कोरोनाको असरबाट निस्किन ६० अर्ब खर्च गरिने

|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले बजेट मार्फत करिब ६० अर्ब रुपैयाँ खर्च गर्न लागेको बताएका छन्। 

आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्‍न विभिन्‍न कार्यक्रममार्फत ५५ अर्बदेखि ६० अर्ब रुपैयाँसम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको बताए। 

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्‍न विभिन्‍न कार्यक्रमबाट राहतको व्यवस्था गरेको बताए। 

आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायीको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले बताए। 

उनले राहतको प्याकेज होमोजोनस नहुने र राहत नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कमा दिइने छुट र कर छुटमा दिइएको बताए। 

बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सुचारु गर्ने, र नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताए। प्रधानमन्त्री रोजगारी कार्यक्रममार्फत ३ अर्ब, विद्युत छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुनर्कर्जाका लागि २० अर्ब रकम खर्च हुने बताए। 

यस्तै कर छुटमार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्‍न विक्री वितरणमा १० प्रतिशत छुट दिँदा ५० करोड भन्दा बढी रकम खर्च हुने उनले बताए। बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरु समावेश गरिएको अर्थमन्त्री खतिवडाले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान कर्जा कार्यक्रम, युवा स्वरोजगार, गरिवका लागि लघु उद्यम कार्यक्रम, वन पैदावार सम्बन्धी कार्यक्रम, गरिवी निवारण कोष, प्राविधिक व्यवसायिक तालिम, सीपमुलक कार्यक्रम लगायतबाट रोजगारी बढाउने गरी बजेट विनियोजन गरिएको बताए।

आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउने र आयातित वस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको बताए। कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको अर्थमन्त्री खतिवडाले बताए। यस्तै एक दर्जन वस्तुहरुको अन्तशुल्क घटाइएको पनि बताए

भन्सारतर्फ आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा फरक पारिएको उनले बताए। तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार दर एक तह कम गरिएको खतिवडाले बताए। 

पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्यलाई भने भारतसँगको मूल्यमा एकरुपता ल्याउन भन्सार दर बढाइएको उनले बताए। भन्सार दर बढाइए पनि पेट्रेलियम पदार्थको मूल्य तत्काल नबढ्ने उनले स्पस्ट पारे। 

उनले पेट्रोलियम खपत कम गर्न विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगो विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्‍ने पैसा बाहिरिएकोले कर बढाइएको बताए।

उच्च आर्थिक वृद्धि गर्न लगानी बढाउनु पर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उनले बताए। जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी खर्चको प्रकृति बढेकाले आगामी आर्थिक वर्ष आर्थिक विकासलाई तीव्र पार्नुपर्ने चुनौती रहेकोसमेत उनले जानकारी दिए।

त्यसका लागि छिटो प्रतिफल दिने, आगामी आर्थिक वर्ष भित्रमा सम्पन्‍न हुने आयोजनाका लागि बजेट विनियोजन गरिएको उनले बताए। त्यस्तै अर्थतन्त्रमा दीर्घकालीन गेमचेन्जरका रुपमा रहेका आयोजनालाई पनि विस्तारै अगाडि बढाउने गरी बजेटले व्यवस्था गरेको खतिवाडले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.