वार्ता समितिले बुझायो प्रतिवेदन

|
फोटोः दीपक केसी/थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र नेपालबीच एकीकरण हुने भएको छ। पार्टी एकीकरणका लागि गठित संयुक्त वार्ता समितिले एकताका लागि सैद्धान्तिक अवधारणासहितको प्रतिवेदन सोमबार दुवै पार्टीका अध्यक्षलाई बुझाएको छ।

राप्रपा नेपालका तर्फबाट वार्ता टोलीका संयोजक राजीव पराजुलीले राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई र राप्रपाका तर्फबाट वार्ता टोलीका संयोजक बुद्धिमान तामाङले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई अवधारणपत्र हस्तान्तरण गरे। वार्ता टोलीको प्रतिवेदन दुवै पार्टीले केन्द्रीय समितिमा प्रस्तुत गरेर साउनको दोस्रो सातासम्ममा एकता गरिने नेताहरुले बताएका छन्।

कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले दुई पार्टीबीचको एकता 'ठूलो जिम्मेवारी पूरा गर्ने अवसर' भएको बताए। 'समान विचाधाराका समूह भएकाले सानातिना कुरालाई बिर्सेर भएपनि एकठाउँमा आउनु आजको आवश्यकता हो। प्रतिवेदन अध्ययन छलफल गरी केन्द्रीय समितिमा प्रस्तुत गरिनेछ। त्यसपछि पार्टी एकीकरणमा जाने निर्णय केन्द्रीय समितिले गर्नेछ', चन्दले भने।

उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको परिस्थितिलाई मध्यनजर गरेर एकताको प्रयास भएको बताउँदै समान विचारधारा राख्ने अरु पार्टीलाई पनि एकीकरणका लागि आह्वान गरे।

'वार्ता टोलीले महत्वपूर्ण कार्य सम्पन्न गरेको छ। यो वर्तमान समयको आवश्यकता, लाखौ कार्यकर्ताको चाहना र नेपाली जनताको आकांक्षा पनि हो', अध्यक्ष थापाले भने, 'यो अवधारणापत्रलाई केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेर एकीकरणबारे निर्णय गर्नेछौँ।' अवधारणासहितको प्रतिवेदन तयार भैसकेपछि अब पार्टी एकीकरणका लागि बिलम्व गर्न नहुने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.