७० हजार भन्दा धेरै मूल्यका१४ मोबाइल

|
YouTube

नेपालमा बिक्री हुने यी हुन् महंगा मोवाइल, हेर्नुस् के के छ सुविधा?

2073-10-29

काठमाडौं : सामान्यतया एक अर्काबीच कुराकानी गर्न प्रयोग हुने मोवाइल फोनको उपयोग हिजोआज धेरै काममा उपयोग गरिन्छ। अहिले मोवाइल फोनको प्रयोग इन्टरनेट र क्यामेरा चलाउन पनि उत्तिकै हुन्छ। ग्राहकले आफ्नो आवश्यकता र आर्थिक क्षमता अनुसार सुविधा र फिचर भएका मोवाइल किनेर सुविधा उपयोग गर्न सक्छन्। 

हालै एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोवाइल फोनको बढ्दो विस्तारबारे भनेका थिए '१० वर्ष पहिले मैले घर घरमा इन्टरनेट हातहातमा मोबाइल भन्दा सबैले गिज्याउँथे अहिले मोबाइल नबोक्ने को होला र?' मोवाइल फोनको प्रयोगकर्ता बढेसँगै नेपालमा पनि सस्तादेखि महंगासम्म मोवाइलहरु पाइन्छ। 

बिक्रेताहरुका अनुसार २० देखि २५ प्रतिशत प्रयोगकर्ताले कम्तीमा २ वटा मोबाइल प्रयोग गर्ने गर्छन्। नेपाली बजारमा अहिले १ हजारदेखि १ लाख ४० हजार रुपैयाँसम्मका मोबाइल पाइन्छन्।

मोबाइल बिक्रेताका अनुसार सबैभन्दा बढी १० देखि ३० हजार मूल्यका मोबाइल प्रयोग कर्ताको संख्या धेरै छ। तर महंगा मोबाइल किन्नेको संख्या पनि कम छैन। मोबाइल व्यवसायी संघका अध्यक्ष पूर्षोतम बस्नेत भन्छन् 'धेरै महंगा अर्थात ७० हजार मूल्य माथिका मोबाइल प्रयोगकर्ताको हिस्सा ५ प्रतिशत हाराहारी छ।'

कुन कम्पनीका कुन मोबाइल महंगा

नेपाली बजारमा ५ कम्पनीका १४ वटा मोबाइल ७० हजार रुपैयाँ भन्दा बढी मूल्यका छन्। विश्व बजारमा जस्तै नेपाली बजारमा पनि सबैभन्दा महंगो मोबाइल आइफोन हो। आइफोनले नेपालमा बिक्री गर्ने आठ मोडलका १६ वटा मोबाइलको मूल्य ५० हजार रुपैयाँ भन्दा बढी छ।  

तर नेपाली बजारमा आइफोनको हिस्सा जम्मा १ प्रतिशत रहेको मोबाइल व्यवसायीहरु बताउँछन्। आइफोनका ६ मोडलका १३ वटा मोबाइलको मूल्य ७० हजार रुपैयाँ भन्दा बढी छ। ती यस्ता छन् : 

१.आइफोन सेभन प्लस

आइफोन सेभन प्‍लसका तीन वटा मोबाइल नेपाली बजारमा पाइने सबै भन्दा महंगा मोबाइल हुन्। ५.५ इन्च स्क्रिन भएको १२ मेगापिक्सल रियर क्यामेरा र ७ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा भएको यो मोबाइलको मूल्य १ लाख ३६ हजार रुपैयाँ रहेको छ। यसमा वाइफाइ ब्लुटुथ, थ्रीजी, फोरजी डाटा चलाउन पनि मिल्छ। टच आइडी र फोर्स टच सेन्सर सुविधा भएको, ३ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोर यो मोबाइलमा छ। त्यस्तै गरी इन्टरनल स्टोर क्षमतामा ६४ जीबी र १२८ जीबी रहेको यो मोबाइलको मूल्य क्रमश १ लाख २२ हजार रुपैयाँ र १ लाख ८ हजार रुपैयाँ रहेको छ।

