भारतको बाली सखाप, किसानलाई तनाव

|

काठमाडौं :  विश्‍वभर कोरोना भाइरसका कारण आर्थिक र सामाजिक गतिविधि ठप्प भएको छ। यसको असर सम्पूर्ण पृथ्वी जगत र मानव जीवनमा पर्ने देखिएको छ। यसले विभिन्‍न संकट पैदा गर्ने सम्भावना बढ्दै गएको छ।

यही संकटको बेला अफ्रिकाको केन्याबाट सुरु भएको सलह किरा पाकिस्तान हुँदै भारतसम्म आइपुगेको छ। अहिले यो सहलको समूह भारतको मध्यप्रदेशमा घुमिरहेको छ। जहाँ कयौँ बस्तीका बाली सलहले सखाप पारिरहेको छ। मध्यप्रेदशमा घुमिरहेको सलहको समूह सजिलै नेपालमा आइपुग्ने अनुमान गरिएकोछ।

अमेरिकी फौजी किराबाट हैरान नेपाली कृषकमाथि सलह आउने खबर खतराको अर्को ढ्यांग्रो बजाइरहेको छ। सलह अमेरिकी फौजी किरा भन्दा कयौँ गुणा घातक मानिन्छ। लाखौंको समूहमा आउने यो फट्याङ्‍ग्रो प्रजातिको सलहले केही मिनेटमै कयौँ हेक्टरको बालीको डाँठसहित सखाप पार्ने क्षमता राख्छ। सलहको सम्भावित संकटबाट कृषकलाई जोगाउन सरकारले एउटा प्राविधिक समिति पनि बनाइसकेको छ।

एक प्रकारको किरा सलह  छिमेकी देश भारतमा आइसकेको छ। पाकिस्तानमा ठूलो मात्रामा बालीनाली नष्ट गरेर यसको समूह भारतमा प्रवेश गरिसकेको छ। पाकिस्तानमा हजारौं हेक्टरको  बाली सखाप पारेपछि त्यहाँको सरकारले ‘राष्ट्रिय संकट’ नै घोषणा गरेको थियो।

पाकिस्तान हुँदै यो भारतको जयपुरबाट मध्यप्रदेश आइपुगेको छ। जयपुरका बासिन्दाले सलहको हुल आकाशमा उडेको, बालीनाली नष्ट बनाएको भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट् गरेका छन्। अहिले यसले मध्यप्रदेशमा विध्वंश मच्चाइरहेको छ। 

पाकिस्तानबाट आएका सलहले भारतका राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका क्षेत्रहरूमा ठूलो संख्यामा बाली सखाप पारेका छन्। यो विशेषगरी गर्मी ठाउँमा फैलन सक्ने भएकोले नेपालको तराई क्षेत्र उच्च जोखिममा रहेको छ। मरुभूमिको वातावरण र उच्च तापक्रममा मात्रै यो रहन सक्छ।

सलह कस्तो किरा हो?

सलह विश्‍वकै खतरनाक कीरामा गनिन्छ। यो हेर्दा फट्याड़ग्रो जस्तै भए पनि थोरै ठूलो र यसको पछाडिको खुट्टा लामो हुने गर्दछ। यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ। यो कीराले समूहमा आक्रमण गर्छ। एक्लै भने हिँड्न सक्दैन। हावाको गतिमा यिनीहरु उड्ने गर्छन्। कीराहरुले सेरोटोनिन नामक हार्मोन आ-आफ्नो मस्तिष्कमा उत्पादन गर्छन्।

यिनीहरुले समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामूहिक काम गर्छन्। अरु कीराहरुले निश्‍चित समूहको बाली मात्रै खाने गर्दछन् भने यसले जुनसुकै जातको बाली र अझै रुख नै खाने गर्दछ।

सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोडजति सलह हुन्छन्। चिसो ठाउँमा रहनै सक्दैनन्। सलह २ हजार फिटमाथि जान सक्दैन। यी झुण्डले प्रत्येक दिन १० माइलको यात्रा तय गर्ने गर्दछन्।

