पालिकाले एम्बुलेन्स पठायो, खुसी हुँदै घर फर्किए

|

दाङ : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ  कोरोना संक्रमित निको  भएर घर फर्किएका छन्।  

कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि  घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले बताए। 

वलीका अनुसार घर फर्कनेमा  कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन्।  कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका  ४५मध्ये आठजना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ। 

अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र   बर्दियाका संक्रमित छन्।  उपचार गराइरहेकामध्ये दुई महिला पनि रहेका वलीले बताएका छन्।

निको भएपछि दाङको गढवा गाउँपालिका ४ का ३६ बर्षीय पुरुषले आफुलाई कोरोना संक्रमण कहाँ भयो भन्‍ने थाहा नपाएको बताए। उनले अस्पतालबाट राम्रो सेवा पाएको बताए। ‘संक्रमितको अवस्था अनुसार उपचार हुने गरेको पाइयो,’उनले भने,‘अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले बेला बेलामा अवस्था बुझ्ने गर्नुहुन्थ्यो। एकदमै राम्रो सेवा पाइयो ।’ 

उनले बाहिर कोरोनाबारे भ्रम फैलाइएको बताउँदै त्यसमा सत्यता नभएको उल्लेख गरे। ‘कोरोना संक्रमण हुनेबित्तिकै मान्छे मरिहालिन्छ भन्‍ने अफवाह गलत हो', उनले भने, 'त्यसो होइन, कोरोना जितेर बाँच्‍न सकिन्छ, तर कसैले लापरबाही गर्नु भएन। आफ्नो आत्माबल बढाउन पर्‍यो। ’  

उनीहरु संक्रमणबाट जोगिन भारतको गोरखपुरबाट साइकलमा आएका थिए। उनीहरुलाई बर्नी बोडरमा क्‍वारेन्टाइनमा राखिएको थियो। क्‍वारेन्टाइनमा खाना, बस्न राम्रो ब्यवस्था नभएपछि उनीहरु त्यहाँबाट एम्बुलेन्समा गढवा आएका थिए। आफुसँगै आएका अरु तीनजनाबाट कोरोना सरेको हुन सक्ने उनको अनुमान छ।

'मलाई कोरोना लागेको जस्तो कुनै लक्षण देखिएको थिएन, तर कहाँ संक्रमण भयो, त्यो पनि थाहा भएन,’उनले भने,‘संक्रमण भइसकेपछि म मरिहाल्छु जस्तो लागेको थिएन्, १४ दिनपछि ठीक भएर घर जाँदैछु, धेरै खुशी छु ।’ 

आज डिस्चार्ज भएकाहरुको  २ पटकसम्म  गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरेर घर पठाइएको अस्पतालका  सदस्य सचिव डा. सर्वेश शर्माले बताए।  

कोरोना जितेकाहरुलाई लिन सम्बन्धित स्थानीयतहले एम्बुलेन्स पठाएका थिए। अस्पतालमा ४५ जना कोरोना संक्रमित थिए। ८ जना डिस्चार्ज भएसँगै अहिले ३७ जना छन्। अब दाङ, बाँके, बर्दिया, कपिलबस्तु, रुपन्देही र पूर्ब रुकुमका कोरोना संक्रमित रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था राम्रो  भएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.