२. आइफोन सेभेन

४.७ इन्च स्क्रिन, १२ मेगा पिक्सल रियर क्यामेरा, ७ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा भएको आइफोन सेभनको बजार मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहको छ। यसमा पनि वाइफाइ ब्लुटुथ, थ्रीजी र फोरजी डाटा चलाउन मिल्ने, टच आइडी र फोर्स टच सेन्सरको सुविधा छ। दुई जीबी र्‍यामका साथै २५६ जिबी इन्टरनल स्टोर क्षमता यो मोबाइलमा रहेको छ। ३२ जीबी र १२८ जीबी इन्टरनल स्टोर क्षमता भएको यो मोबाइलको मूल्य क्रमश ९१ हजार र १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ।

३. आइफोन सिक्स ए प्‍लस

दुई जीबी र्‍याम र १२८ जीबी इन्टनल स्टोर क्षमता भएको यो मोबाइलको नेपाली बजार मूल्य १ लाख २९ हजार रुपैया तोकिएको छ।

५.५ इन्च स्क्रिन, १२ मेगापिक्सलको रियर क्यामेरा र ५ मेगापिक्सलको फ्रन्ट फेसिङ क्यामेरा, वाइफाइ ब्लुटुथ, थ्रीजी, फोरजी डाटा चलाउन मिल्ने सुविधा यसमा छ। टच आइडी र फोर्स टच सेन्सरको सुविधा पनि यो मोबाइलमा छ। त्यस्तै इन्टरनल स्टोर क्षमता १६ जीबी र ६४ जीबी भएको यी मोवाइलहरुको मूल्य क्रमश ९२ हजार रुपैयाँ र १ लाख १८ हजार रुपैयाँ रहेको छ।

४. आइफोन सिक्स प्लस

५.५ इन्च स्क्रिन साइज रहेको यो मोबाइलको मूल्य ९८ हजार रुपैयाँ रहेको छ। ८ मेगा पिक्सलको रियर क्यामेरा र १.२ मेगा पिक्सलको फ्रन्ट फेसिङ क्यामेरा वाइफाइ ब्लुटुथ, थ्रीजी, फोरजी डाटा चलाउन मिल्ने, फिंगर प्रिन्ट सेन्सरको सुविधा यो मोवाइलमा छ। १६ जीबी र्‍याम र ६४ जीबी स्टोर क्षमता यो मोबाइलमा रहेको छ। १६ जीबी स्टोर क्षमता भएको यस मोबाइलको मूल्य भने ८८ हजार रुपैयाँ तोकिएको छ।

५. आइफोन सिक्स ए

टच आइडी र फोर्स टच सेन्सर रहेको यो मोबाइलको नेपाली बजार मूल्य १ लाख १७  हजार रुपैयाँ रहेको छ। ४.७ इन्च स्क्रिन साइज,१२ एमपी रियर क्यामेरा र  ५ एमपी फ्रन्ट फेसिङ क्यामेरा भएको यस मोबाइलमा वाइफाइ ब्लुटुथ, थ्रीजी, फोरजी डाटा चलाउन मिल्ने सुविधा रहेको छ।

२ जीबी र्‍याम र १२८ जीबी इन्टरनले स्टोर क्षमता यो मोबाइलमा रहेको हुन्छ। तर, १६ जीबी र ६४ जीबी इन्टरनल स्टोर क्षमता रहेको यो मोबाइलको मूल्य भने क्रमश ८७ हजार रुपैयाँ र १ लाख २ हजार रुपैयाँ रहेको छ।

