जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमित प्रहरीको संख्या १३ पुगेको छ। आज सप्तरीमा थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
बोदे बसाइन नगरपालिकाको चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीका डिएसपी तिलक भारतीका अनुसार यसअघि नै सप्तरीका एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
बुधबार सिरहाका एसपी उमाप्रसाद चतुवेर्दीको एक गार्ड र एक चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो। अहिले दुवै जना धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन्। एसपी चतुर्वेदी भने होम आइसोलेसनमा बसेका छन्।
प्रदेश २ को बारामा सबैभन्दा बढी ७ जना प्रहरी कोरोना संक्रमित भेटिएका छन्। धनुषामा पनि दुई प्रहरी कोरोना संक्रमित भएका छन्। प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेपछि प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले सतर्कता अपनाउन अपिल गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।