सबै डिस्चार्ज भएको खुसी लामो टिकेन

|

पर्सा :  वीरगन्जको नारायणी अस्पतालमा रहेका सबै कोरोना संक्रमित निको भएर डिष्चार्ज भएको खुसी सेलाउन नपाउँदै पर्सामा ४ जना संक्रमित थपिएका छन्।पर्साको पोखरिया नगरपालिकामा ४ जना संक्रमित पुष्टि भएका हुन्। 

उनीहरुलाई वीरगन्जको अस्थायी कोभिड अस्पताल गण्डकमा ल्याइसकिएको नारायणी अस्पतालको अस्थायी कोरोना विशेष गण्डक अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए। योसँगै बिहीबारबाट गण्डक अस्पतालमा संक्रमितको संख्या ९ पुगेको छ।   

९ दिन पहिले भारतबाट आई पोखरियाकै रामदेव साह कलवार उच्च माविको क्वारेन्टिनमा राखिएका मध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक घोषणा केही बेरमा गर्ने जनाइएको छ। 

संक्रमितहरु २१, ३७, ३९ र ४२ वर्षीय पुरुषहरु रहेका छन्। उनीहरु मध्ये पोखरिया नगरपालिका–९ का ३ जना र ६ को १ जना रहेको डा. सिंहले बताए।  

संक्रमित सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा नै रहेको पीसीआर मेशिनमा स्वाब परीक्षण गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए। 

पोखरियामा रहेको त्यो क्वारेन्टाइनमा ३१ जना थिए। त्यहाँका केहीको थ्रोट स्वाब संकलन मंगलबार गरी परीक्षणका लागि नारायणीमा ल्याइएको थियो। 

तिनैमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको मैले पनि सूचना पाएको पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण रौनियारले बताए। यो संख्यासहित पर्सामा अहिलेसम्म संक्रमितको संख्या १०० पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.