|

काठमाडौं : पदस्थापन भएको तीन महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ।

सरकारको सारा शक्ति कोभिड-१९ नियन्त्रणमा होमिएका बेला फ्रन्ट लाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग पटक पटक विवाद भएपछि कोइरालाको सरुवा भएको हो।

कोइरालाको ठाउँमा  लक्ष्मण अर्याललाई खटाइएको छ। कोइरालालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा तानिएको स्रोतले जनाएको छ। अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै आर्थिक तथा पूर्वाधार विकास सचिवको भूमिकामा थिए। 

कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट सरुवा भएर स्वास्थ्यमा गएको तीन महिना पनि बितेको छैन। उनलाई २०७६ फागुन १८ को मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवकारुपमा सरुवा गरेको थियो।

कोभिड-१९ नियन्त्रणमा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीबारेमा रुखो स्वरमा टिप्पणी गरेपछि उनी आलोचित भइरहेका थिए। कोरोना महामारीविरुद्ध उनको भूमिका सन्तोषजनक नदेखिएपछि सरकारले यस्तो कदम चालेको हो। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई मन्त्रालय तान्‍न गरेको निर्णयपछि उत्पन्‍न विवादमा कोइरालाले कडा टिप्पणी गरेका थिए। 

उनले त्यसबेला एउटा करारको डाक्टरलाई मन्त्रालय तान्‍न मात्रै होइन, हटाउन पनि सकिने भन्दै पुनबारे खरो टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.