था पनि देखियो,’ उनले भने, तीनै तहका सरकारका साथै जनताको संयुक्त प्रयासबाट मात्रै कोरोनालाई पराजित गर्न सकिन्छ।’

प्रदेश सरकारले कोरोनाको रोकथामका लागि आफूले गर्ने तयारी गरेको शाहीले बताए। सबै स्थानीय तहमा क्वारेन्टाइन, आईसोलेशन अस्पताल, कोरोजना परिक्षणमा तीव्रता लगायताका काम गरेको उनको भनाई छ। 

विदेशबाट आएकाहरुको परीक्षण र उनीहरुलाई सुरक्षित क्वारेन्टाइनमा राख्न सके कोरोनाबाट बच्न सकिने उनले बताए। रोगका साथै भोकविरुद्ध पनि लड्नुपर्ने आवस्था आउने भन्दै मुख्यमन्त्री शाहीले उत्पादनमा जोड दिए। 

चौरजहारी घटनाको निन्दा

रुकुम पश्चिमको चौरजहारीमा जातीय छुवाछुतका कारण सामूहिक हत्या गरिएको भन्दै कर्णाली प्रदेश सभाका दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले निन्दा गरेका छन्। 

जघन्य अमानवीय घटना भएको भन्दै विरोध गरेका हुन्। ढ्यापढ्यापे समयमा बोल्दै सत्तारुढ नेकपाका सांसद सीता नेपालीले कर्णाली प्रदेश सरकारले किन ध्याान नदिएको भन्दै प्रश्न गरिन्।

‘जघन्य अपराध हुदा सामान्य ठाँउमा प्रदेशका मन्त्रीहरु जाने गरे पनि चौरजहारीमा ठूलो जघन्य अपराध हुँदा पनि कुनै पनि मन्त्री घटनास्थलमा किन गएका छैनन्’, उनले भनिन्, ‘सत्यतथ्य छानविन गर्न र कडा भन्दाकडा कार्वाही गर्न माग गर्दछु।’ 

त्यस्तै सत्तारुढ दलकै प्रदेशसभा सदस्य दानसिंह परियारले प्रदेश सरकारले यो घटनालाई कसरी लिइरहेको छ? भन्दै प्रश्न गरेका थिए। उनले प्रदेश सरकारले के गर्दैछ र कस्तो कारवाही  गर्ने तयारी छ भन्दै स्पष्ट जवाफ माग गरेका थिए। 

सोमबारको प्रदेश सभाको बैठकमा पनि प्रदेश सभा सदस्यहरुले घटनाको निन्दा गर्दै छानविन तथा कार्वाहीको माग गरेका थिए। त्यसपछि प्रदेश सरकारका नाममा सभामूखले रुलिङ्ग गरेका थिए। 

मुख्यमन्त्री शाहीले चौरजहारी घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले  प्रदेशसभालाई सम्बोधन गर्दै प्रदेश सरकारले सत्यतथ्य छानबिन र दोषीलाई कडा कार्वाहीका लागि निर्देशन दिइसकेको बताए।

‘प्रदेश सरकार चौरजहारीमा घटेको घटना प्रति गहिरो दुःख व्यक्त गर्दछ,दोषीलाई कडा कार्वाहीका लागि प्रदेश सरकारकोतर्फबाट दिर्नेशन दिइसकिएको छ,’ शाहीले भने। 

अहिलेको समयमा पनि जातिय विभेदका गम्भिर र जघन्य घटना घट्नु लज्जास्पद भएको भन्दै मुख्यमन्त्री शाहीले पीडितलाई उचित राहातको व्यवस्था गरिने बताए। 
केन्द्र सरकारले छानबिन समिति समेत गठन गरिसकेको भन्दै शाहीले प्रदेश सरकारकातर्फबाट दोषीलाई कारवाही गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धता गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.