देउवाले भने : सहमत छौं तर एक पटक छलफल गर्छौं

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सीमा समश्यालाई लिएर बसेको सर्वदलीय बैठक लगभग सहमतिमा टुङ्गिएको छ ।  मंगलबार साँझ ५ बजेदेखि बसेको सर्वदलीय बैठक राति आठ बजे सकिएको हो। बैठकमा सहभागी सबैको सहमति भए पनि नेपाली कांग्रेसले संविधान संसोधनका बिषयमा आफ्नो दलको बैठक बसेर निस्कर्षमा पुग्ने बताएको छ।

उक्त सर्वदलीय बैठकको प्रमुख एजेण्डा संविधान संशोधन थियो। भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेपछि संविधान संशोधनलाई लिएर सर्वदलीय बैठक बसेको हो।

सरकारले जारी गरेको नक्सालाई वैधानिकता दिन संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सर्वदलीय बैठक बसेको हो। उक्त बैठकमा संविधान संशोधनसम्बन्धी एक बुँदे एजेण्डामा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 

‘संविधान संशोधन विधेयकमा राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्नु भएको हो। राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा विगतदेखि नै दलहरु एकतावद्ध हुने गरेका छन्’, ज्ञवालीले भने, ‘यो पटक पनि सबै राजनीतिक दललाई एकतावद्ध भएर उभिन प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ।’

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संविधानमा विभिन्न राजनीतिक दलका आफ्ना फरक मत रहेको उल्लेख गर्दै अहिलेलाई ती कुरालाई भुल्न आग्रह गरेका थिए। 
‘विभिन्न दलका संशोधन गर्ने प्रस्ताव पनि होलान्। संविधान असंशोधनीय दस्तावेज होइन’, उनले बैठकमा भनेका थिए, ‘आवश्यकता अनुसार भोलिका दिनमा संशोधन गर्न सकिन्छ। तर अहिलेलाई भारतले हडपेको भूमि समेटेर जारी गरिएको नक्सालाई आधिकारिकता दिने कुरामा सबै दल सहमत बनौँ।’

बैठकमा प्रधानमन्त्रीले अहिलेलाई यो मात्रै एउटा एजेण्डा संविधान संशोधनमा राख्नुपर्ने बताएका थिए। ‘अहिलेलाई अन्य विषय समावेश नगरौँ’, ओलीको भनाइ उधृत गर्दै ज्ञवालीले भने, ‘संविधान असंशोधनीय दस्तावेज होइन। विस्तारी दलहरुका आवाज पनि समावेद गर्दै जाउँला।’

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ नक्साबारे कांग्रेस सहमत भए पनि एक पटक केन्द्रीय कमिटीको बैठकबाट छलफल गर्न समय मागेका थिए। ‘हामी यो एजेण्डामा सहमत छौँ। तर एक पटक केन्द्रीय कमिटीमा छलफल गर्छौँ। हामी नक्साकै पक्षमा भोट हाल्छौँ, तर एक पटक छलफल गर्छौँ।’

देउवाले समय मागेपछि ओलीले सकेसम्म चाँडो बैठक बसेर टुंग्याउन आग्रह गरेका थिए। उनले चाँडो नक्सालाई आधिकारिकता दिनुपर्ने भएकाले यो संवेदनशीलतालाई बुझिदिन आग्रह गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.