ठाँउ र समयसँगै यी कीराले आफ्नो रंग र रुप पनि परिवर्तन गरेको पाइन्छ। प्रारम्भिक चरणदेखि बयस्यक अवस्थासम्म यसले असर गरिरहन्छ। नेपालका लागि यो किरा नयाँ होइन। सन् १९६२ मा पनि यसको चर्चा भइसकेको थियो। सलह भारतको राजस्थानमा २० वर्षअगाडि पहिलोपटक आउँदा पनि नेपालमा व्यापक असर गर्न सक्ने हल्ला चलेको विज्ञहरु बताउँछन्।

‘हावा आए सलह  नेपाल छिर्छ’

जलवायु परिवतर्नको असरले यस किरालाई असर गरेकोले अफ्रिकादेखि दक्षिण एशियाली राष्ट्रमा आइपुगेको कृषि किट विज्ञ डा. समुन्द्रलाल जोशी बताउँछन्। अफ्रिकाको गर्मी वातावरणबाट हुर्केर आएको हुनाले यसलाई सधैँ गर्मी मौसम जरुरी हुने गरेकोले उनले बताए। 'त्यहीकारण नेपालको तराई क्षेत्र उच्च जोखिममा रहेको छ', उनले भने, 'त्यस क्षेत्रमा तापक्रम बढी हुने भएकोले त्यहाँ उनीहरुका लागि उपयुक्त मौसम छ।'

बालुवा बढी भएको ठाउँमा यसको बसोबास हुने गरेको जोशीले बताए। ‘भारतको उतर प्रदेशसम्म आइपुगेको छ,’ उनले भने,’त्यहाँसम्म आएकोले नेपाल आउन सक्ने धेरै सम्भावना छ। यो जुनसुकै समयमा नेपाल प्रवेश गर्न सक्छ। १ घण्टामा ३ किलिमोटिर उडान भर्न सक्छ। उतर प्रदेश र पश्चिम नेपालको सीमा पनि नजिक छ।‘

पश्चिम नेपालमा सबैभन्दा बढी असर गर्न सक्ने उनको दाबी छ। सलहको नेपालम प्रवेश भएको खण्डमा हरियो बोटबिरुवालाई सखापै पार्न सक्ने उनी बताउँछन्। तत्कालै यसलाई रोकथामको लागि केही गर्न नसकिने उनले बताए। मालाथिन नामको किटनाशक औषधि बालीमा छर्कन उनले सुझाव दिए। नेपालमा सलहविरुद्ध तीन प्रकारको हानीकारक औषधि मात्रै पाइने उनले जानकारी दिए।

फटयांग्रा जस्तो रुप भएको यो किराले ठाउँ अनुसार स्वरुप परिवर्तन गरिरहन सक्ने क्षमता राख्छ। त्यहीकारण बढी असर गर्न सक्ने त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्र विभागका सहप्राध्यापक प्रेमबहादुर बुढाले बताए। उनका अनुसार सलहको समूहले अण्डाबाट निस्केपछि हरिया बोटबिरुवाका पातहरु सबै खाँदै जान्छ। देखेको र भेटेको जति सबै नष्ट गर्छ।

‘मानव जीवनलाई भन्दा पनि यसले देखेको सबै वनस्पतिलाई सखाप पार्छ, करोडौको संख्यामा हिँड्ने गर्छ,’ उनले भने,'हरियो वस्तु केही पनि देख्‍न हुँदैन। सबै खाएर सक्छ। २० डिग्रीमुनिको तापक्रममा बाँच्‍न सक्दैन। यसका लागि भनेको ४० डिग्री सबैभन्दा उत्तम हो। त्यसैले नेपालको तराई क्षेत्र सबैभन्दा बढी जोखिममा छ।

एक महिनामा यस किराले पाँच चरणमा प्रवेश गरेर असर गर्ने उनले जानकारी दिए। हावाको गतिमा मात्रै यो हिँडन सक्ने उनले बताए। नेपाल प्रवेश गर्ने नगर्नेमा हावामा भर पर्ने उनको भनाइ छ।

अन्य स्थानको तुलनामा काठमाडौं चिसो भएको हुनाले यस क्षेत्रमा प्रवेश गर्ने सम्भावना कम छ। अफ्रिका देखि भारतसम्म आउँदा किराको कति संख्या कति बढेको छ त्यसका आधारमा पनि नेपाल प्रवेशको कुरा भर पर्न बुढाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.