|

बाँके : संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नेपालगन्जस्थित पुष्पलाल चोकमा झाडु लगाएका छन्। उनले पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्मको सडकमा झाडु लगाउनुका साथै फोहर संकलन गरे।

मन्त्री पाण्डेले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा विभिन्‍न राजनीतिक दलले टाँसेको पम्पलेट उखेलेर फालेका थिए। त्यसपछि उनले पानीले शालिक सफा गरे। 

नेपालगन्जको सरसफाईमा बहालवाला मन्त्री आफैले झाडु चलाएको यो पहिलो घटना हो। ‘नेपालगन्ज उपमहानगरपालिकाले थालेको सरसफाई अभियानमा विभिन्‍न तहका व्यक्तिले साथ दिएपनि उच्च तहको पहिलो ब्यक्ति मन्त्री पाण्डे हुनु भएको छ,’ नेपालगन्ज उमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवालीले भने।  

सर्वसाधारणको सरसफाई अभियानमा मन्त्री पाण्डेले झाडु समाएर सरसफाई गर्न थालेपछि उनलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवाली, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, राजनीतिक दलका नेता, कार्यकर्ता, सरसफाई अभियन्ता लगायतले साथ दिएका थिए। 

संविधान कार्यान्वयनका लागि निर्वाचन

मन्त्री पाण्डेले संविधान कार्यान्वयन अहिलेको सबैैभन्दा महत्वपूर्ण विषय भएको बताए। साप्ताहिक सरसफाई कार्यक्रमपछि मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताए।

उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरसफाइका बारेमा जानकारी लिन र योजना बनाउन ७ वटै प्रदेशमा सह–सचिवको नेतृत्वमा टोली खटाएको बताए। उनले चोक र शालिकमा पोष्टर टाँस्‍न सरकारले बन्देज लगाएको बताए। ‘स्वस्थ हुन सरसफाइ हुनुपर्छ विकास हुन मानिस स्वस्थ हुनुपर्छ, यसलाई मध्यनजर गरी मन्त्रालयले विशेष अभियान थालेको छ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.