प्रहरीले जाहेरी लिन मानेन

|

धनकुटा : धनकुटाको हिलेमा रहेको नेपाली सेनाको २ नम्बर बाहिनीमा कार्यरत हवल्दार परशुराम भट्टराईको मृत्युबारे छानबिन गर्न परिवारले माग गरेका छन्। गत सोमबार विराटनगरको विराट मेडिकल कलेजमा भट्टराईको निधन भएको थियो। 

गत जेठ ५ गते भएको घटनामा परिवारलाई जानकारी नदिई उनलाई उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा ल्याइएको थियो। 

परिवारका सदस्यलाई घटना भएको ४८ घण्टापछि मात्र जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाएका हुन्। भट्टराईको टाउको र शरीरमा गहिरो चोट रहेको थियो। सेनाले आफ्नै एम्बुलेन्सबाट उनलाई विराटनगर ल्याएको बताइएको छ। 

घटनाको विषयमा बाहिनीका एक क्याप्टेनले शव नबुझे सेनाबाट प्रप्त हुने सम्पूर्ण सुविधा रोक्का हुने भन्दै धम्क्याएको मृतककी श्रीमती कमला बोगटी भट्टराईले जानकारी दिइन्।

‘घटना शंकास्पद छ, हिले ब्यारेकले यसको सत्यतथ्य जानकारी नदिएसम्म हामी शव बुझदैनौँ,’ उनले भनिन्, ‘यसमा पत्रकार र मानवअधिकारकर्मीले पनि छानबिनको पहल गरिदिनुपर्याे।’

सेनाले भने हवल्दार भट्टराईको सिँढीबाट खसेर गहिरो चोट लागेपछि उनको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ। बाहिनीमा १८ वर्षदेखि कार्यरत भट्टराईको मृत्युको विषयमा छानबिन गरिदिन आग्रह गर्दै बाहिनी पुगेको परिवारजनलाई सैनिकले दुव्र्यवहार गरेको आरोप लगाएका छन्।

बुधबार सत्यतथ्य बुझ्न गएका परिवारलाई सेनाले दुव्र्यवहार गरेको मृतककी श्रीमती कमलाले बताइन्। यता २ नम्बर बाहिनी हिलेका बाहिनीपति यमप्रकाश ढकालले घाइते अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको बताएका छन्। उनले पूर्वीपृतनाबाट विज्ञ टोली आएर छानबिन गरिरहेको र प्रहरीले पनि शवको सरजमिन गरेको बताए। 

यस्तै घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिन पुगेका परिवारजनको उजुरी प्रहरीले लिन नमानेको परिवारजनको भनाइ छ। टाउको र शरिरमा गम्भीर चोट भएको हुँदाहुँदै प्रहरीले जाहेरीमा भवितव्य परेको, लडी मरेको भनेर उजुरी दिएमा उजुरी लिने नत्र नलिने भनेर अमानवीय व्यवहार गरेको कमलाको भनाइ छ। 

यता प्रहरीले भने सैनिक ऐन अन्तरत विषय भएकाले प्रहरीलाई त्यो विषयमा हेर्ने अधिकार नभएको बताएको छ। ‘प्रहरीलाई हेर्ने अधिकार नभए पनि के घटना घट्यो भन्ने आवश्यक अनुसन्धानको माग गरेर उजुरी दिनु भन्ने निवेदन माग गर्न परिवारलाई अनुरोध गरिएकोमा किटानी जाहेरी दिने भन्नुभएको हो’, जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुवकुमार श्रेष्ठले भने, ‘किटानी जाहेरी भए व्यक्ति तोकेर ल्याउनुपर्ने वा कर्तव्य ज्यान भएको भए सबै प्रमाण हुनुपर्ने, त्यो पनि नभएकाले निवेदन सच्याएर ल्याउन भनेका हौँ।’ 

पहिले प्रारम्भिक अनुसन्धान माग गर्न निवेदन आएमा लिने र प्रारम्भिक अनुसन्धानबाट केही खुलेमा मात्र किटानी जाहेरी लिन मिल्ने डिएसपी श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.