नेकपाकै कार्यकर्ता पोस्‍ने योजना मात्रै देखियो

|

काठमाडौं : नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भूषालले बिहीबार प्रस्तुत बजेट जनताको थाप्लोमा झन् ऋणको बोझ बोकाउने गरी आएको टिप्पणी गरेकी छन्। थाहाखबरसँगको संक्षिप्त कुराकानीमा सचेतक भूषालले बजेट अहिलेको आवश्यकता परिपूर्ति गर्ने गरी नआएको बताएकी हुन्। 

‘जनताको थाप्लोमा झन ऋणको बोझ बोकाउने नयाँ बजेट आयो,’ उनले भनिन्, ‘बजेटमा नयाँ नौलो कुराहरु अहिलेको आवश्यकता अनुरुपको केही आएन। बजेट छरिएको छ। भोलि त्यो बजेट दुरुपयोग हुने सम्भावना देखियो।’ 

अहिलेको बजेट कार्यकर्ता पोस्‍ने खालको भएको पनि उनको प्रतिक्रिया छ। ‘यतिधेरै बेरोजगारलाई रोजगार दिन्छौँ भन्‍ने शीर्षक राखेर बजेट छुट्याइएको छ। त्यो भनेको के भने नेकपाले आफ्नो कार्यकर्तालाई नै बजेट दिने र आफ्नो कार्यकर्ता बन्‍न बाध्य बनाउने अनि ती व्यक्तिलाई पैसाहरु दिने सम्भावना देखियो’ उनले भनिन्।

झण्डै दुईतिहाइ नजिकको सरकारले ल्याएको बजेटमा जनता खुसी हुने अवस्था नरहेको भन्दै उनले बजेट सरकारी ढुकुटी झन् खोक्रो पार्ने खालको भएको बताइन्।

‘अहिले सरकारले ल्याएको बजेटबाट बेरोजगारी समाधान हुँदैन यसले त सरकारी ढुकुटीलाई अझै बढी दुरुपयोग गरेर खोक्रो हुने देखियो,’ उनले भनिन्, ‘अहिलेको बजेटमा ऋणको कुरा आएको छ। म सरकारलाई सोध्न चाहन्छु ऋण कहाँबाट लिने? न राजस्व उठ्छ, न विदेशी अनुदान लिन सक्ने अवस्था छ।’ 

कोरोनाले मुलुक थलिँदै गएको थाहा पाएको सरकारले कोरोना नियन्त्रणका लागि तत्कालै के गर्ने भन्‍ने कुरा बजेटमा समेट्न नसकेको उनले आरोप लगाइन्। ‘कोरोना नियन्त्रणका लागि मुख्य तार्गेट बनाउनुपर्ने हो त्यस्तो भएन,’ उनले भनिन्, ‘स्वास्थ्यमा सबैभन्दा धेरै बजेट हालिएको भनेर सुनाइयो तर, यहाँ तत्कालै केही गर्ने भन्दा पनि ठूला अस्पताल बनाउने भनेर आयो।अहिले नै चाहिएको कुरा पहिचान गर्न सरकारले सकेन।’ 

उनले रोजगारी सिर्जना गर्ने भनेर विनियोजन भएको बजेट राजनीतिकरण गर्नका लागि भएको आरोप लगाइन्। कुनै क्षेत्रमा पनि तत्कालीन समस्या समाधान गर्दै दिगो रोजगारको कार्यक्रम नदेखिएको बताइन। 

‘दीगो रोजगारीको कार्यक्रमहरु न कृषिमा देखियो, न साना तथा मझौला उद्योगहरुमा देखियो,’ उनले भनिन्, ‘यति लाखलाई रोजगारी दिने भनेर  भनिएको छ। तर, उत्पादनमुखि वा दिगो रोजगारीको कुरा आएन।’

नेपालमै भएका र विदेशबाट आउने जनशक्तिलाई रोजगार मुलक र उत्पादनमुलक क्षेत्रमा कसरी परिचालन गर्ने भन्ने खाका कोर्न सरकारले नसकेको उनको भनाई छ। अहिलेको बजेट एक वर्षभित्र मुलुकलाई कोरोनाअघिकै अवस्थामा ल्याउने खालको हुनुपर्ने तर सरकारले त्यस्तो बजेट ल्याउन नसकेको उनको भनाई छ।  

‘कृषिलाई पनि महत्व दिएको देखिएन। रोग, भोक र बेरोजगार हटाउने बजेट आएन,’ उनले भनिन्, ‘अर्काे वर्ष ठूलो आकारको बजेट ल्याउन पाइहालिन्थ्यो। अहिलेको बजेट तत्कालीन समस्या समाधान गर्ने ल्याउनुपर्थ्यो। जनतादेखि उद्योगपतिसम्मले सरकारले बजेट हाम्रो लागि पनि ल्याएको छ भन्‍ने सरकारले पार्न सकेन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.