|
फाइल फोटो

  • पूर्णप्रसाद मिश्र-

काठमाडौं  : बागमती सफाइ महाअभियान सुरु भएको १९६ औं हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ। 

दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले शनिबारदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता उमेश बोहराले बताए।

“गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौं महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र टेकु पुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतार्न सरकारसँग स्वीकृति लिइएको छ”–उनले भने।

ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बुझाइने भएको छ। ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आउन चार दिन लाग्ने सफाइ महाअभियानले जनाएको छ। 

ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौं आएको छ। प्रत्येक हप्ताको शनिबार झैं आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। 

बागमती सफाइ महाअभियानको १९६ औं हप्तामा शनिबार मीनभवन पुल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको बागमती सफाइका अभियन्ता उमेश बोहराले बताए।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५०० बढी व्यक्तिको सहभागिता थियो। सफाइसँगै एक समूहले घर दैलोमा गई जनचेतामूलक अभियान सञ्चालन गर्ने क्रममा मीनभवन क्षेत्रको सडक किनारमा फोहर फाल्नेबाट रु १५ हजार जरिवानास्वरुप उठाएको छ।

रुद्रमती सफाइ

रुद्रमती सफाइको १५६ औँ हप्तामा शनिबार भत्केको (पहेँलो) पुलदेखि कालो पुलसम्मको क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए।

सफाइमा काठमाडौं महानगरपालिकाका वडा नं ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी लगायतको सहभागिता थियो। सफाइमा समाज, वातावरण संरक्षण अभियान, नेपाल प्रहरी, सामुदायिक प्रहरी, विपद् व्यवस्थापन प्रहरी, नेप्से म्याक प्रालिलगायतको सहभागिता थियो। सो अवसरमा प्रसिद्धि कला समूहले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यो।

विष्णुमती सफाइ

विष्णुमती सफाइको १२८ औँ हप्तामा शनिबार तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। महादेव खोलाको सफाइमा स्थानीयवासी उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताए। स्थानीय वृद्धको समूहले भजनसहितको जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरेका थिए।

नख्खु खोला सफाइको ७१ औँ हप्तामा शनिबार नख्खु पुल वारिपारि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बलुदेव पाण्डेले बताए। यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन्। 

विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो। बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.