६. आइफोन सिक्स

४.७ इन्च स्क्रिन साइज रहेको आइफोन सिक्सको मूल्य ८२ हजार रुपैयाँ रहेको छ। ८ मेगापिक्सल रिडर क्यामेरा र १.२ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा यसको क्यामेरा सुविधा हो। वाइफाइ ब्लुटुथ, थ्रीजी, फोरजी लेट डाटा चलाउन मिल्ने यो मोबाइलमा फिंगर प्रिन्ट सेन्सर पनि राखिएको छ। यसमा १६ जीबी र्‍याम  र १२८ जीबी इन्टनल स्टोर क्षमता रहेको छ। तर ६४ जीबी मात्रै इन्टरनल स्टोर क्षमता भएको यही मोबाइलको मूल्य भने ७२ हजार रुपैयाँ छ।

सामसङ

१. सामसङ ग्यालेक्सी एस सेभन एज

ग्यालेक्सी एस सेभन एज नेपाली बजारमा पाइने सामसङको मोबाइलमा सबै भन्दा महंगो मोबाइल हो। यसको मूल्य ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ। ५.५ इन्च स्क्रिन, ४ जीबी र्‍याम, ३२ जिबी इन्टरनल मेमोरी यसका विशेषता हुन्। वाइफाइ, ब्लुटुथ, थ्रीजी, फोरजी डाटा नेटको सुविधा यो मोबाइलमा रहेको छ। फ्रिंगर प्रिन्ट सेन्सर र वायरलेस चार्जिङ यसका मुख्य विशेषता हुन्।

१२ एमपी रिडर क्यामेरा एलइडी फ्लास र ५ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि यसका विशेषता हुन्।

२. सामसङ ग्यालेक्सी एस सेभेन

५.१ इन्च स्क्रिन साइज, ४ जीबी र्‍याम, ३२ जीबी इन्टरनल मेमोरीका साथै फिंगर प्रिन्ट सेन्सर र वायरलेन्स चार्जिङ सुविधा सामसङ ग्यालेक्सी एस सेभेनमा छ। १२ मेगा पिक्सल रिडर क्यामेरा एलइडी फ्लास र ५ एमपी फ्रन्ट फेसिङ क्यामेरा यसमा छ भने फोरजी लेट इन्टरनेट सुविधा पनि छ। यो मोबाइलको बजार मूल्य मूल्य ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ।

३. सामसङ ग्यालेक्सी नोट फाइभ

फ्रिंगर प्रिन्ट सेन्सर वायरलेस चार्जिङ सुविधा भएको सामसङ ग्यालेक्सी नोट फाइभको बजार मूल्य ७६ हजार ९ सय रुपैयाँ तोकिएको छ। ५.७ इन्च स्क्रिन, ४ जीबी र्‍याम, ३२ जिबी इन्टरनल मेमोरी यस मोबाइलमा छ।

वाइफाइ, ब्लुटुथ, थ्रीजी डाटा नेटका साथै डबल सिम राख्न मिल्न यसका विशेषता हुन्। १६ एमपी रिडर क्यामेरा एलइडी फ्लास र ५ एमपी फ्रन्ट फेसिङ क्यामेरा मोबाइलमा छ।

४. सामसङ ग्यालेक्सी एक सिक्स एज

सामसङ ग्यालेक्सी एक सिक्स एज पनि महगो मोबाइलमध्यको एक हो। यसको बजार मूल्य ७४ हजार ९ सय रुपैयाँ छ। ५.१ इन्च स्क्रिन रहेको यो मोबाइलमा थ्री जीबी र्‍याम, ३२ जीबी इन्टरनल मेमोरी छ। फ्रिंगर प्रिन्ट सेन्सर, वायरलेस चार्जिङको सुविधा पनि छ। १६ मेगापिक्सल रिडर क्यामेरा एलइडी फ्लास, ५ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा यो मोबाइलमा छ।

सोनी

धेरै पहिले देखिनै नेपाली बजारमा कारोबार हुने सोनी ब्राण्डका दुई मोबाइल पनि नेपाली बजारमा धेरै महंगा मोबाइलमध्य पर्छन्। 

१ सोनी एक्सपेरिया जेट फाइभ प्रिमियम

सोनीको नेपाली बजारमा पाइने सबै भन्दा महगो मोबाइल सोनी एक्सपेरिया जेट फाइभ प्रिमियम हो। ५.५ इन्च स्क्रिन साइज रहेको यस मोबाइलको मुख्य विशेषता पानी नछिर्नु हो। ३ जीबी र्‍याम ३२ जिबी इन्टरनल स्टोर रहेको यो मोबाइलमा २३  मेगा पिक्सल क्यामरा, ५.१ मेगा पिक्सल फ्रन्ट फेसिङ क्यामेरा सुविधा छ। डवल सिम, वाइफाइ, ब्लुटुथ, ४ जी डाटा चलाउन मिल्ने यो मोबाइलको बजार मूल्य मूल्य ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ।

२. सोनी एक्सपेरिया जेट फाइभ डुअल

पानी नछिर्ने मुख्य विशेषता रहेको सोनी एक्सपेरिया जेट फाइभ डुअल मोबाइलको नेपाली बजार मूल्य ७० हजार रुपैयाँ रहेको छ। ५.२ इन्च, ३ र्‍याम ३२ जिबी इन्टरनल स्टोर, २३ एमपी रियर क्यामरा, ५.१ एमपी फ्रन्ट फेसिङ क्यामेरा यसका सुविधा हुन्। डवल सिम, वाइफाइ,  ब्लुटुथ, ४ जी डाटा चलाउन यो मोबाइलमा मिल्छ।

नोकिया

कुनै सयम नेपाली बजारमा एकछत्र व्यापार गर्न सफल नोकियाको व्यापार अहिले नेपालमा त्यति छैन। नेपालमा मात्रै नभई विश्‍व बजारमा नै नोकियाको व्यापार घटेको छ। नेपाली बजारमा निकै सस्ता मोबाइल पाइने नोकियाको एउटा मोबाइल भने महंगो छ। त्यो मोबाइल नोकिया लुमिया १५२० हो। ६ इन्च स्क्रिन साइज रहेको यो मोबाइलको बजार मूल्य ७३ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।

२ जीबी र्‍याम, १६ जिबी इन्टरनल स्टोर, २० मेगापिक्सल रियर क्यामेरा र १.२ फ्रन्ट फेसिङ क्यामेरा यसका सुविधा हुन्। २८ घण्टा ३४ मिनेटसम्म कुरा गर्न व्याट्री ग्यारेन्टी र १२ घण्टा ३१ मिनेटको भिडियो स्टोर गर्न सकिने सुविधा यसमा छ। वाइफाइ, ब्लुटुथका साथै  थ्रीजी डाटा चलाउन यो मोबाइलमा मिल्छ।

हुवावे

पछिल्लो समय नेपाली बजारमा बजार हिस्सा बढाउँदै गएको हुवावे मोबाइलले बढी मध्यम वर्गीय परिवारलाई मध्यनजर गरेर मोबाइल उत्पादन गरेको छ। १० देखि ३० हजार मूल्यका मोबाइललाई विशेष प्राथमिकतामा राखेको हुवावेले महंगो मोबाइल हुवावे मेट एट पनि नेपाली बजारमा बेच्छ।

६ इन्च स्क्रिन साइज रहेको यो मोबाइमा ४ जिबी र्‍याम, १६ जिबी इन्टरनल स्टोर, १६ मेगा पिक्सल रियर क्यामेरा र  ८ मेगापिक्सल फ्रन्ट फेसिङ क्यामेरा सुविधा छ। वाइफाइ, ब्लुटुथ,  थ्रीजी र फोर जी डाटा चलाउन मिल्ने र फिङ्गर प्रिन्ट सेन्सर भएको यो मोबाइलको बजार मूल्य मूल्य ७१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.